प्रस, वीरगंज, १० मङ्सिर/
भौतिकवादी समाज, नेपालको उपत्यकास्तरीय भेला सम्पन्न भएको छ। समाजका केन्द्रीय अध्यक्ष बैधनाथ श्रमजीवीको अध्यक्षता र केन्द्रीय सदस्य बलराम दाहाल सञ्चालक रहेको उक्त भेलाले भौतिकवादी समाज, नेपालको उपत्यका तदर्थ समितिसमेत चयन गरेको छ।
भेलाको पहिलो खुला सत्रमा भौतिकवादी समाजको आवश्यकता विषयक गोष्ठी आयोजना गरिएको थियो। कार्यपत्रमाथि टिप्पणी र अन्तत्र्रिmयासहितको विचारगोष्ठी भएको थियो।
समाजका केन्द्रीय सदस्य रविप्रसाद गुरागाईंको संयोजकत्व तथा केन्द्रीय सदस्य बलराम तिमिल्सिनाको सहजीकरणमा सञ्चालित गोष्ठीमा समाजका केन्द्रीय सचिव सुवास पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि गौरी देवकोटा दाहाल र धनकुमारी सुनाले टिप्पणी गरेका थिए। जिज्ञासाको उत्तर सचिव पाण्डेले दिएका थिए।
कार्यक्रमको औचित्यबारे प्रस्ट पार्दै समाजका केन्द्रीय अध्यक्ष श्रमजीवीले समाजको आवश्यकता र केन्द्रीय समिति गठनबारे आफ्ना विचार राखेका थिए। उनले यही २०८० असोज २६ र २७ गते चितवनमा सम्पन्न भएको प्रथम राष्ट्रिय भेलाबाट केन्द्रीय तदर्थ समिति गठन भएको जानकारी गराए।
गोष्ठीमा वक्ताहरूले देश र विश्वभरि नै अन्धविश्वास र धर्मका नाममा झगडा, द्वन्द्व, विभेद, हत्या, हिंसा, अशान्ति, अराजकता र हिंस्रक युद्ध भड्किरहेको वर्तमान समयमा भौतिकवादी समाजको आवश्यकता समयको माग रहेको बताए। जात, धर्म, सम्प्रदाय, रङ, लिङ्ग आदिका आधारमा समाजमा विद्यमान विभेद, अन्याय, अत्याचार रोक्नका लागि पनि भौतिकवादी दर्शनमा आधारित समाजको स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताए। धार्मिक आस्था र अनास्थाका आधारमा विश्वमैं क्रिश्चियन र इस्लामपछि तेस्रो शक्तिको रूपमा रहेर पनि सङ्गठित हुन नसक्दा कमजोर देखिएको भौतिकवादी शक्ति अब एकीकृत र सङ्गठित हुँदै जानुपर्नेमा सबै एकमत रहेका बताए।
कम्युनिस्ट र समाजवादी नाममा खोलिएका राजनीतिक दल र तिनका नेताहरूबाट आम जनताले सोचेजस्तो र चाहेजस्तो विचार र व्यवहारको आस मर्दै गएको वर्तमान परिप्रेक्ष्यमा भौतिकवादी समाजको काँधमा धेरै गहन र महत्वपूर्ण जिम्मेवारी रहनेबारे सचेतसमेत गराइएको थियो। आरआर क्याम्पसको पत्रकारिता हलमा सम्पन्न उक्त गोष्ठीपश्चात् समाजकी केन्द्रीय सदस्य भागीरथी प्रकृतिको संयोजकत्वमा भेला सम्पन्न भएको थियो।
समाजका केद्रीय सदस्य शमशेरद्वारा सञ्चालित उक्त भेलाले रामदेव पाण्डेको अध्यक्षतामा छ सदस्य पछि पदपूर्ति गर्नेगरी १३ सदस्यीय उपत्यका सम्मेलन आयोजक समिति सर्वसम्मतिले गठन गरेको छ। अन्य सदस्यमा रामएकबाल यादव, लिजा तामाङ, ब्रिजेन थापा, तारा गाउँँले, फूलमती र अर्जुन मझकोटी रहेका छन्।