ओमप्रकाश चौधरी, सेढवा, ८ मङ्सिर/
पर्सा राष्ट्रिय निकुञ्जमा जनावरको सङ्ख्या बढेको छ। निकुञ्जका सहायक संरक्ष्Fण अधिकृत सन्तोष भक्तले निकुञ्जमा रहेका जनावरको सङ्ख्या बढेको बताए।
उनले सन् २०१८ मा १८ वटा बाघ रहेकामा सन् २०२२ मा गणना गर्दा सो सङ्ख्या ४१ पुगेको बताए। त्यसैगरी, गौरीगाईको सङ्ख्या १०५ बाट बढेर १६४ पुगेको उनले बताए। उनले निकुञ्जमा गैंडा तीन, हात्ती ४५ देखि ६० वटा रहेको बताए। संरक्षण अधिकृत भक्तले हरिण, भालु, घोडगदाहा, नीलगाईलगायतका जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धि भएको बताए।
पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनमा जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएपछि जङ्गल फँडानी कार्यमा केही कमी आएको छ। जङ्गली जनावरको त्रासले सर्वसाधारणहरू सहजै जङ्गल प्रवेश गरेका पाइएको छैन। जीराभवानी गाउँपालिका–१ शान्तिनगरका तिलकबहादुर श्रेष्ठले जङ्गलछेउछाउका बस्तीमा जङ्गली जनावरको आक्रमण बढ्नुले जङ्गलमा जनावरको सङ्ख्या वृद्धि भएको बताए। उनले बाघ, हात्ती, भालु निस्किने र मानवबस्तीमा प्रवेश गरेर क्षति गर्ने क्रम बढेको बताए। यसरी जङ्गली जनावरको वृद्धि भएको उनको बुझाइ छ।
जङ्गली जनावर बढेका कारण अहिले निकुञ्ज र राष्ट्रिय वनमा गाई, भैंसी, बाख्रा चराउने क्रम निकै कम भएको श्रेष्ठले बताए।
उनले घरपालुवा जनावरको लागि जङ्गलबाट स्याउला घाँस काट्ने र घरायसी प्रयोगको लागि दाउरा लिन जानेहरूको सङ्ख्यामा पनि निकै कमी आएको बताए।
सुनाखरी वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएपछि जङ्गलबाहिर मानवबस्तीमा प्रवेश गरी बालीनाली क्ष्Fति पु–याउने गरिरहेका बताए।
उनले केही दिनअघि गोरु चराउन जङ्गल पसेका ठोरी गापा–५ छघरेका एकजना किसानको बाघको आक्रमणबाट मृत्यु भएपछि जङ्गलमा वस्तु चराउन जानेहरूको सङ्ख्या घटेको बताए।