प्रस, वीरगंज, ७ मङ्सिर/
राष्ट्र शक्तिका अध्यक्ष केशरबहादुर विष्टले सम्पूर्ण राष्ट्रवादी एकजुट हुनुपर्ने समय आइसकेको बताएका छन्।
राष्ट्रिय नागरिक सङ्घर्ष समितिले आयोजना गरेको अहिंसक जनआन्दोलन परिचालन समिति गठन र कार्यगत एकताको लागि छलफल कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता र बौद्धिक सनातन राजासहितको अधिराज्यको माग गरे। उनले पृथ्वीनारायण शाहले अर्जेको मुलुकको संरक्षण गर्ने अभिभारा नेपालीहरूको काँधमा रहेको बताए।
राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष सोमविक्रम सिंहले राष्ट्र र राष्ट्रियताको जगेर्ना जस्तोसुकै परिस्थितिमा गर्न तयार रहने बताए।
राष्ट्रिय नागरिक सङ्घर्ष समितिका संयोजक नरेशबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डरी, देवेन्द्रलाल नेपाली, पूर्वराजदूत कमलप्रसाद कोइराला, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका नन्दकिशोर गोयल, मकबुल मियाँ बढई, ज्येष्ठ नागरिक सङ्घका पशुपति विक्रम शाह, उषा शाह, राष्ट्रिय नागरिक सङ्घर्ष समितिका प्रवक्ता हीराबहादुर चन्दलगायतले मन्तव्य राखेका थिए।यसैगरी, नेपाल राष्ट्रवाद सङ्घ पर्साले आज वीरगंजमा विरोध जुलूस प्रदर्शन गरेको छ।
हिन्दू राष्ट्रसहित राजसंस्था पुनस्र्थापनाको माग गर्दै वीरगंजको घण्टाघरबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो।