प्रस, सेढवा, ७ मङ्सिर/
विगत केही वर्षदेखि पर्सामा खेतीयोग्य जमीन कम हुँदै गइरहेको छ। खेतीयोग्य जमीन अन्य कार्यमा प्रयोग हुन थालेपछि खाद्यान्न उत्पादन हुने जमीन कम हँुदै गएको हो।
जिल्लाका ग्रामीण भेगमा हुलाकी राजमार्ग, जनता सडक, गण्डक सडक तथा वीरगंज–पोखरिया–भिस्वा सडकको निर्माण भएसँगै यस क्षेत्रका खेतीयोग्य जमीन मासिन थालेका हुन्। खेतीयोग्य जमीनमा उद्योग, कुखुरापालन, गाईभैंसीपालन गर्नुका साथै प्लटिङ हुन थालेपछि खेतीयोग्य जमीन मासिन थालेका छन्।
उद्योगपतिहरूले यी सडकखण्ड आसपासका खेतीयोग्य जमीन खरीद गरी बाझै राखेका छन्। पटेर्वासुगौली गाउँपालिका वडा नं ५ हुलाकी सडकखण्डसँगैको मनिहर्वा र निचुटाको बीचमा बिक्री भइसकेका करीब २५ बिघा जमीन अहिले बाँझै छ। त्यस्तै, जीराभवानी गाउँपालिका वडा नं ४ मा दाना फ्याक्ट्रीको लागि ३५ बिघा जमीन खरीद गरिएको स्थानीयले बताएका छन्। स्थानीयवासीका अनुसार हुलाकी सडकखण्ड आसपासका जग्गा उद्योग सञ्चालनका लागि उपयुक्त हुने भन्दै उद्योगपतिहरूले खरीद गरिरहेका छन्। कतिपय जग्गामा उद्योग सञ्चालन भइरहेका छन्।
त्यस्तै, ठोरी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका खेतीयोग्य जमीनमा पोल्ट्री फार्महरू सञ्चालनमा आएका छन्। त्यस्तै, कतिपय जमीन घर बनाउन प्लटिङ भइरहेका तथा कतिपयमा बगैंचा बनाइएका छन् भने मत्स्यपालनका लागि पोखरी पनि खनिएका छन्।
कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख मुनिलाल प्रसादका अनुसार पर्सामा ५४ हजार ७३२ हेक्टर जमीन खेतीयोग्य रहेको छ। जसमध्ये ४७ हजार १३० हेक्टर जमीनमा खेती भइरहेको र बाँकी जमीनमा बगैंचा तथा पोखरी र जलाशय रहेका प्रमुख मुनिलाल प्रसादले बताए।
अहिले प्लटिङ, उद्योग सञ्चालन र थप नयाँ पोखरी निर्माण भइरहँदा १० हजार हेक्टर खेतीयोग्य जमीन मासिएपछि हाल ३७ हजार १३० हेक्टर जमीनमा मात्र खेती भइरहेको उनले बताए। खेतीयोग्य जमीनको संरक्षण गर्न नसके वा यस्तै क्रियाकलाप चलिरहे केही वर्षपछि रौतहट जस्तै बाहिरी जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउने ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसादले बताए।