माधव तिमिल्सिना, ठोरी, ७ मङ्सिर/

ठोरी गाउँपालिकामा आँखा, कान, नाक, घाँटीसम्बन्धी विशेषज्ञसहितको नियमित सेवा उपलब्ध हुने भएको छ।

गापा कार्यालय र बिपी नेत्र प्रतिष्ठान, काठमाडौंबीच गापामा यो सेवा उपलब्ध गराउने गरी बिहीवार सम्झौता भएको छ।

गापा अध्यक्ष लालबहादुर श्रेष्ठ र नेत्र प्रतिष्ठानका अध्यक्ष डा गौरीशङ्करलाल दासबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार आगामी दुई वर्षमा ठोरीका पाँच हजारजनालाई आधुनिक प्रविधिमार्फत अस्पतालको सेवा पु–याउने लक्ष्यसहितको सम्झौता गरिएको प्रतिष्ठानका अध्यक्ष डा दासले बताए।

प्रतिष्ठानले दुरदराज गाउँका जनतालाई आधुनिक गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालबाट सेवा प्रदान गर्नेगरी ठोरीमा यससम्बन्धी कार्यको थालनी गरिएको बताए। ठोरी गापाका बासिन्दाले यो सेवा निर्मलबस्ती स्वास्थ्य चौकीबाट लिन सक्ने गरी व्यवस्थापन गरिएको छ। सो ठाउँमा आँखा, कान र घाँटीसम्बन्धी विशेषज्ञको व्यवस्थापन गरिएको र चिकित्सकबाट निश्शुल्क परामर्श लिन सकिने प्रतिष्ठानका अध्यक्ष डा दासले बताए। उनले निर्मलबस्तीमा सम्भव नभएको उपचार शल्यक्रिया प्रतिष्ठानको केन्द्रीय कार्यालय, भक्तपुरमा न्यूनतम शुल्कमा सेवा लिन सकिने बताए।

सरकारले तोकेका निश्चित औषधिहरू निश्शुल्क वितरण हुने र अन्य औषधि सशुल्क उपलब्ध गराइने गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले बताए। उनले यसअघि यो सेवाको लागि ठोरीवासी, वीरगंज र भारतका विभिन्न स्थानमा जानुपर्ने अवस्था रहेको र अहिले गापामैं सेवा उपलब्ध हुने भएपछि यहाँ खुशीको वातावरण छाएको बताए। उनले यसबारेमा गापा कार्यालयले पाँचवटै वडामा घरदैलो कार्यक्रम गरी जानकारी गराउनुपर्ने सुझाए। उनले ठोरीमा ल्याइएको प्रविधि वीरगंजमा समेत नभएको दाबी गरे। उनले रोग लागेको स्थानको तस्वीर खिचेर कम्प्युटरमा अपलोड गरेको केही सेकेन्डमैं रोगको पहिचान हुने बताए। यो प्रविधि जिल्लामा पहिलोपटक ठोरीमा ल्याउन लागेको उनले दाबी गरे।

गापा कार्यालय घ्याङडाँडामा आज भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्ष्F मानबहादुर थिङलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here