प्रस, वीरगंज, २४ कात्तिक/
प्रत्येक वर्ष दीपावलीको रमझम हुने वीरगंज महानगरको आदर्शनगर क्ष्Fेत्र यस वर्ष खल्लो देखिएको छ । आर्थिक मन्दीका कारण यसअघिको वर्षमा मनाइने दीपावली जस्तो यस वर्ष झिलिमिली बत्तीको व्यवस्था गरिएको छैन ।
थुप्रै व्यापारीले आर्थिक मन्दीका कारण पसल सफा गर्ने, रङरोगन गर्ने र झिलिमिलीले शृङ्गार गर्न सकेका छैनन् । पसलको भाडासमेत दिन अप्ठेरो स्थितिको सामना गरिरहेका यहाँका व्यापारीहरूले दीपावलीलाई उत्साहका साथ मनाउन सकेका छैनन् । वीरगंजको दीपावली अघिल्लो वर्षसम्म देशैभरि चर्चा हुने गर्दथ्यो । झिलिमिली साजसज्जाका साथै लक्ष्मीपूजा भव्यरूपमा गरिने यहाँ यसपालि पहिलेको जस्तो छैन ।
दीपावलीको बजार पनि पहिलेजस्तो भीडभाडयुक्त रहेन । यहाँका उपभोक्ताहरूको गन्तव्य रक्सौल बजार बनेका कारण यहाँको व्यापार मन्दी भएको हो । आज धनतेरसको दिन अलि भीडभाड देखिएको छ । तर यसअघिदेखि नै दीपावलीको किनमेलले बजारमा भीड देखिनुपर्नेमा त्यस्तो भएन । दशैंमा पनि यहाँको बजारले गति लिन सकेको थिएन । ठूला व्यापारीले पनि दशैं, दीपावली र छठलाई लक्षित गरेर नयाँ कपडाहरू ल्याएनन् । पुराना कपडालाई सेलमा राखेर बिक्री गरेका थिए ।
व्यापारीहरूको साझा सङ्गठन वीरगंज उद्योग वाणिज्य सङ्घले लामो समयदेखि दशैंलाई लक्षित गरेर सञ्चालनमा ल्याउने गरेको सस्तो बजार यसपटक लगाएन । धेरै व्यापारीले परम्परा निर्वाह नगरेको भनेर वीउवासङ्घको आलोचना गरेका छन् । विगत आठ वर्षदेखि आदर्शनगर बजारलाई झिलिमिली पारेर वीरगंजवासीको लागि आकर्षणको केन्द्र बनाउँदै आएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले पनि यसपालि दीपावलीमा आदर्शनगरलाई झिलिमिली पारेन ।
ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले आठ वर्षदेखि गर्दै आएको कार्य यसपटक नगरिएको बताए । उनले नगर्नुको कारण कामको आलोचना मात्र हुने गरेको, प्रोत्साहन कमैले गरेका कारण पूर्ववत् कार्यक्रमलाई विराम दिएको बताए । उनले आगामी वर्ष यस विषयमा विचार गरिने बताए । प्रत्येक वर्ष सामुदायिकमा रहेका २१ जना साथीभाइ र केही व्यापारीहरूसँग आर्थिक सहयोग लिई आदर्शनगरमा दीपावलीमा झिलिमिली गर्दै आएको उनले बताए ।
रात्रिबजार पनि लागेन
दशैंलाई लक्षित गरेर वीरगंज महानगरपालिकाले पाँच दिने रात्रिबजार सञ्चालन गरे पनि दीपावली, छठलाई लक्षित गरेर मासिकरूपमा महीनाको अन्तिम शुक्रवार, शनिवार आयोजना गर्ने घोषणा गरेको रात्रिबजार यसपटक लागेन ।
गत चैत मसान्तदेखि नयाँ वर्ष २०८० लाई लक्षित गरेर महानगरले रात्रिबजार सञ्चालन गर्दै आएको थियो । बीचमा दुई महीना वर्षाका कारण रात्रिबजार स्थगन भएपनि त्यसपछि दशैंदेखि पुनः निरन्तरता दिने घोषणा गरेको महानगरले दीपावली र छठलक्षित रात्रिबजार सञ्चालन गरेको छैन ।
धनतेरसका दिन वीरगंजमा करीब ११ करोडको सुनचाँदीको कारोबार
प्रस, परवानीपुर, २४ कात्तिक/
आर्थिक नगरी वीरगंजमा धनतेरसको दिन करीब ११ करोड मूल्यबराबरको सुनचाFँदीको कारोबार भएको भएको छ । वीरगंजमा पाँच करोडको करीब पाँच किलो सुन र छ करोड मूल्यबराबरको पाँच क्विन्टल चाँदी खपत भएको छ । एक किलो सुनको रु एक करोड २२ हजार चार सय पर्छ । आज सुन तोलाको एक लाख १५ हजार दुई सयको दरमा कारोबार भयो भने चाँदी प्रतितोला रु एक हजार ४१० मा कारोबार भएको छ । एक किलो सुन अथवा चाँदीमा ८७ तोला वजन हुन्छ ।
शुक्रवार धनतेरसको दिन बिहानैदेखि सुनचाँदी र गरगहना खरीद गर्नेहरूको सुनचाँदी पसलमा भीडभाड लागेको थियो । कारोबार जे जति भएपनि पोहोरको तुलनामा करीब ५० प्रतिशतले व्यवसायमा कमी आएको पर्सा सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष भुलन सर्राफका अनुसार पछिल्लो एक साताभित्र तीन किलो सुन बिक्रीको लागि वितरण भएको बताउँदै दीपावालीदेखि छठसम्म सुनचाँदीको कारोबारमा तेजी रहनेसमेत उनले बताए । कोरोना महामारी, आर्थिक मन्दी र महँगीको कारण सुनचाँदी कारोबारमा पोहोरभन्दा यस वर्ष कमी आएको उनले बताए ।
तर साधारण दिनभन्दा धनतेरसको दिन सुनचाँदी खरीद गर्दा शुभ हुने जनविश्वासको कारण धनतेरसको दिन गहना किन्नेहरूको सङ्ख्यामा वृद्धि भएको श्रीशङ्कर साह ज्वेलर्स, रानीघाटका सञ्चालन विनयकुमार साहले जानकारी गराए । उनका अनुसार पहिले दिनमा ३०–४० जना ग्राहक आएकामा धनतेरसको दिन १२५ जनाभन्दा बीढ ग्राहक आएको बताए । वीरगंजका अन्य पसलमा समेत सयौंको सङ्ख्यामा सुनचाँदीको सिक्का, बिस्कुट, औंठी, सिक्री, टप, नथियालगायत गहना बिक्री भएको उनले बताए । सिक्का र बिस्कुट बढी बिक्री हुने गरेको र अन्य गहना १५ प्रतिशत मात्रै बिक्री हुने गरेको उनले बताए । सुनको बिस्कुटमा १, २.५, ५, १०, २०, ५०, १०० ग्रामका वजनमा सुन बिक्री हुन्छ भने चाँदीका विभिन्न आकारप्रकारमा सिक्का बिक्री भएको छ । वीरगंज नगर क्षेत्र र पर्साका ग्रामीण भेग गरी झन्डै साढे चार सय सुनचाँदीका पसल रहेका छन् भने वीरगंजमा सञ्चालित जम्मा ३५६ वटा सुनचाँदीका पसल सङ्घमा आबद्ध रहेको सङ्घका अध्यक्ष सर्राफले जानकारी गराए ।