रामेश्वर मेहता, सिम्रौनगढ, २२ कात्तिक/

हरियो तरकारीखेतीका लागि प्रसिद्ध बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका किसानहरू अहिले हरियो तरकारीको मूल्य नपाउँदा लगानी डुब्ने चिन्ताले पिरोलिएका छन् ।

यहाँका किसानहरूले लगाएको नगदेबालीको रूपमा रहेको काउलीको बजार भाउ निरन्तर गिर्दाे छ । दशैंसम्म प्रतिकिलो रु सयमाथि बिक्री भएको काउली अहिले सिम्रौनगढको थोक र खुद्रामा पनि रु २० मा बिक्री भइरहेको छ ।

सिम्रौनगढ नपाको रानीबासस्थित नयाँ बजारमा बिहान थोक बजार लाग्छ भने सिम्रौनगढ बजारमा दिउँसो खुद्रा तरकारी बजार लाग्ने गर्छ । स्थानीय खोभारी कुशवाहाले दुवै बजारमा हरियो तरकारी समान दरमा बिक्री भइरहेको बताए । माग कम र उत्पादन बढी भएकोले हरियो तरकारीको मोल अहिले खस्किएको उनले बताए ।

हरियो तरकारीको मोल खस्किएकोले किसानहरूलाई लागत पनि उठ्ने हो कि होइन भन्ने चिन्ताले सताएको स्थानीय किसान राजकुमार कुशवाहा बताउँछन् ।

केही दिनअघिसम्म प्रतिकिलो रु ३५ मा बिक्री भएको काउली आज बुधवार रु १५ मा बिक्री भएको उनले बताए । यसैगरी, सिम्रौनगढमा मूला रु १०, रामतोरई रु १५ मा बिक्री भइरहेको उनले बताए ।

हरियो तरकारीखेतीका लागि सिम्रौनगढ पहिलेदेखि प्रसिद्ध छ र यहाँ उत्पादित हरियो तरकारी कलैया, वीरगंज, चन्द्रनिगाहपुर, हेटौंडा, सर्लाही, काठमाडौंसम्म पुग्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here