प्रस, सिम्रौनगढ, ३ कात्तिक/
पूर्वसूचना अनुसार निर्धारित समय र स्थानमा सिम्रौनगढ नगरपालिकाको नगरसभा नभएको विरोधमा उपप्रमुखसहित वडाध्यक्ष र वडासदस्यहरू आन्दोलनमा उत्रिएका छन् ।
शुक्रवार बिहान ७ बजे सिम्रौनगढ नपाको नगरसभा हुने आधिकारिक सूचना अनुसार कडा सुरक्षा घेरामा नगरपालिकाको सभाकक्षमा उपप्रमुख नजबु शेहरसहित वडाध्यक्ष र सदस्यहरू भेला भएका थिए तर नगरप्रमुख किशोरीप्रसाद कलवारसहित केही सदस्यहरू नगरसभामा अनुपस्थित थिए । फेसबूकमार्फत नगरसभा अन्यत्र स्थानमा भएको थाहा पाएपछि उपप्रमुखसहित पदाधिकारी आक्रोशित भएका थिए ।
त्यसपछि उनीहरूले नगरपालिकाको मुख्य द्वारमा तालाबन्दी गरी आन्दोलन शुरू गरेका छन् । बहुमत सदस्यहरूलाई धोका दिई चोर बाटोबाट नगरसभा गरेको विरोधमा आक्रोशितहरूले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नगरप्रमुख कलवारको पुतला जलाएका थिए । उनीहरूले मुख्यमन्त्री यादवले नगरपालिकामा हस्तक्षेप गरेको आरोप लगाउँदै नगरप्रमुख र मुख्यमन्त्रीविरुद्ध कडा नाराबाजी गरेका थिए । पुतला दहन गर्ने बेलामा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
नगरसभा भएको स्थानमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । नपा अन्तर्गत रहेका शिक्ष्Fा, स्वास्थ्य, कृषि शाखाका कर्मचारीहरूले तलबभत्ताको माग गर्दै असोज ३० गतेदेखि नपामा धर्ना दिंदै आएका छन् ।
सिम्रौनगढ नपामा आठजना वडाध्यक्षसहित ३६ जना नेपाली काङ्ग्रेस, नगरप्रमुखसहित १६ जना लोकतान्त्रिक समाजवादी र एकजना वडाध्यक्षसहित पाँचजना नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका छन् । नगरप्रमुख र उपप्रमुख पक्षधरबीच एकापसमा कुरा नमिल्दा बेलाबखत सिम्रौनगढ नपामा विवाद हुँदै आएको छ ।