प्रस, निजगढ, २४ असोज/
निजगढ नगरपालिका–९ क्याम्पस सडकका ८३ वर्षीय तीर्थमान लामाले एक करोडभन्दा बढी मूल्यको जग्गा दान गरेका छन् ।
निजगढ नगरपालिका वडा नं ९ वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्न वडा कार्यालयले दुईपटक सूचना सार्वजनिक गरेपछि पछिल्लोपटक लामाले आफ्नो जमीन निश्शुल्क उपलब्ध गराउन लिखित मन्जुर दिएपछि बुधवार सिमरास्थित मातपोत कार्यालयमा उनले दुई कट्ठा जमीन निजगढ वडा नं ९ वडा कार्यालयको नाममा पास गरिदिए ।
जग्गादाता लामाको सोही वडामा रहेको साबिक ११७ नम्बर कित्ताको तीन कट्ठा १७ धुरमध्येबाट वडा कार्यालय निर्माणका लागि कित्ता नं ८८० मा दुई कट्ठा जमीन पास भएको हो । सो जमीन पास गर्नका लागि जग्गादाता लामासहित उनका दुई छोरा केशरबहादुर लामा, लाक्पा लामा र वडा कार्यालयतर्फबाट वडाध्यक्ष रामचन्द्रप्रसाद कटुवाल, वडा सदस्यहरू बबिता श्रेष्ठ, इन्द्रकुमारी सुनुवार, चित्रप्रसाद चौलागाईं सहभागी थिए ।
वडा कार्यालयसम्म सहजरूपमा पुग्नका लागि जग्गादाताका छोरा केशरबहादुर लामा, लाक्पा लामा र छिमेकी संधियार राजु केसीले समेत आफ्नो स्वामिकत्वमा रहेको जमीन निश्शुल्क उपलब्ध गराउने सहमति भएपछि २० फिटे बाटो दिने शर्तमा कबुलियतनामा गरिसकेको वडाध्यक्ष कटुवालले बताए ।
हामीले पहिलोपटक २०७९ सालमा सूचना सार्वजनिक गरे पनि पहिलो सहमति हुन नसकेपछि दुई साताअघि पुनः दोस्रोपटक सूचना सार्वजनिक गरेपछि गौरीशङ्कर क्याम्पस र वाक्यश्वर महादेव मन्दिरको बीच भागको पूर्वतर्फ कालोपत्र सडकबाट तीन सय मिटरभित्र जग्गा उपलब्ध भएको वडाध्यक्ष कटुवालले जानकारी दिए ।
जग्गादाताले सो जमीन उपलब्ध गराउन राजी भएपछि तीन दिनअघि सोही वडाका समाजसेवी, बुद्धिजीवीसहितले उक्त जमीन स्थलगत हेरी प्राप्त हुने जमीनमा वडा कार्यालय निर्माण कार्य उचित हुने भन्दै निर्णय गरी वडा कार्यालयलाई बुझाएका थिए । हाल वडा कार्यालय भाडामा रहँदै आएको छ ।