गाजा/जेरुसेलम, २२ असोज/सिन्ह्वा/एएफपी
प्यालेस्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतवार ‘युद्धको अवस्था’को घोषणा गरेको छ। हमासले इजरायलविरुद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ।
इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतवार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ।
हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतवार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायलाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडिएफ) का सैनिकसँग झडप भएको छ।
इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाडनजीकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल)मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ।
आइतवार राति पनि महोत्सवमा सहभागी धेरैजना हराइरहेका छन्। हमासले इजरायलमा हजारौं रकेट प्रहारसहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन्।
यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकूबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताएका छन्।
अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रूजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन्।
पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायुसेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकू विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ। उनले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्ध सामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रुत गतिमा उपलब्ध गराउने बताए।
गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित ः संयुक्त राष्ट्रसङ्घ
प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व शुरू भएयता गाजापट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले सोमवार जनाएको छ।
“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसिएचएले भनेको छ।
ओसिएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपत्कालीन आश्रयस्थल तोकिएको छ।
हमासको लडाकू समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौं रकेट प्रहार गरेपछि इजरायलले शनिवारदेखि गाजामा सयौं हवाई आक्रमण गरेको छ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए)का प्रवक्ता अदनान अबु हसनले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन्।
“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छाैं,” उनले एएफपीसँग भने।
गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन्।
कैदी आदानप्रदान गर्न इजरायल र हमासबीच वार्ता प्रयास
गाजा/एएफपी
कतारले इस्लामिक रेजिस्टेन्स मूभमेन्ट (हमास) र इजरायलबीच युद्धका क्रममा कब्जामा लिई बन्दी बनाइएका महिलालाई आदानप्रदानका लागि मध्यस्थता गरिरहेको हमास स्रोतले आइतवार जनाएको छ।
“अमेरिकी सहयोगमा कतारले इजरायली जेलमा रहेका ३६ प्यालेस्टिनी महिला (युद्धबन्दी)को रिहाइ गरिएमा हमासद्वारा कब्जामा लिइएका सबै इजरायली महिलालाई रिहा गर्नेगरी तत्काल सम्झौता गर्न खोजिरहेको छ,” नाम नबताउने शर्तमा स्रोतले सिन्ह्वालाई भन्यो।
स्रोतले इजरायलका जेलमा रहेका सबै ३६ जना प्यालेस्टिनी महिला युद्धबन्दीलाई रिहा गरेमा कैदी साटासाट गर्न सहमत हुने कतारलाई जानकारी गराएको छ।
हमासले शनिवार गाजापट्टीसँग जोडिएको इजरायली शहरमा अचानक आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी हमला गरेको थियो।
आक्रमणका क्रममा हमासका लडाकूले गाजापट्टीलाई इजरायलबाट छुट्याउने सुरक्षा घेरा तोडेर आसपासका समुदायमा आक्रमण गरी महिलासहित इजरायली नागरिकको हत्या र कब्जा गरेका थिए।
गाजास्थित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आइतवार सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४१३ पुगेको छ भने दुई हजार ३०० भन्दा बढी घाइते भएका छन्। रासस