• राजेन्द्रप्रसाद कोइराला

सो–ह श्राद्धलाई पितृपक्ष वा महलया पनि भनिन्छ। हिन्दू पात्रोमा यसको अवधि १६ दिनको हुन्छ। यस समयमा  मानिसहरू आफ्ना पुर्खा वा पितृलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। हिन्दू पौराणिक कथा अनुसार पितृलोक भनिने स्वर्ग र पृथ्वीको बीचमा पुर्खाको तीन अघिल्लो पुस्ताका आत्मा बस्छन्। यस क्षेत्रलाई मृत्युका देवता यमले रेखदेख गरेका हुन्छन्, जसले मृतक मानिसको आत्मालाई पृथ्वीबाट पितृलोक लैजान्छ।

यो समयमा पुजारीलाई चढाइने प्रसाद पितृलोकमा तीन पुस्तासम्म पुग्ने जनविश्वास छ।

प्रायः के विश्वास गरिन्छ भने जब चौथो पुस्ताको व्यक्तिको मृत्यु हुन्छ, पहिलो पुस्ता स्वर्गमा सर्छ र भगवानसँग एकता हुन्छ। यसरी, पितृलोकमा केवल तीन पुस्तालाई सोरश्राद्ध संस्कार दिइन्छ।

यससम्बन्धी विभिन्न कथा छन्– महाभारतमा कर्णको मृत्युपछि उनको आत्मा स्वर्ग पुग्यो, जहाँ उनलाई खानाको रूपमा सुन र रत्न प्रदान गरियो। कर्ण छक्क परे। वास्तविक भोजन किन दिइएन भन्ने कुरा बुझ्न स्वर्गका स्वामी इन्द्रसँग सोधे। इन्द्रले भने– तिमीले जीवनभर सुन दान ग–यौ, पुर्खाको नाममा कहिल्यै अन्नदान गरेनौ।

यसबाट अनभिज्ञ कर्णले इन्द्रलाई आफूलाई परिमार्जन गर्न चाहेको कुरा  बताए। इन्द्रलाई यो कुरा ठीक लाग्यो  र कर्णलाई १६ दिनको लागि पृथ्वीमा फर्कने अनुमति मागे जसले गर्दा श्राद्ध अनुष्ठान गर्न, खाना र पानी दान गर्न सकून्।

सोह्र श्राद्धको प्रचलनलाई ध्यानमा राखेर यो समय एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै आएको छ र यसको महत्व अझै कायम छ। साधारणतया जेठो छोराले पूजा गर्छ भने अरू छोराहरू पनि सहभागी हुन्छन्। यसले आफ्ना पुर्खाको आत्माले स्वर्गमा शान्ति पाउने विश्वासका साथ यो आयोजना गरिन्छ।

विष्णु भगवान्को मत्स्य र कुर्म अवतारपछि पृथ्वीको रक्षार्थ तेस्रो अवतार बराह (टाउको सुँगुरको र बाँकी शरीर मानिसको) अवतार लिनुपरेको थियो। बराहरूपी भगवान् विष्णुले महाबलशाली दैत्य हिरणाक्षको वध गरी पृथ्वीको रक्षा गरेका थिए। यसरी पृथ्वीलाई हिरणाक्षबाट खोसेर ल्याएपछि उनको बराहरूपी शरीरमा तिल, कुश, जौ र दूध उत्पत्ति हुन गयो। त्यसपछि उनले दूध र जौको तीनवटा पिण्ड बनाए, कुश भुईंमा ओछ्याए र पिण्डमा तिल छर्केर दक्षिणतिर फर्की तीनवटै पिण्ड यस्तो आहवान् गर्दै दान गरेछन्–‘हे पिता ! हे पितामह !! हे प्रपितामह !!! यी तीन पिण्ड मैले तपाईंहरूलाई प्रत्येकले एक–एक पाउनेगरी अर्पण गरेको छु। कृपया स्वीकार गरी तृप्त हुनुहोस्।’

बराह अवताररूपी विष्णु भगवान्ले तीनवटा पिण्डले तीन तहका पितृहरूलाई यसरी तृप्त पारेका थिए। ऋषिहरूतिर नजर लगाउँँदै बराह अवताररूपी विष्णु भगवान्ले भने–‘हे मुनिवर १ नाम जानेका पितृहरूको नामोच्चारण गर्ने र अज्ञात पितृहरूका लागि अमुक नाम भनेर पिण्डदान गरेपछि तपाईं सबैका पितृहरू पिण्ड पाएर तृप्त हुनेछन्। पितृहरू चाहे स्वर्ग या नर्क जहाँ रहे तापनि, यस रीतले दिएको पिण्ड उनीहरूले अवश्यमेव पाउनेछन्।’ बराह भगवान्बाट यस्तो सल्लाह र निर्देशन पाएपछि ऋषि–मुनिहरूले त्यसै समयदेखि यस भूलोकमा पितृहरूलाई पिण्डदान गर्ने चलन चलाए भन्ने लोकोक्ति छ।

त्यसपछि पञ्चमहाभूत (जल, स्थल, वायु, आकाश, तेज) को यस धरतीमा चराचर सृष्टि हुन थाल्यो। मानिसको देहबाट एकमात्र प्राण जाँदैमा अरू सबै नष्ट नहुने तथ्ये बोध हुँदै गयो। यी पञ्चभूतको साझा देहमा रहेको आत्मा त्यो हो, जो सारको रूपमा रहेको हुन्छ। जुन अकाट्य छ, अजय छ, अमर छ। यो ज्यादै सूक्ष्म हुन्छ जसलाई भौतिक आँखाले देख्न सकिंदैन। तर, यसको आकार भने पूर्वशरीरजस्तै हुन्छ। फूलको बास्नालाई जसरी हावाले एक ठाउँबाट अर्काे ठाउँमा लैजान्छ, सूर्यको किरण जसरी आफ्नो तेजका साथ टाढा–टाढासम्म जान्छ, त्यसैगरी मानव शरीरबाट जब प्राणवायु निस्कन्छ, तब आत्मा पनि त्यति बेलै शरीर छाडेर नयाँ शरीर प्राप्तिका निम्ति विचरण गर्न थाल्छ। यस आत्माको कुनै निश्चित दिशा हुँदैन, जतातिर पनि जान सक्छ।

मानिसको मृत्यु भएको दिनदेखि १३ दिनसम्म, मासिका श्राद्धसम्म, ६ महीना र एक वर्ष भएपछि गरिने पुण्यवत पितृकार्य, यी सबैमा दिएको पिण्डदानका प्रभावले प्रेतात्माले पितृ–आत्मा प्राप्त गरी ईश्वरमा गएर लीन हुन्छ भनिएको छ। यसरी हामीले आफ्ना पितृलाई दिएको पिण्डदान साक्षात् ईश्वरलाई नै दिएको ठहर्न जान्छ। जसरी सूर्यको तेजले सागरको जलमाथि खैंचिन्छ र पछि त्यही जल वर्षाको रूपमा पृथ्वीमा झर्छ, त्यसैगरी पितृहरूको आत्माले उनीहरूको सन्ततिले दिएको पिण्डदानको बास्ना, भाव आफूतिर खैंचेर लिन्छन्। यसकारण पितृहरूलाई पिण्डदान गर्न अति जरूरी हुन्छ।

हिन्दू धर्म, संस्कृति र परम्परा अनुसार भनिएको छ–‘छोरो त्यही हो, जसले आफ्ना पितृका खातिर पिण्डदान गरेर पितृआत्मा तृप्त पार्छ र आफू पनि निर्धक्कसँग आनन्दपूर्वक रहन सक्छ।’ यसै प्रसङ्गमा शास्त्रमा भनिएको छ–

आयु प्रजां धनं विद्या स्वर्गमोक्ष्यं सुखानि चः।

प्रयच्क्ष्यन्ति तथा राज्यं पितरं श्राद्धतर्पिताः।।

भावार्थः आफ्ना पितृहरूप्रति श्रद्धाभावले गरिने श्राद्ध, तर्पण आदिले यस जुनीमा आयु, ऐश्वर्य, विद्या, राज्य सुखभोग प्राप्तगरी अर्काे जुनीमा स्वर्ग प्राप्त भई मोक्ष प्राप्त हुन्छ। तर, यसो भनिए तापनि आत्मीय श्रद्धाविना गरिएको श्राद्ध कर्मले पितृहरूलाई तृप्ति दिलाउन सक्दैन भनेर गरुडपुराणमा बताइएको छ। त्यस कारण हामीले गर्ने एकोदिष्टश्राद्ध, सोह्रश्राद्ध, तर्पण आदि जुनसुकै गर्दा पनि स्वच्छ र प्रसन्न मुद्राले, पितृहरूप्रति असीम श्रद्धाभाव राखेर गर्नु–गराउनु नितान्त आवश्यक छ। मनसा, वाचा, कर्मणा अर्थात् मन, वचन र कर्मले सम्पन्न गरिने श्राद्ध–तर्पण नै भुक्ति–मुक्तिको मूल मार्ग हो भनेर हिन्दू धर्मशास्त्रहरूमा वर्णन गरिएको छ।

बराह अवताररूपी विष्णु भगवान्ले पुनः ऋषिमुनिहरूतिर फर्केर भने, ‘हे मुनिवर ! तपाईंहरू सबैले पनि अब उप्रान्त आआफ्ना पितृहरूलाई स्वच्छ भाव र असीम श्रद्धापूर्वक नियमित पिण्डदान दिने गर्नुहोला। त्यहाँ भएका ऋषिहरू सबैलाई यही उपदेश दिंदै बराहरूप विष्णु भगवान्को दिव्य शरीरमा लीन भएको थियो भन्ने कुरा हिन्दूहरूको महान् प्राचीन ग्रन्थ महाभारत अन्तर्गतको शान्तिपर्वमा उल्लेख छ। हिन्दू पञ्चाङ्ग अनुसार यस वर्ष विसं २०८० सालको साउन महीनामा मलमास पर्न गएकोले यस वर्षको पितृपक्ष (सोह्र श्राद्ध अर्थात् पार्वण श्राद्ध) आश्विन महीनाको १३ गतेदेखि आश्विन २७ गतेसम्म (सेप्टेम्बर महीनाको ३० तारिखदेखि अक्टोबर १४ तारिखसम्म) रहेको छ। आफ्ना माता–पिता नहुनेहरूले पितृपक्षको पहिलो दिन कपाल मुण्डन गरेर विधिपूर्वक एकछाके गर्ने र प्रतिपदादेखि औंसीसम्म एकछाक सात्विक भोजन गर्ने हिन्दू परम्परा छ। आआफ्ना माता–पिताको मृत्यु भएको तिथिका दिन ब्राह्मणद्वारा विधिपूर्वक पिण्डदान दिने कर्म गराएर ब्राह्मण र आफन्तहरूलाई भोजन गराउने अनि आफूले भोजन गरिन्छ। पितृहरूप्रति बडो आस्थाभाव राख्दै एकभक्त भएर रहने यो समयको वैदिक सनातन र हिन्दू धर्ममा निकै ठूलो महत्व रहेको शास्त्रहरूमा वर्णन गरिएको छ।

हिन्दू धर्म, संस्कृति र परम्परा पितृसत्तात्मक छ। हिन्दू समाजमा परापूर्वकालदेखि नै छोरीलाई त्रिगुणधारी (छोरी, बुहारी र आमा) स्त्रीको रूपमा लिइन्छ। छोरा र छोरीको कार्य विभाजन पहिलेदेखि नै निश्चित गरिएको छ। छोरी जन्मेपछि माइत हुन्जेल कन्या, विवाह भएपछि बुहारी र बच्चा–बच्ची जन्माएपछि आमा बन्ने अवस्था हुन्छ। विवाहपश्चात् छोरी अनिवार्यरूपले परघर बस्नुपर्ने बाध्यात्मक परम्परा छ। विवाह भएपछि छोरी जातिको जन्मघरतिरको थर, गोत्र परिवर्तन भएर कर्मघरतिरको थर, गोत्र कायम हुन जान्छ। वंश परम्परा पनि कर्मघरतिरबाटै जन्म–जन्मान्तरसम्म कायम हुँदै जान्छ। शायद यसो भएर पनि होला, पूर्वीय दर्शन र हिन्दू धर्म अन्तर्गत रहेका सम्पूर्ण धर्मग्रन्थहरूमा छोरा र छोरीबाट सम्पादन हुने कार्यहरू फरक–फरक गरेर तोकिएको पाइन्छ।

छोराको लागि उपनयन (व्रतबन्ध) कर्म विधिपूर्वक गरेर उसका गलामा जनै (यज्ञोपवित) धारण गराइन्छ। त्यसपछि मात्र छोरो कर्मकाण्ड अन्तर्गतका सबै कार्यहरू (विवाह, व्रतबन्ध, यज्ञादि, दान–पुण्य, मृत्युपछि गरिने किरिया, पिण्डदान आदि) सम्पादन गर्नका निम्ति योग्य हुन्छ।

कर्मकाण्डीय हिसाबले छोरो अग्रपङ्क्तिमा देखिन्छ। तर, मान्यताक्रमले हेर्ने हो भने छोरी जातिलाई साक्षात् लक्ष्मीको प्रारूप मानिन्छ। छोरी नभएको घर बास्नाविनाको फूल, तेजविनाको सूर्यको किरण, फलविनाको वृक्ष, छायाविनाको दर्पण, पानीविनाको खोला, मिठासविनाको रस, क्षितिजविनाको आकाश, मर्दयाङ्गी (इज्जत, अस्तित्व, इनसान आदि)विनाको लोग्नेमान्छे समान हुन्छ। छोरीलाई जननी, जन्मभूमि, गौमाता, दीपदायिनी भनेर पनि सम्मान गरिन्छ।

हिन्दूशास्त्रमा भनिएको छ–‘जहाँ नारी जातिको सम्मान हुन्छ, त्यहाँ देवताको वास हुन्छ।’ त्यसैले सन्तानका रूपमा हरेक हिन्दूको घरमा छोरो र छोरी दुवै हुनु नितान्त आवश्यक ठानिएको छ।

आजकल हिन्दू समाजमा कतिपय ठाउँमा माता–पिताको मृत्यु हुन गयो भने उनीहरूको काज–किरिया आदि कर्म छोरी जातिले गर्ने गरेको पाइएको छ। मृत्यु भएपछि हरेक माता–पिताका नाममा काज–किरिया, पिण्डदानजस्ता महत्वपूर्ण कर्महरू सम्पादन गरिनु स्वागतयोग्य काम हो। तर, विवाह गरेर परघर गइसकेका छोरी जातिबाट यस्ता कर्महरू सम्पादित हुँदा शास्त्रोत्तर कर्मकाण्ड जति सबै पूर्ण होलान् ? हिन्दू धर्म, संस्कृति, रीति–रिवाज, परम्पराले स्वीकार गर्ला ? जीवनभर यस्ता कर्महरूले निरन्तरता पाउन सक्ला ? सम्बन्धित सबैले गम्भीर भएर सोच्न पर्ने विषय यही हो। जेहोस् मातृदेवो भवः, पितृदेवो भवः भन्ने हाम्रो हिन्दू परम्परा अनुसार प्राचीन समयदेखि गर्दै आएका एकोदिष्ट श्राद्ध (मरेको दिनको तिथिमा दिइने पिण्डदान) र सोह्रश्राद्ध (आश्विन कृष्ण पितृपक्षमा दिइने पिण्डदान) गरी मुख्यतया वर्षको दुर्ईपटक श्राद्ध गर्ने हिन्दू परम्परा छ। हुनत विभिन्न तीर्थस्थल गएर पितृहरूका नाममा पिण्डदान दिने पनि गरिन्छ, यसरी दिइने पिण्डदान गणनामा ल्याइँदैन।

देवशक्तिभन्दा पितृशक्ति प्रबल हुन्छ भन्ने शास्त्रीय मान्यता छ। भनिन्छ– देवताले दिएको वरदान पितृहरूले हरण गर्न सक्छन्। अतः व्रत, उपासना गरेर देवताहरूलाई मात्र खुशी पारेर हुँदैन, श्राद्ध, तर्पणादि गरेर पितृहरूलाई पनि खुशी पार्नु नितान्त आवश्यक छ।

सो–हश्राद्धको अन्त्य विश्वभर हर्षाेल्लासका साथ मनाइने हिन्दूहरूको सबैभन्दा ठूलो चाड दशैंको शुरूआतको शंखनाद पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here