हिन्दीमा एउटा उखान छ– नयी घोडी चाल दिखाए’। हामीकहाँ प्रहरी, प्रशासन प्रमुख फेरिएपछि यही उखान चरितार्थ हुँदै आएको छ। बारा प्रहरी प्रमुखमा होबिन्द्र बोगटीको सरुवा भएर अहिले नयाँ प्रहरी प्रमुखको आगमन भएको छ। नयाँ प्रहरी प्रमुखको आगमनसँगै अहिले बारा जिल्लामा घरेलु मदिराभट्टीविरुद्ध अभियान चलाइएको छ र दर्जनौं मदिराभट्टी अहिले नष्ट गरिएका छन् भने केही हुने अवस्थामा छन्। भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित भएको करीब डेढ दशक हुन लाग्यो। यो अवधिमा बिहारसँग जोडिएका नेपाली भूभागहरूमा अवैध घरेलु मदिराको उत्पादन बढेको हो। बिहारमा घरेलु मदिरा मात्र होइन बोतलबन्द मदिराको पनि तस्करी हुँदै आएको छ। सीमा सुरक्षा अधिकारीहरूलाई प्रभावमा पारेर सेटिङमा हुने ठूलो परिमाणको मदिरा तस्करी चालू छ। दुवैतर्फका सीमामा खटिएका प्रहरीहरूले समाउने भनेको सेटिङमा नपरेका र सानो परिमाणमा तस्करी गर्नेहरू हुन्। पर्सा जिल्लामा पनि यसअघि प्रहरी प्रमुख कोमल शाह आउँदा चार महीना अवैध कारोबारहरू रोकिए। सिङ्गो जिल्लामा भन्सार छलीका कारोबारहरू ठप्प गरिएका थिए। मदिराभट्टीहरू पनि नष्ट गरिएका थिए। अहिले भने उहिलेको जस्तो अवस्था छैन। तस्करी सञ्चालन गरेका आरोपहरू सञ्चारमाध्यमहरूबाट लागिरहेका छन्।

पर्सा, बारा र रौतहटका सीमावर्ती क्षेत्रमा अवैध कारोबारहरू हुँदै आएका छन्। प्रहरी, प्रशासनका प्रमुखहरूको परिवर्तनपछि केही दिनका लागि अवैध कारोबारहरू बन्द हुन्छन् र पछि पुरानै लयमा शुरू हुन्छ। अहिलेसम्मको अवस्था यही हो। यी नाकाहरूबाट नूनदेखि सुनसम्मको कारोबार हुन्छ। अवैध कारोबार गर्नेहरूको सूची प्रहरी, प्रशासनसँग नभएको होइन। तर अहिलेसम्म उनीहरूमध्ये कसैलाई पनि पक्राउ गरिएको छैन। तीन जिल्लाको मात्र कुरा गर्ने हो भने पनि अवैध सामानहरू बेवारिसे अवस्थामा मात्र फेला पर्छन्। सीमावर्ती क्षेत्रहरूको कुरा छाडौं, गोदामहरूमा छापामारी हुँदा पनि बेवारिसे अवस्थामा सामान बरामद भएको भन्न हाम्रो प्रहरी सङ्कोच मान्दैन। गोदाम घर व्यक्ति, संस्थाको नाममा दर्ता हुन्छ। त्यसैगरी, गोदाममा राखिने वस्तुहरू पनि गोदामधनी अथवा उनले भाडामा दिएका व्यक्ति, संस्थाको नाममा हुन्छ भने त्यहाँबाट बरामद हुने सामानहरू बेवारिसे भनी लाज पचाएर प्रहरीले भन्ने गरेको छ। भर्खरैको कुरा हो, वीरगंज–१६ इनरबाइपासको एक गोदामबाट बेवारिसे सामान बरामद भएको भनी प्रहरीले बतायो। यो घटनामा प्रहरी अनजानवश चुकेको हो अथवा तस्करलाई जोगाउन सफाइ देओस् तर समाजमा आशङ्का भने बढेको छ। यस्तो आशङ्का बढ्ने काम गरिनुहुन्न। आम मानिसले प्रहरीविरुद्ध बोल्ने वातावरण यस्तै प्रकारका घटनाहरूले बन्दै जाने हो भन्नेतर्फ पनि सचेत र सर्तक हुन जरुरी छ।

बाराका प्रहरी प्रमुख नयाँ छन्, उनलाई काम देखाएर नाम कमाउने हतार छ र धमाधम एकपछि अर्काे काम देखाउँदैछन्। कुनै बेला पर्साको प्रहरी प्रमुखमा पनि उही जोश, जाँगर थियो तर अब अन्यत्र सरुवा भएर गएपछि देखाउने गरी अहिले सञ्चय गरिएको छ। वास्तवमा यस्तो कार्य हुनुहुन्न। आफ्नो काम, कर्तव्यलाई जुनसुकै बखत पनि इमानदारीका साथ निर्वहन गर्न सक्नुपर्छ। तर त्यस्तो दिन अहिलेसम्म आउन सकेको भने छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here