प्रस, वीरगंज, २१ असोज/

वीरगंज महानगरपालिका–१ बजार छपकैया निवासी ४० वर्षीया पूनमदेवी सोनारिनको हत्या छिमेकी युवकले गरेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले आइतवार पत्रकार सम्मेलन गरी भारत, बिहार सीतामढी नरहा ग्राम घर भई हाल वीरगंज–१ बजार छपकैया बस्दै आएकी गगनदेव सोनारकी पत्नी पूनम सोनारिनको हत्या निजकै छिमेकी २५ वर्षीय इमरान मियाँले गरेको दाबी गरेको छ ।

प्रहरीले इमरान लागूऔषध दुव्र्यसनी रहेको पनि दाबी गरेको छ । प्रहरी उपरीक्षक कोमल शाहले चोरीको उद्देश्यले मध्यराति दुई बजे इमरान पूनमको घरको पछाडिबाट प्रवेश गरेको र सो दिन जितिया पर्व भएको कारण पूनम जाग्राम बसेकीले चोरी गर्न आएका इमरानलाई देखेकी थिइन् । सो क्रममा  पहिचान खुल्ने भयले इमरानले सावेल प्रहार गरी पूनमको हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रउ शाहले बताए ।

उनले इमरान पूनमको घरमा चोरी गर्नुपूर्व वडा नं १ वडा कार्यालयमा चोरीको उद्देश्यले गएको तर त्यहाँ चोरी गर्न नसकेपछि पूनमको घरमा चोरी गर्न पसेको दाबी गरेका छन् ।

पूनम गत शुक्रवार बिहान धारिलो हतियार प्रहारबाट घाइते भएको सर्वप्रथम उनकी दिदी नीलम सोनारिनले देखेकी थिइन् । साढे तीन बजे जितियाको पूजाको लागि बहिनीलाई उठाउन पुगेकी नीलमले ओछ्यानमा बहिनी पूनम रक्ताम्य अवस्थामा देखेर उनलाई छिमेकीको सहयोगमा नारायणी अस्पताल पुर्याएकी थिइन् तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेशनल मेडिकल कलेज पुर्याइएकोमा बिहान पौने आठ बजे  चिकित्सकले पूनमलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटना सम्बन्धमा प्रशिक्षित कुकुरको प्रयोग गरेको थियो भने प्रमाणको रूपमा सो समयको सिसिटिभी फुटेज र हत्यामा प्रयोग गरिएको सावेल रहेको जनाएको छ ।

दुई दिने अनुसन्धानमा प्रहरीले घटनाको उद्देश्य चोरी रहेको र सोही कारणबाट हत्या भएको दाबी गरेको छ । पूनम घरमा एक्लै बस्दै आएकी थिइन् । उनको छोरीको बिहे भइसकेको र छोरा दुई वर्षदेखि अध्ययनको सिलसिलामा दिल्लीमा छन् भने पति लामो समयदेखि भारतमैं बस्दै आएका छन् ।

पूनमको वडा नं ३ वडा कार्यालयअगाडि ब्युटिपार्लर छ र प्रहरीले सो ब्युटिपार्लरमा पनि शनिवार खानतलाशी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here