प्रस, सिम्रौनगढ, १९ असोज/
प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल बाराको सिम्रौनगढ नपा–२ जोडा पीपलनजिक रहेको पुरातात्विक एवं धार्मिक मान्यता बोकेको चर्चित पत्थरको अवशेष समाप्त भएको छ ।
एकजना व्यक्तिको खेतमा रहेको यो पत्थर अघिल्लो दिनमा चर्चित थियो । जतिसुकै पानी आएको खण्डमा पनि नडुब्ने र उत्खनन नहुने अवस्थामा थियो । राणाकालीण अवस्थामा यो पत्थरलाई निकाल्ने प्रयास गर्दा तत्कालीन अवस्थामा पनि सकिएको थिएन ।
स्थानीय वृद्ध जङ्गबहादुर महतोले राणाकालीन अवस्थामा हात्तीले उत्खनन गर्न नसकेको पत्थर अहिले संरक्षण अभावमा नष्ट भएको बताए । पत्थर काटिएर अल्पत्ररूपमा खेतमा फालिएको अवस्थामा फेला परेको सिम्रौनगढ नपा–३ नौकाटोलका गुड्डुकुमार कुशवाहाले बताए ।
ऐतिहासिक नमूनाको रूपमा रहेको पत्थरको सम्बन्धमा स्थानीय प्रशासन मौन रहेको उनको आरोप छ ।