• सञ्जय साह मित्र

आफ्नो क्षेत्रानुसार आजभोलि भन्ने गरिएको छ – आजको युग विज्ञानको युग हो, आजको युग प्रविधिको युग हो र आजको युग सूचना तथा सञ्चारको युग हो । विज्ञान, प्रविधि र सञ्चार एकापसमा भिन्न रहे पनि अन्तर्सम्बन्धित छन् । सबै विज्ञानकै देन हुन् भन्दा पनि फरक नपर्ला तर आजभन्दा हजारौं वर्ष पहिले रचना गरिएको गीतामा पनि विज्ञानको प्रसङ्ग रहेको छ । गीतामा पनि पहिलेको युगभन्दा त्यस युगलाई आधुनिक भनिएको छ । श्रीकृष्णले आधुनिक युग शब्दको प्रयोग गरेका छन् । यसरी आधुनिक शब्दले जहिले पनि वर्तमानको विज्ञान र चमत्कारको सन्दर्भलाई मात्र जनाउने रहेछ भन्ने बुझ्नु उचित हुन्छ । पहिलेकै जमाना पनि पहिलेको युगको लागि आधुनिक थियो र भविष्यमा भविष्य पनि इतिहास हुन्छ तथा भविष्य पुरातन कहलाउँछ । यसर्थ समयको गति अगाडि बढ्दै गर्दा बितेको समय पुरातन र वर्तमान समय जहिले पनि आधुनिक हुने कुरामा दुई मत छैन । हरेक जमानामा आधुनिक युगका आफ्नै विशेषता हुने तथा आफ्नै विशिष्टता हुने भइ नै हाल्यो । त्यसैले कतिपयले वर्तमान युगलाई अत्याधुनिक युग भन्न रुचाउँछन् । आधुनिकमा पनि आधुनिक वा अति आधुनिक बुझाउनलाई अत्याधुनिक शब्द प्रयोग भएको हुनुपर्छ । अत्याधुनिक युगका समर्थकहरूले आधुनिक उपकरण वा यन्त्रको प्रयोग भइरहँदा तथा राम्रो नतीजा दिइरहँदा पनि त्यसभन्दा अझ राम्रो परिणाम दिने वा फरक किसिमले नवीन प्रविधि आयो भने अत्याधुनिक मान्ने गरेको पाइन्छ । अत्याधुनिक भन्नु पनि सीमित समयको लागि हुन्छ किनभने त्यसभन्दा पनि आधुनिक आविष्कार भइरहेको हुन्छ वा भइसक्छ ।

वर्तमानले प्राचीन भनेको युगमा पनि सूचना र सञ्चार भइरहन्थ्यो । हो, सबैभन्दा पुरानो सञ्चार मानिसले स्वयं नै उपस्थित भएर आफ्ना सन्देश भन्नु हो । यसरी दुःख वा सुख तथा उत्सवका सन्देशको आदानप्रदान हुने गरेको संस्कृतिले बताउँछ । हाम्रो समाजमा कुनै विशेष अवसर वा उत्सवको समयमा छोरी वा दिदी बहिनीकहाँ ‘सनेस’ लाने चलन छ । यो सनेस भन्ने शब्द यही सन्देशबाट अपभ्रंश भएको हुनुपर्छ । पहिले सन्देश बोकेर जाने भनेको संवाद निर्दिष्ट हो । र संवादलाई ‘समाद’ भन्ने गरिएको पाइन्छ । समाद भनेको स्वयं आफन्तकहाँ नगई अरूमार्फत खबर पठाउनु हो भनेर बुझिन आउँछ । अहिले सनेस शब्दले कोसेलीको अर्थ ग्रहण गरिसकेको छ जसलाई विचार गर्दा सनेसले कोसेलीको अर्थ ग्रहण गर्नुभन्दा पहिले यसको अर्थ सन्देश हो । हो, पहिले आफूमा आश्रित रहेका (छोरी–दिदीबहिनी) कहाँ जानुपर्दा घरमा मीठोचोखो पाकेको वा फलेको छ भने रित्तो हात जानुभन्दा त्यस्ता सामग्री लिएर जाँदा एक पन्थ दुई काज हुने भनी पितापुर्खाहरूले विचार गरेको हुनुपर्छ । यसकारण नाताको हिसाबले छोरी, बहिनीकहाँ जाँदा यस्तो मौका पारेर जाऊँ कि पर्व रमाइलो लागोस् र मीठो मसिनो पु¥याउने निहु बनोस् । यसरी संवाद र कोसेली खप्टिएको पनि हुन सक्छ । संस्कृतिमा अन्य कुराहरू पनि आउन सक्छ तर पहिले आफन्तकहाँ आफैं पुग्ने चलन थियो कुनै संवाद लिएर अनि पछि प्रतिनिधि पठाउने चलन चलेको हो भन्ने अनुमान लगाउन खासै कठिन हुँदैन ।

सन्देश पठाउने कामको महत्व बुझेर नै हुलाकको व्यवस्था भएको हुनुपर्छ । कतिपय प्रसङ्गमा हुलाकीको काम परेवाले पनि गरेको सुनिन्छ । यद्यपि हुलाक भने निकै प्रभावकारी र विश्वसनीय मानिएको थियो । हुलाक नै सन्देशको आधिकारिक संवाहक बनिसकेको थियो र यसप्रतिको विश्वासले गर्दा निजी क्षेत्रको हुलाक अर्थात् कुरियर सेवा पनि चल्न थालेको थियो । अहिले पनि हुलाक छँदैछ र पनि कुरियर सेवा चलिरहेकै छ तर अब युग परिमार्जित् भइसकेको छ । मुख्यगरी बिजुलीको प्रयोगको क्षेत्र विस्तार हुँदै जाँदा अन्य क्षेत्रमा विद्युत्ले हस्तक्षेप बढाउँदै लगेजस्तै हुलाकको क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भयो । बिजुली हुलाक भनेर इमेललाई बुझिन थालिएको छ । पहिले हुलाकमार्फत पठाइने चिठीको सम्पूर्ण काम अब यही विद्युतीय हुलाकरूपी इमेलले गरिसकेको छ । इमेल चल्ने इन्टरनेटको माध्यमले हो । हो, इमेलको प्रयोग विश्वव्यापी बढ्न थालेसँगै इन्टरनेटमा अन्य साधनको पनि व्यापक आविष्कार, विकास तथा प्रयोग हुन थालेको हामी पाउँछौं । अहिले सामाजिक सञ्जालमा इन्टरनेटको अनेक स्वरूप देख्दछौं ।

आज विश्वले अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस मनाउँदै छ । इन्टरनेटको विकासले अन्तर्राष्ट्रिय सूचनामा सर्वसाधारणको पनि विश्वव्यापी पहुँच बढाउन ठूलो योगदान दिएको छ । आजभोलि मानिस जहाँ भए पनि सूचना लिन र दिन सक्षम भएको छ । अन्यत्र के कति सम्भव होला, तर सामाजिक सञ्जालमा जहाँबाट पनि आफ्नो सामग्री पोस्ट गरेर राख्ने चलनको विस्तार भएको छ । हरेक दुःख र सुख, उत्साह तथा उपलब्धि मानिसले अरूसित साटासाट गर्नुभन्दा पहिले सामाजिक सञ्जालमा राख्न चाहिरहेको छ । सामाजिक सञ्जालले मानिसलाई आफ्नो परिवेशमा रहेको पलपलको जानकारी दिइरहेको छ । मानिसले पनि सामाजिक सञ्जालबाट आफ्नो रुचि र क्षेत्रको सबै जानकारी प्राप्त गरिरहेको छ । कतिपय अवस्थामा मानिस बाटो हिंड्दाहिंड्दै, आफूलाई निकै राम्रो वा निकै खराब लागेको दृश्य त्यहींबाट सामाजिक सञ्जालमा लाइभ (प्रत्यक्ष) प्रसारण गरिरहेका छन् जसको लाभ दर्शक वा तिनका मित्रहरूले उठाइरहेका छन् । आफ्नै सूचनामा आफ्नो हक पनि लामो समयको लागि विस्तार भएको देखिन्छ यसबाट । कुनै समय पोस्ट गरेको सामग्री पछिसम्म काम लाग्ने भइरहेको छ । अझ कतिपय सामाजिक सञ्जालले केही वर्षको अन्तरालमा जुन मितिमा सार्वजनिक गरिएको हुन्छ, सोही मितिमा त्यसलाई स्मरण पनि गराएको हुन्छ । यसले गर्दा त्यस्ता सामग्रीले एकातिर आफूलाई त्यहाँ पुगेको अनुभूति गराउँछ भने तत्काल काम लाग्ने केही विषय भए त्यसलाई पुनः प्रयोग वा नवीन किसिमले उपयोग गर्न सजिलो हुन्छ ।

इन्टरनेटको भरपर्दो प्रयोग बढ्दै जाँदा अनलाइन मिडियाको विकास निकै धेरै भएको छ । कतिपय आलोचकले त यस्ता मिडिया खहरेझैं मौलाएको भन्ने गरेका छन् । यो आरोप नै होला तर सञ्चार क्षेत्रमा अलिकति पनि रुचि हुनेले आफ्नो एउटा वेबसाइट बनाउन चाहने युगमा पुगिसकेका छौं हामी । वेबसाइट चलोस् कि नचलोस्, पाठकले हेरून् कि नहेरून् एउटा पाटो हो, तर अत्यधिक मात्रामा विकास भएको त अवश्य हो । यसकारण यदि कोही अलिकति नाम सुनिएको सञ्चारकर्मी छ भने तिनले आफैंले प्रत्यक्ष वा अप्रत्यक्ष अनलाइन चलाएको अवश्य छ । यस्ता अनलाइनमध्ये कतिपय अरूलाई धम्की दिन दुरुपयोग हुन्छन् साथै कतिपयले बार्गेनिड्ढो साधन बनाएका छन् । यसको सकारात्मक पक्ष यो पनि हो कि यस किसिमको अनलाइन मिडियाले कम्तीमा एकजनालाई रोजगार दिएको देखिन्छ । चाडबाडको समयमा जहाँबाट लिन सकिन्छ, त्यहाँको विज्ञापन प्रकाशित गर्ने र शुभकामनाको नाममा जति धेरै रकम आउँछ, लिने । वर्षको दुई चार चाडपर्वमा यसरी शुभकामना विज्ञापन गरेर अनलाइन टिकाउने र अतिरिक्त आय आर्जन गर्ने उद्देश्य नै रहेको छ अधिकांश अनलाइनको । हैन भने कुनै निश्चित पहिचान किन बनाउन सकेका छैनन् ? आफ्नो मिडिया कुन कारणले कुन क्षेत्रको लागि अन्य मिडियाभन्दा फरक छ भन्ने देखाउन स्थानीय खबरलाई प्राथमिकता दिने गरेको पाइएको छ । भलै, कपीपेस्ट नै किन नहोस् ।

मोबाइलको प्रयोग बढेसँगै सूचना तथा सञ्चारमा सबैको पहुँच स्थापित हुन पुगेको छ । जसको पहुँचमा एउटा एन्ड्रोइड मोबाइल छ, उसले सजिलै सूचनामा आफ्नो पहुँच स्थापित गर्न सफल भएको छ । इन्टरनेट सर्वत्र उपलब्ध छ । इन्टरनेटबाट विश्वको कुनै पनि रेडियो वा टेलिभिजन मज्जाले हेर्न सकिन्छ । कुनै अनलाइन हेर्नुछ भने पनि अत्यन्त सहज पहुँच छ । र, अब इन्टरनेटमा करीब सबै सूचना उपलब्ध हुन थालेको छ । कुन सामग्री चाहिएको हो, त्यसको सही खोजी गरेर आफ्नो आवश्यकता पूरा गर्न सकिने देखिन्छ । सही अर्थमा सञ्चार–कर्म गर्नेहरूका लागि पनि सूचनामा सही पहुँच हुन पुगेको छ । सोझै इन्टरनेटमा नराखी, ग्राहक बनाएर इन्टरनेटमार्फत सूचना बिक्री गर्ने अनेक संस्था पनि छन् । कुन भाषामा सूचना चाहिन्छ, सोही भाषामा उपलब्ध हुने गरेको छ । यति हुँदाहुँदै पनि सूचनाका लागि विश्वव्यापीरूपमा धेरैले ज्यान गुमाउनुपरिरहेको छ । हरेक वर्ष दर्जनौं सञ्चारकर्मीहरू सूचनाकै कारण गम्भीर स्थितिबाट गुज्रनुपरेको छ । यसले यो पनि साबित गर्दछ कि सूचना र सञ्चारको क्षेत्रमा निकै धेरै प्रगति भइसकेको भए पनि जोखिम अझै कायम छ । मागेको सूचना नपाइने वा आफूलाई चाहिएको सूचनाका लागि कठिन सङ्घर्ष गर्नुपर्ने अवस्था अझै विश्वबाट अन्त्य भइ नसकेको यथार्थ हो । तर आउँदा दिनमा सही सूचनाको लागि विश्व अझै विश्वसनीय बन्ने विश्वास भने लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here