प्रस, बिरुवागुठी, २२ भदौ/
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले रक्तदान जस्तो पुण्यको काम अरू केही नभएको बताएका छन् ।
गतिशील व्यापार समिति, पर्सागढीले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पाठकले रक्तदानबाट कसैको ज्यान जोगिने हुँदा योभन्दा पुण्यको काम अरू केही नभएको बताए । उनले आफ्नो कार्यकालमा नगरवासीहरूलाई रगतका लागि समस्या नहोस् भनेर नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरी एकमुस्ट रकम सहयोग गरेको र पर्सागढीका बिरामीहरूले रगत चेकजाँचबापतको कुनै शुल्क तिर्नु नपर्ने जानकारी गराए ।
कार्यक्रममा उपप्रमुख पूजा चौधरी, वडाध्यक्ष सुकमान तामाङ, कार्यपालिका सदस्य सीता लामा, स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल, गतिशील व्यापार समितिका अध्यक्ष टीकाराम पौडेल, रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झा, सहकर्मीहरू नमित चौरसिया, नितेश यादव, नवीन चौरसियालगायतको सहभागिता थियो । कार्यक्रममा १० जना महिलासहित १०२ जनाले रक्तदान गरेका केन्द्रका प्राविधिक झाले बताए । कार्यक्रममा मञ्जु दास थारू, ज्ञानु आचार्य, झलक आचार्य, दीपेन्द्र यादव, बुद्धिराज पौडेल, अभिषेक गुप्ता, सञ्जय साह सोनार, बुद्धिराज अर्याल, सीता चौधरी, सनम विकलगायतले रक्तदान गरेका थिए ।