प्रस, वीरगंज, २१ भदौ/

वीरगंज महानगरपालिकाको नियमन समितिले बिहीवार पुनः दुईवटा अनुमतिविना सञ्चालित क्याम्पसमा सिलबन्दी गरेको छ ।

महानगरको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले वीरगंज महानगरपालिका–९ स्थित सत्यम पब्लिक कलेज र वडा नं ८ मा रहेको पर्सा म्यानेजमेन्ट कलेजमा आज सिल गरिएको बताए ।

सो कलेजले एउटा विद्यालयको सञ्चालन इजाजत लिएर रानीघाटस्थित शुभतारा स्कूलको भवनमा कक्षा सञ्चालन गरिरहेको नियमन समितिका संयोजक यादवले बताए ।

नगरप्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले वीरगंज महानगर–८ पानीटङ्कीमा रहेको एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजको फर्जी नाममा विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको बताए ।

यसैगरी, सोही वडामा सञ्चालित पर्सा म्यानेजमेन्ट कलेजमा पनि आज महानगरले सिल लगाएको छ । सो कलेजले वीरगंज महानगर–४ बिर्तामा रहेको न्यू वेभ एकेडमीले कक्षा ११ र १२ सञ्चालन अनुमति लिएको र सोही अनुमतिको आधारमा पर्सा म्यानेजमेन्ट कलेज सञ्चालन गरिएको पाइएपछि महानगरले कलेज सिल गरेको हो ।

महानगरपालिकाले अनुमतिविना सञ्चालित शैक्षिक संस्थाहरूमा सिल गरिरहेको समाचार प्रकाशमा आएपछि पर्सा म्यानेजमेन्ट कलेजले हिजो र अस्ति आफ्नो साइनबोर्ड सच्याएर न्यू वेभ एकेडेमी बनाएको शिक्षा महाशाखा अधिकृत नारायण चापागाईंले बताए । उनले न्यू वेभ एकेडेमीको सञ्चालन अनुमति फरक वडामा रहेको र यसरी  ठाउँसारीविना अर्काको सञ्चालन अनुमतिमा शैक्षिक संस्था सञ्चालन गर्नु गैरकानूनी भएको बताए ।

उनले अर्काको इजाजतमा अर्कैले शैक्षिक संस्था सञ्चालन गरिरहेको महानगरमा एकपछि अर्काे गरी भेटिनु शैक्षिक क्षेत्रका लागि डरलाग्दो कुरा भएको बताए । उनले शिक्षा क्षेत्र सुधारका लागि महानगर अहिले कडारूपमा प्रस्तुत भएको र गलत तरीकाबाट सञ्चालित शैक्षिक संस्थाहरूलाई कारबाही हुने बताए ।

कार्यक्रममा वडाध्यक्ष रितेश गुप्ता, शिक्षा सल्लाहकार अभिषेक तिवारीलगायतको सहभागिता थियो ।

सयौं विद्यार्थीहरूको पठनपाठन प्रभावित

आजसमेत महानगरले एक सातामा नौवटा शैक्षिक संस्थामा सिल गरेको छ । शैक्षिक संस्थाहरूमा सिल गरेपछि अहिले सो संस्थामा अध्ययनरत विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।

महानगरले नयाँ शैक्षिकसत्र सञ्चालनपूर्व यस प्रकारको गतिविधि गर्नुपर्नेमा अहिले चार महीनापछि तातेको र यसबाट सिल गरिएका शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको हकमा अन्याय भएको अभिभावकहरूको गुनासो छ ।

यसबारेमा जनसम्पर्क सल्लाहकार फुयाँलले विनाइजाजत नियमविपरीत सञ्चालनमा रहेका शैक्षिक संस्थाहरूलाई कारबाही हुने तर विद्यार्थीहरूको हकमा भने विचार गर्न शुरू गरिएको बताए । उनले हाल विद्यार्थीहरूको पठनपाठन कसरी पूर्ववत्रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य शुरू भएको र आगामी केही दिनमा सोबारेमा ठोस निर्णय महानगरले गर्ने बताए ।

महानगरले यसअघि युनिभर्सल सेकेन्डरी स्कूल, प्रिन्सटन मोडेल एकेडेमी,  अन्नपूर्ण कलेज, युनिभर्सल एकेडेमी, वीरगंज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिल गरेको थियो । आजसमेत कुल नौवटा शैक्षिक संस्थामा सिल गरिएको र त्यहाँ अध्ययनरत सयौं विद्यार्थीको भविष्य अहिले अन्धकारमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here