प्रस, परवानीपुर, १५ भदौ/
केडिया आँखा अस्पताल, परवानीपुरमा सर्जिकल रेटिना सेटअप शुभारम्भ भएको छ ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले रेटिना सेटअपको शुक्रवार उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् ।
अस्पतालको सभाहलमा आयोजित उद्घाटन समारोहमा नगरप्रमुख सिंहले केडिया आँखा अस्पताल मध्य तराईकै सबैभन्दा पुरानो अस्पताल भएको चर्चा गर्दै उनले अस्पतालको सेवामा थप योगदान पुग्ने बताए । रेटिना आँखा रोगीलाई यसअघि शल्यक्रिया तथा अन्य उपचारको लागि भरतपुर वा काठमाडौंका आँखा अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । तर उक्त सेटअपले सेवा शुरू गरेपछि मध्य तराई तथा भारतका बिहार, उत्तरप्रदेशलगायतका रेटिना आँखारोगीको लागि सहज हुने उनले बताए ।
सर्जिकल रेटिना सेटअपको लागि कुल रु एक करोड ८७ लाख खर्च लागेकामा आधा अस्पतालले र आधा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले सहयोग गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश केडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परवानीपुर गापा अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मी, लायन्स क्लब इन्टरनेशनलका प्राविधिक सल्लाहकार प्राडा देवनारायण साह, नेपाल नेत्र ज्योति सङ्घका वरिष्ठ उपाध्यक्ष श्याम पोखरेल, लायन्स क्लब इन्टरनेशनलका प्रोजेक्ट चेयर पर्सन रमेश अग्रवाल, लायन्स क्लब इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एचका अध्यक्ष देवकीनन्दन अग्रवाल, सो डिस्ट्रिकका पूर्वअध्यक्ष आरपी खेतान, अस्पतालका मेडिकल निर्देशक डा नितिन तुल्स्यान, परवानीपुर गापाका वडाध्यक्ष गम्भीरा पटेल, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रममा सहजीकरण अस्पतालका वरिष्ठ व्यवस्थापक प्रकाशकुमार वर्माले गरेका थिए ।