प्रस, सेढवा, १३ भदौ/
जीराभवानी गाउँपालिका–४ मा रहेको इमृति खोलाबाट प्रहरीले टाउकोविनाको युवतीको शव बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले वीरगंज–ठोरी हुलाकी सडकखण्डको इमृति खोलादेखि दुई सय मिटर दक्षिण सोही खोलाबाट टाउकोविनाको युवतीको शव बरामद गरिएको बताए । उनले हिजो राति ७ बजे खोलामा बगेर आएको टाउकोविनाको लाशबारेमा माझीहरूले सुपौली प्रहरीलाई जानकारी गराएपछि जिल्लाबाट प्रहरी उपरीक्षक कोमल शाहको कमान्डमा प्रहरी टोली पुगेको थियो । उनले २२ देखि २५ वर्ष उमेरकी युवतीको टाउकोविनाको शव भएको तर सनाखत हुन नसकेको बताए । शव कुहिन शुरू भएको र शल्यपरीक्षणका लागि नारायणी अस्पताल पु-याइएको बताए ।
यसैबीच, आज बिहान टाउको फेला परेको छ । बिहान साढे १० बजे शव भेटिएको ठाउँभन्दा सय मिटर पर टाउको पनि भेटिएको प्रहरीले जानकारी गराएको छ । प्रहरीले हिजो राति प्रशिक्षित कुकुरको प्रयोग गरी टाउकोसहित थप प्रमाणको खोजी कार्य शुरू गरेको थियो ।