प्रस, वीरगंज, ३ भदौ/
वीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष हरिप्रसाद गौतमले हरिवनमा कृषिजन्य उत्पादन तथा कृषिजन्य उद्योगहरू स्थापनाको पर्याप्त सम्भावना रहेको बताएका छन् ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीको नेतृत्वमा रहेको टोली र वीउवासङ्घका पदाधिकारीबीच आइतवार भएको अन्तत्र्रिmया कार्यक्रममा कावा अध्यक्ष गौतमले आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर हरिवन नपाभित्र उद्योगहरू स्थापना गर्दै अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । उनले हरिवन नगरपालिकामा उद्योगहरूको स्थापनाको लागि जग्गाको प्रबन्ध गर्नुपर्ने, नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने, ढल निकासको व्यवस्था गर्नुपर्ने, शान्ति सुरक्षाको व्यवस्था हुनुपर्ने, उद्योग स्थापना गर्दाका बखत नीतिगत जटिलताबाट मुक्त हुनुपर्ने, आइइई/इइए गराइराख्नुपर्ने झन्झटबाट मुक्त राख्नुपर्ने, उद्योगहरू स्थापना भइसकेपश्चात् स्थानीयहरूको हस्तक्षेप नहुनुपर्नेलगायतका सुझावहरू प्रस्तुत गरेका थिए । कावा अध्यक्ष गौतमले यसका लागि चाहिने सहयोग र सहकार्यका लागि वीउवासङ्घ सदैव तयार रहेको बताए ।

कार्यक्रममा वीउवासङ्घका कासस अरविन्द अमात्य, तारा प्रसाद र हीरालाल साहले पनि हरिवन नपाको टोलीलाई सुझाव दिएका थिए ।

हरिवन नपाका प्रमुख बुढाथोकीले हरिवन क्षेत्रभित्र उद्योग स्थापनाको लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले उद्योगहरू स्थापनाका लागि चाहिने पूर्वाधारहरू जग्गाको प्रबन्ध, बिजुलीबत्तीको व्यवस्था, ढल निकासको व्यवस्था आदिको प्रबन्ध नगरपालिकाले गर्ने बताए ।

वीउवासङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्याय र हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा हेल्भेटास नेपाल इन इलम परियोजनाका टीम लिडर हरि गुरुङ, हेल्भेटास नेपाल इन इलम परियोजनाका प्रदेश संयोजक कृष्णलाल कर्ण, हरिवन नपा–२ का अध्यक्ष अर्जुन योञ्जन, ४ का अध्यक्ष केशवराज थापा, ५ का अध्यक्ष नागेन्द्र साह, ११ का अध्यक्ष शेख मेहबुब रेजा, हरिवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजन केसी, महासचिव राम विनोद कुशवाहा लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here