इस्लामाबाद, ३ भदौ/सिन्ह्वा
पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रीवाहक एउटा बसले इन्धन बोकेको अर्काे गाडीलाई ठक्कर दिंदा यात्रीबसमा आगो सल्केको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थल पुगेर घाइतेहरूलाई अस्पताल पु-याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करीब ४० यात्री सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामाबादतर्पm गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

अघिल्लो साता पञ्जाब प्रान्तमा भएका २,८९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने ३,१११ जना घाइते भएका थिए ।

आपत्कालीन सेवा विभागका अनुसार ९९ जनाको टाउकोमा गम्भीर चोट लागेको, १८७ जनाको विभिन्न अङ्ग भाँचिएको, ८५० जना घाइते अस्पताल भर्ना भएका थिए । ८९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।

यसैबीच देशको उत्तरी वजिरिस्तानको गुल्मिर कोट क्षेत्रमा भएको बम विस्फोटमा ११ जना मजदूरको मृत्यु भएको छ भने दुईजना घाइते भएका एआरवाई न्युजले जनाएको छ । मजदूर चढेको एउटा भ्यानमा बम विस्फोट हुँदा उक्त हताहती भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विस्फोटसम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।

अघिल्लो साता वजिरिस्तानको बाजौरमा ठूलो आत्मघाती विस्फोट भएको थियो । चुनावीसभामा सहभागी हुन गएकाहरूलाई लक्ष्य गरी गराइएको उक्त विस्फोटमा २३ जना बालबालिकासहित ६३ जनाको मृत्यु भएको थियो । इस्लामिक स्टेट समूहले गराएको उक्त आक्रमणमा दुर्ई सयभन्दा बढी मानिस घाइते भएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here