नयाँ दिल्ली, ३ भदौ /एएनआई राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरले शनिवार लद्दाखको लेह जिल्लामा सडक दुर्घटनामा नौजना सैनिकको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।
सैनिक अधिकारी सवार ट्रक सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा उनीहरूको मृत्यु भएको थियो । राष्ट्रपति मुर्मुले दुर्घटनाको खबरले मर्माहत भएको बताउँदै दिवङ्गत सैनिकलाई उनीहरूको निस्स्वार्थ बलिदानको लागि कृतज्ञताका साथ राष्ट्रले सधैं सम्झने बताएकी छन् ।
“लेहमा भएको सडक दुर्घटनामा भारतीय सेनाका जवानहरूको ज्यान गएको थाहा पाउँदा गहिरो दुःख लागेको छ । शोकसन्तप्त परिजनमा हार्दिक समवेदना प्रकट गर्दछु । भगवान्ले उहाँहरूलाई यो दुःख सहने शक्ति प्रदान गरून् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु”–राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेकी छन् ।
यसैगरी उपराष्ट्रपति जगदीप धनखरले ज्यान गुमाएका सैनिकका शोकसन्तप्त परिजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिरक्षा अधिकारीहरूका अनुसार आइतवार अपराह्न भएको उक्त दुर्घटनामा एकजना मात्र बाँचेका छन् । सेवा क्षेत्र अदलबदलका क्रममा आप्mना सरसामान लिएर गइरहेका बेला उनीहरू दुर्घटनामा परेका हुन् । घाइते जवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लद्दाखमा सेनाको ट्रक दुर्घटनामा मृत्यु भएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । रासस