कुन्मिङ, ३ भदौ/सिन्हवा
सातौं चीन–दक्षिण एशिया व्यापार मेला सम्पन्न भएको छ । मेलामा ५६ अर्ब १० करोड अमेरिकी डलर बराबरका ३३८ वटा परियोजनामा हस्ताक्षर भएका छन् ।
कोभिड–१९ महामारीपछि चीन–दक्षिण एशिया व्यापार मेला भौतिकरूपमा पहिलोपटक आयोजना गरिएको हो । दक्षिण–पश्चिम चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा आयोजना भएको पाँच दिने मेलामा ८५ देश, क्षेत्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका ३० हजारभन्दा बढी प्रदर्शकका साथै प्रतिनिधि र पाहुना सहभागी भएका थिए ।
सन् २०१३ मा राष्ट्रपति सी जिनपिङले विश्व विकासको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) घोषणा हुँदा कुनमिङमा पहिलो चीन–दक्षिण एशिया एक्स्पो आयोजना भएको थियो । विगतका वर्षहरूमा भन्दा यो वर्ष मेलामा सहभागी देश, क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाको सङ्ख्या दोब्बरले वृद्धि भएका छन् ।
१० वर्षपछि व्यापार, लगानी, पर्यटन सहयोग र सांस्कृतिक आदानप्रदानलाई एकीकृत गर्ने बृहत् व्यापार मेला चीन र दक्षिण एशियाली देशका साथै अन्य देशबीचको व्यापारिक आदानप्रदानका निम्ति उपलब्धिमूलक भएको मेला आयोजक युनान प्रान्तीय सरकारले जनाएको छ ।
बितेको एक दशकमा व्यापार मेलाले चीन र दक्षिण एशियाबीचको घनिष्ठ सम्बन्ध उजागर गर्नाका साथै चीन र दक्षिण एशियाली देशबीचको व्यापारको मात्रामा दोब्बरले बढोत्तरी मात्र भएको छैन अपितु चीन वर्षाैंदेखि पाकिस्तान, बङ्गलादेश र माल्दिभ्सको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । रासस