प्रस, वीरगंज, २ भदौ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले सुबोध स्मृति पुरस्कारको राशि वृद्धि गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रतीक दैनिक ३६औं वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रममा पत्रकार चन्द्रकिशोर झालाई रु ५१ हजार राशिको सुबोध स्मृति पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सिंहले आगामी वर्ष पुरस्कारको राशि रु एक लाख पु¥याउने वचनबद्धता जाहेर गरे । उनले पत्रकारितामा आएको विकृतिलाई वीरगंजका पत्रकारहरूले हटाउने प्रयास गर्नुपर्ने बताए । उनले आफूविरुद्ध नभएको समाचार पस्केर बदनाम गर्ने कार्य नगर्न र सत्य समाचार प्रकाशित गर्न सुझाए । भ्रष्टाचारविरुद्ध अख्तियारलाई चेकजाँच गर्न आफू निर्वाचित भएको केही दिनपछि नै आग्रह गरेको तर अहिलेसम्म पत्र मात्र आएको भन्दै भ्रष्टाचार भएको भए अख्तियार चुप लागेर नबस्ने उनको तर्क थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले वीरगंजको पत्रकारितामा प्रतीक दैनिकले आफ्नो छुट्टै पहिचान बनाएको बताए । उनले सत्य, निष्पक्ष पत्रकारिता त्यो पनि लामो अवधिसम्म निरन्तर जारी राख्नु आफैंमा चुनौतीपूर्ण कार्य भएको र यसमा प्रतीक दैनिक अहिलेसम्म खरो उभिएको बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले प्रतीक दैनिक अहिलेसम्म निरन्तररूपमा पाठकहरूसम्म पुग्दै आएको र आगामी दिनमा पनि अझै बढी परिष्कृतरूपमा पाठकहरूको मन जित्दै अगाडि बढोस् भनी शुभकामना व्यक्त गरे ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले प्रतीक दैनिकले अहिलेसम्म निष्पक्ष पत्रकारिता गर्दै आएको र यसलाई निरन्तरता प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा र पर्सा शाखा अध्यक्ष अनुप तिवारीले पनि पत्रकारिताको लागि प्रतीक दैनिक उदाहरणीय भएको र भेदभावरहित अहिलेसम्म पत्रकारिता विधालाई जीवन्तता प्रदान गर्दै आएको बताए ।

यस वर्षको सुबोध स्मृति पुरस्कारबाट पुरस्कृत झाले पत्रकारिता पेशा कठिन भएको र यसलाई अहिलेसम्म प्रतीकले विभिन्न आरोह–अवरोह पार गर्दै जीवित पार्दै आएको बताए । उनले अहिलेको प्रविधिको युगमा विभिन्न विधाका पत्रकारिता फस्टाएको र पत्रिकाहरूको अवस्था नाजुक भएकोले यसको संरक्षण स्थानीय तहले गर्नुपर्ने सुझाए । नगर, जिल्लाको धरोहर मेटिन नदिनका लागि महानगरलगायतका पालिकाहरूले यस विषयमा गम्भीर हुनुपर्ने उनले बताए ।
प्रतीक दैनिका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र सञ्चालन सम्पादक शत्रुघ्न नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here