प्रस, निजगढ, २ भदौ/
निजगढ नगरपालिकालाई एभोकाडो नगरको रूपमा अभियान चलाउने उद्देश्यले शनिवार बिरुवा रोपण, वितरण कार्य शुरू भएको छ । निजगढ–५ स्थित सार्वजनिक मावि परिसरमा शनिवार बिहान एभोकाडोको बिरुवा रोपण गरी अभियानको सुरुआत गरिएको थियो । एक घर दुई एभोकाडो बिरुवा हुर्काउनुपर्ने अभियानको थालनी गरिएको अभियानका मुख्य अभियन्ता रविराज दङ्गालले बताए ।

यो एउटा विशुद्ध सामाजिक अभियान हो । यस बिरुवाले वातावरणलाई स्वच्छ राख्न मदत पु¥याउने, यसको फल स्वास्थ्यबर्धक र बिक्री गर्दा एक बोटबाट वार्षिक ५० हजारसम्म आम्दानी लिन सकिने भएकोले पनि यस बिरुवाबाट प्रत्यक्ष, अप्रत्यक्ष दोहोरो फाइदा हुने मुख्य अभियन्ता दङ्गालले बताए ।

निजगढ–५ बागदेवमा रहेका विभिन्न छवटा टोल विकास संस्थाका ५५५ घरधुरीलाई दुई बोटका दरले ११ सय १० बिरुवा वितरण गरिएको एभोकाडो अभियान निजगढले जनाएको छ ।

अभियानको थालनी विद्यालय परिसरमा एभोकाडोको बिरुवा रोपण गरी सुरुआत गरिएकोमा अभियानले सार्थक पाउनेमा आफू आशावादी रहेको सार्वजनिक माविका प्रअ हस्तबहादुर लामाले बताए । बिरुवा प्राप्त गर्ने सबैले बडो मेहनतका साथ बिरुवालाई हुर्काउनुपर्ने दायित्व, जिम्मेवारी रहेजस्तै विद्यालय परिसरमा रोपण गरिएका बिरुवालाई नमूनाका रूपमा हुर्काउने दायित्व र जिम्मेवारी सार्वजनिक मावि परिवारको काँधमा आएको र सफल बनाउने प्रअ लामाले बताए ।

निजगढका १२ हजार घरधुरी र केही सार्वजनिक स्थानहरूमा गरी करीब २५ हजार बिरुवा आवश्यक पर्ने जनाउँदै २५ हजार रुपैयाँ खर्च गरी दुई सय बिरुवा आफूले नै खरीद गरी यस अभियानलाई उपलब्ध गराएको बताउँदै १२९ जना यस अभियानमा आर्थिक सहयोग र बिरुवा उपलब्ध गराउने गरी जोडिसकेको मुख्य अभियन्ता दङ्गालले जानकारी दिए । बिरुवा रोपण गरेको तीन वर्षमा फल दिन शुरू गर्ने यस अभियानलाई चार वर्षसम्म निरन्तरता दिइने अहिलेको योजना रहेको भन्दै बिरुवा हुर्काउनका लागि आवश्यक प्राविधिक सल्लाह, सुझावका लागि तत्कालै एकजना प्राविधिक उपलब्ध गराउने र आवश्यकता अनुसार थप गर्नेतर्फ पनि अभियानले आवश्यक कदम चाल्ने जनाइएको छ ।

कार्यक्रममा निजगढ–५ का अध्यक्ष सूर्यबहादुर थापामगर, समाजसेवी केदार गौतम, भोलाप्रसाद गौतम, हस्तबहादुर लामा, सन्तोष दङ्गाल, भीम सापकोटा, रामहरि खरेललगायतले अभियानको सफलताको कामना गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here