प्रस, परवानीपुर, २ भदौ/
पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको ४४ वर्षको अल्पायुमैं निधन भएको छ ।

उपचारको क्रममा शनिवार मध्याह्न साढे १२ बजे निधन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जनाएको छ । गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले उनको निधन हृदयघातबाट भएको चिकित्सकलाई उद्धृत गर्दै बताए । शनिवार बिहान ११ बजे गण परिसरमैं सुरक्षाकर्मीलाई ड्यिुटी खटाउने विषयमा निर्देशन दिइरहेका बेला अचानक अचेत भएर लडेपछि उनलाई उपचारको लागि नेपाल मेडिसिटी वयोधा अस्पताल लगिएको थियो ।

उनको निधनको समाचार सुनेपछि नेपाल प्रहरी मधेस प्रदेशका डिआइजी जनक भट्टराई, सशस्त्र प्रहरीका डिआइजी दीपेन्द्र शाह, पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, बाराका प्रजिअ नवराज सापकोटा, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उद्योगी अशोक बैद, सामाजिक अभियन्ता जयप्रकाश खेतानलगायतको टोली अस्पताल एवं गण परिसरमा पुगेर श्रद्धासुमन अर्पण गरेका थिए ।

२०६० सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थपलिया विवाहित हुन् । उनले समाजशास्त्र र सैनिक विज्ञानमा स्नातकोत्तर गरेका थिए । काठमाडौं–१० टोखामा बसोबास गर्ने थपलिया केही महीनाअघि पर्सामा सप्रउको जिम्मेवारी लिएर आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here