प्रस, वीरगंज, २ भदौ/
नेपाल आयल निगमले वीरगंजबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शनिवार वीरगंजबाट बिलिङ सेवा शुभारम्भ गरेका हुन् । उनले अब नेपाल आयल निगमको वीरगंज शाखाबाट अढाई वर्ष पहिलेदेखि बन्द भएको सेवा पुनः शुभारम्भ भएकोमा खुशी व्यक्त गरे । वीरगंज आसपासका पेट्रोलियम विक्रेतालाई वीरगंजबाट सेवा लिन सहज भएको उनले बताए । हाल वीरगंजबाट डिजेल र मटीतेल खरीद गर्न सकिन्छ । यसअघि पर्सा–बाराका पेट्रोलियम व्यवसायीले बाराको अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ खरीदको लागि बिलिङ गर्नुपर्ने बाध्यता थियो । २०७७ माघ दोस्रो सातादेखि अमलेखगंजमा बिलिङ गर्नुपर्ने व्यवस्था लागू भएपछि यस भेगका व्यवसायीहरू मर्कामा परेका वीरगंज पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष विनोद चौरसियाले बताए । उनले अब डिजेल र पेट्रोल पर्सा–बारामा ७५ पैसा कममा बिक्री वितरण हुने बताए ।

नेपाली काङ्ग्रेस, पर्साका सभापति तथा मधेस प्रदेशसभाका सदस्य जनार्दन सिंह क्षत्रीले नेपाल आयल निगमद्वारा वीरगंज शाखाबाट बिलिङ गर्ने कार्य शुरू भएकोमा प्रशंसा गरे । यसले यस भेगका व्यवसायीले छिटोछरितोरूपमा सुविधा लिन सक्ने बताए । कार्यक्रममा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, नेपाल आयाल निगमका महाप्रबन्धक उमेश थानी, उपमहाप्रबन्धकद्वय वीरेन्द्र गोइत र नागेन्द्र साह, अमलेखगंज डिपो प्रमुख विनीतमणि उपाध्याय, नेपाल आयाल निगम, वीरगंज शाखाका प्रमुख मनोज साह, पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष मनोज दास, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्व अर्याललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here