मस्को, २ भदौ/सिन्ह्वा
रूसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा मस्कोसँग वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताएका छन् ।

रूसलाई निमन्त्रण नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रले बहुपक्षीय बैठक गरेका छन् । विदेशमन्त्री लाभरोभले अन्तर्राष्ट्रिय मामिला पत्रिकासँगको शनिवारको अन्तर्वार्तामा भनेका छन् ।

सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रूसको बुझाइ र चाहनालाई भने पूर्णरूपमा अस्वीकार गरिएको छ । रूस सधैं फलदायी वार्ताको लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले कीभलाई मिन्स्क सम्झौता कार्यान्वयन गराउन वषर्Fैंदेखि प्रयास गरेको विदेशमन्त्रीको दाबी छ ।
विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता शुरू गर्ने युक्रेनको प्रस्तावमा रूसले प्रतिक्रिया दिएको थियो तर सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उनको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभरोभको आरोप छ । पश्चिमी प्रायोजकले लगातार युक्रेनलाई बिग्रँदो स्थिति थप भयावह बनाउन दबाब दिएका छन् । अहिले युक्रेनमा रूस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ ।

पश्चिमी राष्ट्रको वार्ताको आह्वान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रूसले बुझेको पनि मन्त्री लाभरोभले उल्लेख गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here