प्रस, सेढवा, ३० सावन/
पर्साका किसानहरूलाई वर्षेबाली धानको गोडमेल गर्न भ्याइनभ्याइ भएको छ । खासगरी जिल्लाको गण्डक नहरदेखि उत्तरतर्फका थरुहट क्षेत्रका किसानहरू विभिन्न प्रजातिका धानबालीको गोडमेल गर्न अहिले व्यस्त छन् । किसानहरू अहिले भदई मन्सुली, मनी मन्सुली, सोना मन्सुली तथा हाइब्रिड जातको धानबालीको गोडमेलमा लागेका छन् । रोपाइँको समयमा लामो समयसम्म पानी नपरेको तर रोपाइँपछि पानी पर्दा खेतमा झारपात नभए पनि आलीमा रहेका झारपातको सफाइमा लागेका छन् ।

जगरनाथपुर गाउँपालिकाका महेन्द्र रामले पानी नपरेकोले निकै समस्या भोगेर रोपाइँ गरेको बताए । रोपाइँपछि बाली गोडमेलमा लागेको उनले बताए । गोडमेल नगरे बाली उत्पादनमा निकै कमी हुने रामको भनाइ छ ।

जीराभवानी गापा–३ का तुलसीदास थारूले अगहनी धानबालीलाई एकपटक गोडमेल गरिसकेको बताए । तर भदैया तथा सारो जातिको धानबालीलाई दोस्रोपटक गोडमेल गरी बेहनी लगाइरहेको उनले बताए । बेहनी नलगाए बालीको बीचबीचमा हावा प्रवेश गर्न नपाउँदा विभिन्न खाले रोगको सङ्क्रमण हुने र उत्पादनमा कमी आउने थारूले बताए ।

आजको वैज्ञानिक युगमा विभिन्न क्षेत्रमा भएका विकाससँगै कृषि क्षेत्रमा पनि आधुनिकीकरण आएको छ र कीटनाशक औषधिको प्रयोग बढेको छ । धानबालीमा उम्रेका विभिन्न किसिमका झारपात मार्न कीटनाशक औषधि बजारमा आएका छन् । तर ती औषधिको प्रयोग गर्दा बालीमा नराम्रो असर पर्न सक्ने आशङ्काले सोको प्रयोग न्यून मात्रामा केही मात्र किसानले गर्दै आएका
छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here