मस्को, ३० साउन/एएफपी
रूसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एउटा पेट्रोलपम्पमा आगलागीसँगै विस्फोट हुँदा ३३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् ।
आपत्कालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्पमा सोमवार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरूपमा निभाइएको छ ।
रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ ।
दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँग कुरा गर्दै दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरवाहीका कारण घटना भएको हो वा होइन भन्ने यकीन भइ नसकेको बताएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजीकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । रासस