प्रस, वीरगंज, २८ साउन/
सङ्घीय सरकारले ल्याउन लागेको शिक्षा ऐनको मस्यौदाको विरोधमा आइतवार पर्सा र बाराका पालिकाहरूमा नेपाल शिक्षक महासङ्घले धर्ना र ज्ञापनपत्र बुझाएको छ । नेपाल शिक्षक महासङ्घको आह्वानमा आज वीरगंज महानगरपालिका कार्यालयअगाडि महासङ्घ वीरगंज महानगरको आयोजनामा तीन घण्टा धर्ना दिएर प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष विनोद मेहताले ज्ञापन बुझाएका थिए ।

नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष प्रदीप जैसवालले जिल्लाका १४ वटै पालिकामा तीन घण्टा धर्ना बसेर स्थानीय महासङ्घका नेतृत्वले प्रमुख प्रशासकीय अधिकृतहरूलाई ज्ञापनपत्र बुझाएको बताए । उनले केन्द्रीय आह्वानमा आज देशभर शिक्षक महासङ्घले सरकारले ल्याउन लागेको शिक्षा ऐनको मस्यौदा विद्यालय शिक्षक, कर्मचारी, कार्यालय सहयोगी र बाल विकास शिक्षिकाको अधिकारविपरीत भएकाले विरोध गरिएको बताए । उनले मस्यौदाको विरोधमा निरन्तर आन्दोलन गरिने बताए ।

प्रस, भिस्वा/
नेपाल शिक्षक महासङ्घ छिपहरमाई गापाको आह्वानमा आज गापा कार्यालयमा महासङ्घ छिपहरमाई गापाका अध्यक्ष प्रभु गिरीको नेतृत्वमा तीन घण्टा धर्ना दिएर शिक्षक महासङ्घले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष गिरीले केन्द्रीय आह्वानमा आज धर्ना र ज्ञापनपत्र बुझाएको र कार्यक्रममा गापामा रहेका सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको बताए ।

प्रस, बिरुवागुठी/
पर्सागढी नगरपालिकाका शिक्षक, कर्मचारीहरू आइतवार सरकारले ल्याउन लागेको शिक्षा ऐनको मस्यौदाको विरोध गर्दै नपा कार्यालयमा बिहान ११ देखि २ बजेसम्म धर्ना दिए र नगरप्रमुख गोकर्ण पाठक र प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईलाई ज्ञापनपत्र बुझाए । महासङ्घ पर्सागढी नपाका संयोजक रामबहादुर चौधरीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापन बुझ्दै नगरप्रमुख पाठकले शिक्षक, कर्मचारीहरूको जायज मागप्रति आफ्नो ऐक्यबद्धता रहेको बताए । कार्यक्रममा महासङ्घका केन्द्रीय प्रतिनिधि बिन्दादास थारू, प्रदेश प्रतिनिधि रामआशिषप्रसाद यादव, पर्सा जिल्ला प्रतिनिधि रामबालकप्रसाद यादव, नेपाल शिक्षक सङ्घ पर्सागढीका संयोजक योगेन्द्रप्रसाद चौधरी, नेपाल शिक्षक सङ्गठन पर्सागढीका संयोजक राजेन्द्रप्रसाद थारूलगायत शिक्षक, कर्मचारीहरूको सहभागिता थियो ।

प्रस, सिम्रौनगढ/
बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूले आज सिम्रौनगढ नगरपालिकाको मूलद्वारमा तीन घण्टा धर्ना दिएर प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्र चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् । नगर शिक्षक महासङ्घका अध्यक्ष उमाशङ्कर यादवको अध्यक्षतामा बसेको धर्नामा सहभागी शिक्षकहरूले सरकारले ल्याउन लागेको शिक्षा ऐनको मस्यौदाको विरोध र यसअघि सरकारले महासङ्घसँग गरेको ५१ बुँदे माग सम्बन्धमा गरिएको ३१ बुँदे सहमतिप्रति ध्यानाकर्षण गराउने उद्देश्य रहेको बताए । सिम्रौनगढ नपा शिक्षा संयोजक कमलेश अग्रहरि, कङ्काली माविका प्रअ धु्रव कुशवाहा, नेरामावि बसवरियाका उमाशङ्कर यादव, नेरामावि खाजीका कामेश्वर प्रसाद, शिक्षक बृजकिशोर यादव, सुरेश सहनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here