प्रस, वीरगंज, २६ साउन/
पर्सा जिल्लामा सिंचाइको कारण धान रोपाइँ प्रभावित भएको छ । यसअघिका वर्षहरूमा मल अभावमा धानलगायतका बालीहरू प्रभावित हुँदै आएका थिए । यसपटक भने मलको अभाव नभएको तर समयमा सिंचाइ सुविधा नहुँदा धान रोपाइँ अहिलेसम्म पूरा हुन सकेको छैन ।

कृषि ज्ञान केन्द्र, पर्साका बाली अधिकृत सुरेश चौरसियाले वर्षा भएसँगै अहिले तीव्र गतिमा रोपाइँ भइरहेको र एक सातामा पर्सा जिल्लामा धान रोपाइँ सकिने बताए । उनले सिंचाइ सुविधा भएको पर्साको गण्डक नहरदेखि उत्तरी क्षेत्र थारुवानमा यसअघि नै रोपाइँ भइसकेको तर नहरदेखि दक्षिण बझियानमा भने पर्याप्त वर्षापछि रोपाइँले गति लिएको बताए ।

थारुवान क्षेत्रमा सिंचाइको रूपमा कुलो, डीप बोरिङ रहेका र यसपटक गण्डक नहरमा पानी ढिलो आएको र वर्षा पनि ढिलो भएपछि यस क्षेत्रका किसानहरूले वैकल्पिक सिंचाइको प्रयोगबाट धानको बीउ छर्ने, र धान रोपाइँ कार्य सम्पन्न गरेका थिए ।

बझियानका किसानहरूलाई भने सिंचाइको एक विकल्प वर्षा समयमा नहुँदा धानको बीउ छर्न र रोपाइँ गर्न समस्या भएको थियो । गण्डक नहरमा असार १५ सम्म भारत सरकारले पानी नदिएको र बझियान क्षेत्रमा सिंचाइका अन्य विकल्प डीप बोरिङ, कुलो आदिको व्यवस्था नहुँदा थोरै सङ्ख्यामा किसानहरूले धान रोपाइँ गरेका थिए ।

सिंचाइको समस्याका कारण यसपटक जिल्लाको धानखेती प्रभावित हुने देखिएको छ । अहिले मलको खासै समस्या नरहेको किसानहरूले बताएका छन् । शुक्रवार सखुवाप्रसौनीमा सहकारीमार्फत किसानहरूले सहजरूपमा मल पाएको बताए ।

यसैगरी, कृषि सामग्री कम्पनी, वीरगंजमा मलको मौज्दात रहेको र थप मल देशभरिका लागि ३० हजार मेट्रिक टन भारत भएर आउने क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीले डिएपी छ सय मेटन, पोटास सात मेटन र युरिया नौ सय मेटन मौज्दात रहेको जानकारी गराएको छ । धानखेतीमा रोपाइँको २१ दिनपछि मलको आवश्यकता पर्छ । एक बालीमा दुईदेखि तीनपटकसम्म मलको प्रयोग हुने गरेको किसानहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here