नितेश कर्ण, वीरगंज, २६ साउन/
मानव तस्करीविरोधी एकाइ क्षेत्रीय एकाइ बेतियाका इन्स्पेक्टर मनोज शमा नेतृत्वको टोलीले लखनउको एउटा मदरसाबाट १८ जना बालकको उद्धार गरेको छ भने तीनजनालाई पक्राउ गरेको छ ।

लखनउबाट पहिला छजना बालकको उद्धार गरिएको थियो र एकजनालाई पक्राउ गरिएको इन्स्पेक्टर शर्माले बताए । राष्ट्रिय बाल संरक्षण आयोग, नयाँ दिल्लीकी सदस्य डा सुचिता चतुर्वेदी, उत्तरप्रदेश राज्य बाल संरक्षण आयोग, लखनउकी सङ्गीता शर्माको संलग्नतामा पक्राउ परेका एकजनासँग सोधपूछ गर्दा लखनउको सदरौनामा बनेको मदरसामा थप १२ जना बालक रहेको सूचना पाएपछि सो स्थानमा छापा मारी १२ जना बालबालिकाको उद्धार गरिनुका साथै सो स्थानबाट दुईजनालाई पक्राउ गरिएको थियो ।

छापामारीको क्रममा मदरसा अवैधरूपमा सञ्चालित रहेको र त्यहाँ बालकहरूलाई उर्दू पढाउने नाममा कपडा ब्याग बनाउने कार्यमा खटाएको पाइएको इन्स्पेक्टर शर्माले बताए । मदरसा कानूनीरूपमा दर्ता नरहेको, उर्दूको अध्ययन नहुने र त्यहाँका बालबालिकाहरूको बसाइ पनि राम्रो नभएको उनले बताए । उर्दू अध्ययनका लागि लगिएका बालकहरूसँग श्रम शोषणका काम भएको पाइएपछि उनीहरूको सफल उद्धार गरेर संलग्न तीन व्यक्तिलाई नियन्त्रणमा लिएको उनले जानकारी गराए ।

इन्स्पेक्टर शर्माले छजना बालकलाई शुरूमा मोतिहारीमा रोकिएको र बाल कल्याण समिति, मोतिहारीको जिम्मा नलगाएर बालकलाई उर्दू पढाउन लग्ने व्यक्तिकै जिम्मामा छाडिएको बताए । पछि आफूसहितको टोलीले उनीहरूलाई लखनउको बसबाट उद्धार गरेको इन्स्पेक्टर शर्माले बताए । यो मिसनमा मानव तस्करविरोधी एकाइ, एसएसबी बिहारका वीरेन्द्रकुमार सिंह, मुक्ति फाउन्डेशन, नयाँ दिल्लीकी सङ्गीता शर्मा, चाइल्ड लाइन लखनउका ग्याँसुद्दीन खाँ र अल्पसङ्ख्यक विभाग लखनउका श्याम त्रिपाठीलगायतको संलग्नता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here