प्रस, वीरगंज, २६ साउन/
निजी विद्यालयका सञ्चालकहरूको संस्थाले आफ्नो आन्दोलनका थप कार्यक्रमहरू फिर्ता लिएका छन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधानमन्त्री, मन्त्री र सरकारका मुख्यसचिव, सचिवहरूसँगको बैठकमा सहमति भएसँगै यही साउन २८ गते आइतवारदेखि घोषणा गरिएको अनिश्चिकालीन निजी विद्यालय बन्द कार्यक्रम फिर्ता लिएको प्याब्सन, हिसान र एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, हिसानका अध्यक्ष रमेश सिलवाल र एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले सरकारसँगको वार्तापछि विज्ञप्ति जारी गर्दै आजपछिका सबै घोषित आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको बताएका छन् । विज्ञप्तिमा सरकारी पक्षबाट आन्दोलनरत पक्षका मागहरू सम्बोधन गरिने आश्वासन पाएपछि आन्दोलन स्थगित गरिएको उल्लेख छ । सरकारको मन्त्रिपरिषद्ले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० पारित गरेको विरोधमा निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन, हिसान र एन–प्याब्सन आन्दोलित भएका थिए ।

यो विधेयक अनुसार निजी विद्यालयहरू कम्पनीबाट निजी गुठीतर्फ पाँच वर्षभित्रमा जानुपर्ने प्रावधान थियो । सरकारले निजी विद्यालयहरूलाई कम्पनीमा दर्ता गरेपछि यो क्षेत्रमा ठूलो लगानी भएको र निजी गुठीमा जानुपर्ने सरकारी प्रावधान लागू हुँदा लगानी प्रभावित हुनका साथै निजी क्षेत्रका विद्यालयहरू तहसनहस हुने भन्दै निजी विद्यालय सञ्चालकहरू विरोधमा उत्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here