प्रस, वीरगंज, २६ साउन/
पप्पु कन्स्ट्रक्सनले पुल र सडक निर्माणको क्रममा उधारो लिएका निर्माण सामग्रीको भुक्तानी नगरेको भनेर १८ जनाले प्रहरी, प्रशासनमा उजूरी गरेको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
पप्पु कन्स्ट्रक्सनविरुद्ध आज नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी १८ जनाले २०७८ असोज ६ गतेदेखि पप्पुको ठेकेदारीमा निर्माण भइरहेका पुल र सडकको काममा बालुवा, छरी २०७९ कात्तिक २४ गतेसम्म सप्लाई गरेको र सोको हिसाबकिताब गर्न २०८० जेठ १७ गते जाँदा पप्पु कन्स्ट्रक्सनका सञ्चालकसहित जिम्मेवार व्यक्तिहरूले हिसाब दिन नमानेको र उल्टो धम्क्याएर पठाएको आरोप लगाए ।
१८ जना ठेकेदारमध्ये कम्तीमा ५० हजारदेखि बढीमा साढे सात लाख रुपैयाँसम्म बक्यौता रहेको उनीहरूले बताए । पप्पु कन्स्ट्रक्सनका हरिनारायण रौनियार, सुमित रौनियार, मुन्सी राजेन्द्र महतो, लेखापाल सुशील ठाकुर र कारिन्दा शुभनारायण हजामविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् । उजूरीकर्ताहरूले पप्पुले काम गराएको तर भुक्तानीका लागि जाँदा मानिसहरू लगाएर बक्यौता छैन, जहाँ खोज्छस् खोज, यहाँबाट जा भनेर कुटपिटसमेत गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
यसबारेमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियारसँग बुझ्दा उनले आफूहरूमाथि गलत आरोप लगाएर बदनाम गर्न खोजिएको बताए ।
सञ्चालक रौनियारले जिल्ला प्रहरी कार्यालयमा यसबारेमा छलफल हुँदा निजहरूसँग हिसाब माग गरिएको तर बक्यौताको कुनै भरपाई पेश नगरेको बताए । उनले उजूरीकर्ता १८ जनालाई राधा ठाकुर लोहार भन्ने व्यक्तिले सिर्जना गरेको र निज लोहारविरुद्ध आफूले पर्सा जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको बताए ।
लोहारले आफूसँग काम गरेबापत रु २५ लाख भुक्तानी बुझेर लगेको बिल भरपाई भएको र अहिले १७ जना गलत व्यक्ति खडा गरेर बदनाम मात्र गर्ने कार्य भएको बताएका छन् । बक्यौता रहेका व्यक्तिको िहसाब दिन आफू तयार रहेको तर उजूरी गरेर मात्र बदनाम गर्न खोजिएको उनले बताए ।