प्रस, सिम्रौनगढ, २५ साउन/
सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढस्थित नगर अस्पताल बिहीवार २६औं दिन पनि बन्द रह्यो ।

असार ३१ गतेदेखि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीहरू ताला बन्द गरी हडतालमा बसेकाले अस्पतालको सेवा बन्द भएको हो । २०७८ जेठ २१ गते पूर्वनगरप्रमुख विजयशङ्कर यादवले अस्पतालको उद्घाटन गरेपछि नगर अस्पताल सञ्चालनमा आएको थियो । अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी २४ जना कार्यरत छन् । २४ जनामध्ये चारजना स्थायी र बाँकी करार, अस्थायी ज्यालादारी छन् । त्यहाँ कुनै पनि कर्मचारीले पूर्णरूपमा तलब पाएका छैनन् । कम्तीमा तीन महीना र बढीमा १४ महीनासम्मको तलब बाँकी रहेको उनीहरूले बताए ।

१५ शøयाको यो अस्पतालबाट सिम्रौनगढ र आसपासका मानिसहरूले सेवा पाइरहेका थिए । २४ घण्टे सेवाका कारण अस्पतालप्रति स्थानीयको आकर्षण बढेको थियो र पहिलो उपचार यसै अस्पतालमा हुँदै आएको थियो । अहिले २६ दिनदेखि स्वास्थ्यकर्मी र कर्मचारी तलब माग गर्दै अस्पतालमा तालाबन्द गरी हडतालमा छन् तर जनप्रतिनिधिहरूले आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनतर्फ पहल गरेका छैनन् । स्वास्थ्यकर्मी, कर्मचारीहरू अहिले आलोपालो अस्पतालमा धर्ना दिंदैछन् । बिरामीहरू भने आज खुल्छ, भोलि खुल्छ भनेर दिनहुँ अस्पतालमा आउने तर सेवा नपाएर फर्कने गर्छन् । स्वास्थ्यजस्तो संवेदनशील ठाउँका कर्मचारीहरू २६ दिनदेखि हडतालमा बसेका भएपनि नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरूले बोर्ड बैठक गरेर समस्याको समाधानतर्फ पहल गरेका छैनन् । उनीहरूबीच आपसी द्वन्द्व रहेको र यो अवधिमा तीनपटक बैठक बोलाइएको तर बस्न नसकेको नगरपालिका कार्यालयका कर्मचारीले बताए । यसबारेमा नगरप्रमुख किशोरीप्रसाद कलवारले अस्पताल सञ्चालनका लागि हालसम्म रु ९६ लाख दिइसकेको तर त्यसको हरहिसाब प्रस्तुत नगरिएको बताउँछन् । नगर अस्पतालका चिकित्सक डा जीतेन्द्र यादव जनप्रतिनिधिहरूको बैठक बसेको बखत अस्पतालको सम्पूर्ण गतिविधि प्रस्तुत गर्ने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here