प्रस, निजगढ, १९ साउन/

तीन दिनअघि हत्कडीसहित प्रहरीको कब्जाबाट गाउँलेले खोसेर फरार गराइएका टाँगियाबस्तीका ३५ वर्षीय सागर लामाले अन्ततः प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले म्याद थपका लागि बारा जिल्ला अदालत लगेको र हिजोको मितिले पाँच दिनको म्याद थप गरिदिएको इप्रका, निजगढले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीस्थित सागरको घरमा स्वचालित बन्दुक, हातहतियारसहित संरक्षित वन्यजन्तुहरूका हाडखोर (ओखटोपहार) रहेको विशेष सूचना पाएपछि इप्रका, निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको प्रहरी टोली मङ्गलवार बिहान छापा मारी गर्न पुगेको थियो ।

उनको घरलाई प्रहरीले घेरा हाली छापामारी गर्दा उनीसहित एक थान बारुद भरिएको भरुवा बन्दुक, एक पाउ बारुद, छर्रा दुईवटा, जङ्गली जनावरका दाँत जस्तो देखिने दुईवटा, जनावरका रौं १३ वटा, जनावरका नङ्ग्रा तीनवटा बरामद गरिएपछि सर्जमिन मुचुल्का गरी प्रहरी टोली इप्रका, फर्कने क्रममा करीब दुई÷तीन सय स्थानीय महिलालगायतले बाटो अवरुद्ध गर्दै प्रहरीसँग घम्साघम्सी, हातपात गरी प्रहरीको नियन्त्रणबाट सागरलाई हत्कडीसहित खोसेर तत्कालै भगाउन सफल भएका थिए ।

टाँगियाबस्तीमा एकाबिहानै नेपाल प्रहरीको असफलताले थप सुरक्षा चुनौती थपिएको भन्दै स्थानीय सर्वसाधारणसहित जनप्रतिनिधिहरू चिन्तित बन्न पुगेका थिए । हत्कडीसहित प्रहरी नियन्त्रणबाट अभियुक्तलाई गाउँलेहरूले खोसेर भगाएका घटनालाई गम्भीरताका साथ जिल्लास्थित सुरक्षा निकायले लिई फरार अभियुक्त सागर अन्यत्र भाग्न सक्ने भन्दै नाकाहरूमा कडा निगरानी गर्न  निर्देशनसमेत दिइएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको थियो ।

प्रहरीले फरार अभियुक्त सागरका परिवार, आफन्तलाई दबाब दिई उनलाई प्रहरीको सम्पर्कमा आउन भनेपछि त्यस दिन भागेर जङ्गलमा लुकेका सागरले अन्यत्र जान सक्ने अवस्था तत्कालै नदेखेपछि उनी इप्रका, निजगढको सम्पर्कमा आएको बुझिएको छ । हत्कडीसहित भगाइएका सागरको हातमा हत्कडी नभए पनि दुई टुक्रा पारिएको अवस्थामा प्रहरीलाई उक्त हत्कडीसमेत बुझाएको निजगढ प्रहरीले जनाएको छ । टाँगियाबस्तीबाट आउँदै गरेको अवस्थामा राजमार्गको निजगढ बुद्धचोक आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको निमित्त प्रमुख एवं वरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले बताए ।

 “टाँगियाबस्तीका सागर लामालाई हत्कडीसहित भगाएका र भागेकालाई सहजसँग नियन्त्रणमा लिन सक्ने अवस्था नभए गोली हानेर नियन्त्रणमा लिन आदेश थियो,” प्रहरी स्रोतले भन्यो । त्यस बेला घटनास्थलमा खटिएका प्रहरीले निकै संयमता, धैर्यता अपनाउँदै कुनै जनधनको क्षति नहोस् भन्दै भीडलाई तितरबितर गर्न आत्मरक्षाका लागि पाँच राउन्ड हवाई फायर गरी रित्तो हात फर्केको थियो ।

उनीमाथि अवैध हतियार, खरखजाना, हत्कडीसहित फरार, वन्यजन्तु (ओखटोपहार)लगायत अनुसन्धानबाट अन्य थप तथ्य प्रमाण खुलेको र सोको आधारमा मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

बन्दुक, वन्यजन्तु बाघको हाडखोर (ओखटोपहार) जस्तो देखिने वस्तुसहित नियन्त्रणमा लिन सफल भएकोले उनीसँग वन्यजन्तु चोरी शिकारीका ठूलो गिरोहको कनेक्सन हुन सक्ने भन्दै यस घटनालाई सूक्ष्म तरीकाले सम्बन्धित सरोकारवाला निकायहरूले अनुसन्धान गर्नुपर्ने बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here