- श्रीमन्नारायण
चीनले आफ्ना विदेशमन्त्री छिन काङ्गलाई पदमुक्त गरेको एक साता भइसकेको छ । एक महीनादेखि सार्वजनिकरूपमा देखा नपरेका उनलाई गत साता पदबाट हटाइएको हो । उनी सात महीनाअघि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए । उनलाई हटाइनुको आधिकारिक कारण र उनको अवस्थाबारे चीनले केही पनि खुलाएको छैन तर यस सम्बन्धमा विभिन्न किसिमका अनुमानहरू चर्चामा छन् । उनको स्थानमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला प्रमुख वाङ्ग यीलाई नियुक्त गरिएको छ । चीनका नीति निर्माताहरूले उनलाई पदमुक्त गर्ने र वाङ्गलाई विदेशमन्त्री बनाउने पक्षमा मतदान गरेका थिए, जसलाई राष्ट्रपति सी जिनपिङले पनि स्वीकृत गरेका छन् । काङ्गको नियुक्तिअघि चीनको विदेशमन्त्री वाङ नै थिए । हुनत कुनै पनि देशका सरकार प्रमुखलाई आफूलाई सहज हुने खालको मन्त्रिपरिषद् बनाउने अधिकार हुन्छ तर एक महीनासम्म अज्ञात अवस्थामा रहेका मन्त्रीको ठाउँमा नयाँ व्यक्तिको नियुक्तिले बढी चर्चा पाउनु स्वाभाविकै हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्वासपात्र मानिएका ५७ वर्षीय काङ्ग गत डिसेम्बरमा चीनका विदेशमन्त्री भएका थिए । विदेशमन्त्री हुनुअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूत थिए । लामो समयदेखि सार्वजनिकरूपमा देखा नपरेपछि उनलाई पदमुक्त गर्न लागिएको अनुमान गरिएको थियो । श्रीलङ्का, भियतनाम र रूसका पदाधिकारीसँग गत जून २५ मा भेट गरेपछि उनी सार्वजनिकरूपमा देखा परेका थिएनन् । अन्तिमपटक सार्वजनिक कार्यक्रममा उनी रूसी उपविदेशमन्त्री एन्ड्री रुन्देन्कोसँग देखिएका थिए । त्यसपछि गत जुलाई ४ मा काङ्ग र युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेफ बोरेलबीचको भेटवार्ता चीनले रद्द गरेको थियो । हालै चीन भ्रमणमा रहेका उच्च अधिकारीहरूसँग पनि उनले भेट गरेका थिएनन् । यस्तै, इन्डोनेशियाको जकार्तामा भएको आसियान देशहरूको विदेशमन्त्रीको बैठकमा पनि उनी सहभागी भएनन् । स्वास्थ्यका कारण उनी उपस्थित हुन नसकेको चीनले बताएको थियो । उनलाई बेइजिङको प्रतिनिधिमण्डलको प्रमुखबाट हटाइएको थियो । उनको अनुपस्थितिका बारेमा उनले नेतृत्व गरेको चिनियाँ विदेश मन्त्रालयले कुनै पनि जानकारी दिएको थिएन ।
५७ वर्षीय यी चिनियाँ राजनीतिज्ञ पछिल्लोपटक नयाँ वर्षको बिदाको बेलामा करीब आठ दिन सार्वजनिक समारोहमा उपस्थित भएका थिएनन् । निवर्तमान चिनियाँ विदेशमन्त्री ग्याङ र युरोपेली सङ्घका विदेश नीति प्रमुखबीचको वार्ता पछि धकेलिएपछि चीनले युरोपेली सङ्घलाई वार्ताको निम्ति नयाँ मिति तोक्न आग्रह गरेको थियो तर युरोपेली सङ्घले भने नयाँ मिति तोक्न अब सम्भव नभएको बताएको थियो । बेइजिङले यसबारे थप स्पष्टीकरण दिएन । अमेरिकी सञ्चारमाध्यम रायटर्समा प्रकाशित समाचार अनुसार बोरेलको बेइजिङमा निर्धारित आगमनको दुई दिनअघि मात्र कार्यक्रम स्थगित भएको जानकारी उनलाई गराइएको थियो । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेसँग चिनियाँ राष्ट्रपतिको भेटका क्रममा पनि ग्याङ्ग पुनः एकपटक अनुपस्थित थिए । जुलाईको शुरूमा सम्पन्न टे«जरी सेक्रेटरी जेनेट येलेन र जलवायुदूत जोन केरीको भ्रमणका क्रममा पनि उनी चिनियाँ अधिकारीहरूसँग कार्यक्रममा उपस्थित थिएनन् । उनको अनुपस्थितिको बारेमा चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’मा पनि व्यापक खोजी र चर्चा हुन थालेको समाचार एजेन्सी गार्जियनले छापेको थियो । खोज इन्जिन ‘बाइड्र’मा उनको विषयमा खोजी गर्नेको सङ्ख्या गत साता २८ गुनाले बढेको छ । ग्याङ्ग कहाँ छन् ? भन्ने विषयमा प्रतिदिन तीन लाख ८० हजारले खोजी गर्ने गरेको रायटर्स समाचारमा उल्लेख छ ।
ग्याङ्गको अनुपस्थितिका विषयमा कूटनीतिक समुदायमा पनि व्यापक छलफल शुरू भएको छ । केहीले यस घटनालाई चीनको पारदर्शिताको अभावको संज्ञा दिएका छन् । विश्वमा चीनको हैसियत र प्रभावलाई ध्यानमा राख्दै यहाँका विदेशमन्त्री २० दिनभन्दा लामो समयदेखि सार्वजनिकरूपमा नदेखिनु साँच्चै अनौठो कुरा भएको कम्युनिस्ट पार्टीले सञ्चालन गरेको एक पत्रिकाका पूर्वसम्पादक डेङ युवेनले सिएनएनलाई प्रतिक्रिया दिएका थिए । युवेन हाल अमेरिकामा बस्छन् ।
ग्याङ्गको चिनियाँ पत्रकार फु सियाओटिमनसँगको सम्बन्धको हल्ला चलेकाले उनी बेपत्ता हुनुमा यो पनि एक कारण हुन सक्ने अनुमान न्यूयोर्क टाइम्सले गरेको छ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले आफ्नो कार्यकर्ताहरूलाई विवाहेत्तर सम्बन्धमा प्रतिबन्ध लगाएको छ । यसको अनुशासन विभागले वरिष्ठ अधिकारीहरूलाई भ्रष्टाचारको आरोप लगाउँदा प्रायः यस्तै सम्बन्धका विषयहरू निकाल्ने गरेको छ । चिनियाँ पत्रकारसँग ग्याङ्गको सम्बन्धका विषयमा प्रस्ट्याउँदै विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कुनै जानकारी नभएको जवाफ दिएका थिए । अमेरिकासँगको उनको निकटताका कारण पनि उनलाई नजरबन्दमा राखिएको हुन सक्ने अनुमान पनि गरिंदैछ । ग्याङ्गलाई चिनियाँ राजनीतिमा एक प्रभावशाली नेताको रूपमा लिइन्छ । करीब दुई वर्षभन्दा छोटो समयका लागि अमेरिकी राजदूतका रूपमा सेवा पुर्याएपछि उनी गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त भएका थिए । उनले मन्त्रीको पद सम्हालेयता चीन–अमेरिका सम्बन्ध सुधार्ने प्रयास गर्दै आएका थिए । चीन–अमेरिका सम्बन्ध सुधार्न बेइजिङ आएका पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको चीन भ्रमण सकिए लगत्तै ग्याङ्गलाई पदमुक्त गरिएको छ ।
अनुभवी कूटनीतिज्ञका रूपमा काङ्गलाई गत वर्ष विदेशमन्त्री नियुक्त गरिंदा चिनियाँ राजनीतिक वर्गले आश्चर्य मानेको थियो । छोटो समयमा नै उनले विदेशमन्त्रीमा छलाङ्ग मारेको टिप्पणी भएको थियो । राष्ट्रपति सीको विश्वासपात्र भएका कारण उनको नियुक्ति सम्भव भएको अनुमान गरिएको थियो । उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको उदीयमान नेता मानिएको थियो । सन् १९८० को उत्तराद्र्धदेखि उनले विदेश मामिलासम्बन्धी विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता पनि भएका थिए ।
छिनलाई राष्ट्रपति सी आफैंले अघि ल्याएका थिए । उनलाई केही समस्या छ भने त्यसको असर सीलाई पनि पर्छ । राष्ट्रपति सीले विदेशमन्त्रीमा सही व्यक्तिलाई छनोट गर्न नसकेको सन्देश पनि गएको टिप्पणी कम्युनिस्ट पार्टी पत्रिकाका पूर्वसम्पादक देङ युवेनको रहेको छ । पुनः विदेशमन्त्री भएका वाङ यसअघि सन् २०१३ देखि २०२२ सम्म सोही जिम्मेवारीमा थिए । यो साता दक्षिण अफ्रिकामा भएको तीव्र आर्थिक विकास गरिरहेका ब्रिक्स देशहरूको सुरक्ष्ाँ मामिलासम्बन्धी बैठकमा पनि सहभागी भएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको शासन भएको चीनमा राष्ट्रपतिको विरुद्धमा काम गर्नु भनेकै आफूलाई राजनीतिबाट बिदा गर्नु हो । कुनै समयमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावशाली सदस्य तथा स्कूल विभागमा प्राध्यापक रहेका काई झिया वर्षौंदेखि अमेरिकामा निर्वासनसरह जीवन बिताइरहेका छन् । राष्ट्रपति सी जिनपिङको आलोचना गरेकै कारण उनी दूधबाट झिंगालाई निकालेर फालिएझैं फालिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं काङ्ग्रेससभामा सी जिनपिङलाई चुनौती दिने सम्भावना रहेकाहरूलाई जरैबाट उखेल्ने काम भइसकेको छ । आफ्ना प्रतिद्वन्द्वीको राजनीतिक भविष्यलाई समाप्त पार्ने काम लोकतन्त्रवादी दलहरूमा पनि हुने गर्छ तर त्यहाँ बहुदलीय व्यवस्था भएका कारण व्यक्ति दल परिवर्तन गरी आफ्नो योग्यता र क्षमताको भरमा पुनः आफ्नो स्थान हासिल पनि गर्न सक्छन् तर निर्दलीय अथवा एक दलीय व्यवस्थामा यस्तो हुँदैन । सी जिनपिङअघिका दश वर्ष पार्टीका महासचिव र चीनको राष्ट्रपति रहेका र सबैले मानेका नेता हु जिन्ताओलाई काङ्ग्रेसको महाधिवेशनबाट जसरी निकालिएको थियो त्यो अति नै मार्मिक दृश्य थियो । उनको छेउमा नै राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङ पनि बसेका थिए । कसैले उनलाई अस्वस्थ भएकै कारण निकालिएको त कसैले सुनियोजितरूपमा निकालिएको टिप्पणी गरेका थिए । अब चीनले वाङ यीलाई नयाँ विदेशमन्त्रीको रूपमा नियुक्त गरिसकेको छ । यस्तो अवस्थामा काङ्गको चर्चा पनि अब अर्थहीन हुँदै जानेछ किनभने चीनमा यो सामान्य घटना हो ।