- डा शिवशङ्कर यादव
पाठकवृन्द तपाईंलाई लाग्ला मानसिक रोगको वर्णन गर्न हिंडेको मान्छे विष विज्ञानको पो वर्णन गर्न थालें । त्यसो होइन, विष–विज्ञान एउटा ठूलो चैप्टर हो जसमा म पछि आउने छु । अहिले त केवल त्यही ओषधिको वर्णन गर्दैछु जसले नर्भस सिस्टममा डिजार्डर पैदा गर्छ । त्यसै सन्दर्भमा विषाक्तताको वर्णन गर्नु अनिवार्य थियो । अब केही तीन चारवटा ड्रग बँँकी छन् जसले मानसिक समस्या पैदा गर्छ । रोचक कुरा के छ भने ती औषधिको निर्माण मानसिक रोगको औषधिको रूपमा नै भएको हो । मतलब जो मानसिक समस्याको औषधि हो, त्यसैले मानसिक रोग पनि पैदा गर्न सक्छ यदि डोज सन्तुलित रहेन भने । आज जुन ड्रगको वर्णन हुँदैछ त्यो पूर्णतः प्रयोगशाला उत्पादित (सिन्थेटिक) हो, प्राकृतिक होइन । त्यस्ता मुख्य ड्रग्स हुन्– एम्फेटामिन, बार्बिचुरेट, एलएसडी र बेन्जोडाइजिपीन तथा अरू थुप्रै पनि । तर आजको लेखमा उपरोक्त चार ड्रगको छोटकरीमा वर्णन गरिने छ ।
एम्फेटामिन ः यसलाई १८८७ मा एडिलिआनोले बनाए तर १९३२ देखि अस्थमा र राइनाइटिसमा इन्हेलरको रूपमा यसको प्रयोग शुरू भयो । यसको अतिरिक्त यो पोस्टइन्सेफेलाइटिस, पार्किन्सन, डिप्रेशन, मोटापा कम गर्ने र शक्ति र क्षमता बढाउनको लागि पनि प्रयोग हुन्छ । यो एउटा सिरेब्रल उत्तेजक ओषधि हो । यसले नरइपिनेफ्रिन, डोपामिन र सिरोटिनिनलाई बढाउने काम गर्छ । यसको गलत प्रयोग विद्यार्थीहरूले गरेको देखिन्छ । पढ्दा निद्रा नलागोस् र थकान पनि नहोस् भनी विद्यार्थीहरूले प्रयोग गरेको देखिन्छ । दिनहुँ खाँदा अझ बढी खाने इच्छा लाग्छ र बानी बस्छ । यसको बढी मात्राले धडकन, उच्च रक्तचाप, रक्तस्राव, हर्टफेल्योर, मुर्छा, ज्वरो, ट्रेमर, आत्मरति, आँखाको नानी फैलिने हुन्छ तथा मान्छे कोमामा पनि जान सक्छ । अरू लक्षणमा चिन्ता, कष्ट, अनिद्रा, बेचैनी, चिडचिडापन आदि देखिन्छ । अब प्रश्न उठ्छ यति बिघ्न खराबी गर्ने औषधिको के काम ? कुरा के भने चिकित्सकको देखरेखमा यो औषधि हो तर जथाभावी प्रयोग गरेमा विष हो र मानसिक विकृतिको पनि कारण हो । लामो समय प्रयोग गरियो भने यसले रोक्न नसकिने क्रेभिङ हुन्छ । बानी परेको मान्छे यसको १० देखि २० गुणा बढी मात्रा पनि लिन सक्छ । यस्तो स्थितिमा आत्महत्याको विचार आउँछ, मान्छे डिप्रेशनको शिकार हुन्छ । यसको अतिरिक्त थकान, उग्रता देखिन्छ र मान्छे बढी खाना खान थाल्छ । यसको उपचार लक्षण अनुसार गरिन्छ यथा– तीव्र ज्वरो छ भने कोल्ड स्पोन्ज र सिटामोल, मुर्छा छ भने नसाबाट डाइजिपाम दिइन्छ । साइकोसिस छ भने हेलोपेरिडल नामक औषधि, उच्च रक्तचापका लागि एन्टिहाइपरटेन्सिभ र पिसाबको एसिडिफिकेशन गर्नुपर्छ । एक्कासि औषधि छोडेमा विथड्रवल सिन्ड्रोममा खतरनाक रूपको आत्महत्याको विचार र डिप्रेशन हुन्छ र त्यस्ता रोगीलाई अस्पतालमा भर्र्ती गरेर मात्र उपचार गर्नुपर्छ ।
एलएसडी ः यसको पूरा नाम लाइसर्जिक एसिड डाइइथाइलामाइड हो । यसलाई १९३८ मा अल्बर्ट हाफमैनले बनाए । यो एउटा जबरदस्त हेलोसिनोजेन हो अर्थात् यो खाएपछि मान्छे राम्रो र नराम्रो कुरा देख्छ जसको कुनै अस्तित्व नै हुँदैन । १०० माइक्रोेमिलिग्रामले पनि मान्छेमा व्यवहारगत खराबी उत्पन्न गरेर असामाजिक बनाउन सक्छ । यसले आफ्नो काम ५ एचटीलाई बढाएर गर्छ । यसको बानीमा विथड्रवल सिन्ड्रोम देखिंदैन । यसलाई मान्छेले ट्रिपमा खाने गर्छ मतलब कहिलेकाहीं खाने, धेरै दिन नखाने । एक्युट इन्टोक्सिकेशनमा ः व्यक्तित्वमा गिरावट महसूस हुने, शक्तिको कमी, भ्रम, रंगहरू सुनिने र आवाज महसूस हुने, आँखाको नानी फैलिने, बढेको धडकन, पसीना आउनु, ट्रेमर, कुनै काम गर्दा शरीरका अङ्कहरूबीच तालमेल नमिल्ने, उच्च तापक्रम, छालाका रौंंहरू ठाडो हुने आदि गहिरो चिन्ता र उदासीको साथ देखिन्छ । कहिलेकाहीं एलएसडी प्रयोगकर्तालाई एक्कासि पैनिक रिएक्शन हुन्छ जसलाई बैड ट्रिप भनिन्छ जसमा मान्छेको आफूमाथि नियन्त्रण गर्ने शक्ति समाप्त हुन्छ । ट्रिप लिएपछि ८ देखि १२ घण्टापछि मात्र रिकोभरी हुन्छ । एलएसडी प्रयोगकर्तामा विथड्रवल सिन्ड्रोम हुँदैन तर कहिलेकाहीं यसको फ्लैसबैक महसूस हुन्छ र पुरानो सम्झनाले खान मन लाग्छ खास गरेर त्यति बेला जब मान्छे तनाव, थकान र शारीरिक दुर्बलता महसूस गर्छ । लामो समय प्रयोग गर्दा एलएसडीले चिन्ता, भ्रम, हालिसिनेशन र कहिलेकाहीं प्रयोगकर्ताले जन्माएको बच्चामा विकृति वा अङ्कभङ्क देखिन्छ । यसको उपचार त्यही एन्टिएंग्जाइटिक, एन्टिडिप्रेसेन्ट र एन्टिसाइकोटिक ओषधिहरू नै हुन् । बार्बिचुरेट ः यो एउटा सिडेटिभ औषधि हो, मतलब शान्त पार्ने औषधि जसलाई १९०३ मा बनाइयो । यसको प्रयोग शरीर काम्ने बेला, बेहोश गर्ने बेला र बेचैनी शान्त पार्न गरिन्छ । यस औषधिका ब्रान्डनाम हुन् ः सेकोबार्बिटल, पर्टोबार्बिवटल र एमोबार्बिटल । आजभोलि यसको प्रयोग कमै हुन्छ र यसलाई बेन्जोडाइजिपिनले विस्थापित गरिसकेको छ । बार्बिचुरेटको जबर्दस्त शारीरिक र मानसिक बानी बस्छ । यसले इपिसोडिक अर्थात् बेलाबेला चिडचिडापन, मूड बिग्रिरहने, बानी–व्यवहार, मधुरो आवाज, मांसपेशीबीच तालमेल नमिल्ने, एकाग्रता र स्मरणमा कमी, लडखडाहट आदि देखिन्छ । यसको लक्षण रक्सी खाएजस्तो हुन्छ । यसको कडा लक्षणमा आत्महत्याको विचार पनि आउँछ । इन्ट्राभेनस दिएमा फोका, डाबर, सेल्युलाइटिस र विभिन्न बैक्टेरियल सङ्क्रमण हुन्छ । छोडेपछि यसको लक्षण निकै खतरनाक हुन्छ जुन ६०० देखि ८०० मिलिग्रामभन्दा बढी डोज लिंदा देखिन्छ । सेकोबार्बिटलको असर एक महीनाभन्दा बढी समयसम्म रहन्छ, जसमा बेचैनी, हातखुट्टा काम्ने, रक्तचाप बढ्ने, डेलिरियम र बेहोशीसम्म हुन्छ । यो लिएपछि ७२ घण्टामा आफ्नो उच्चतम अवस्थामा हुन्छ । यति मात्र होइन, मान्छेको मृत्युसमेत हुन सक्छ । यसको उपचारमा सर्वप्रथम वान्ता गराइन्छ र अमाशयलाई चारकोलले सफा गरिन्छ । यदि रोगी कोमामा छ भने शीघ्र आइसियुमा भर्ना गरी उचित उपचार गरिन्छ ।
बेन्जोडाइजीपिन ः यो पनि सिडेटिभको रूपमा नै प्रयोग हुन्छ । यसलाई दिनको ५ देखि १० मिलिग्राम दुईचोटी दिइन्छ । प्रायः मानिस आत्महत्याको लागि डाक्टरले दिएको डाइजिपामको महीनाभरिको मात्रा एकैचोटी खाइदिन्छ । १९५७ मा स्टर्न बैकले क्लोरडाइजिपोक्साइड बनाएर भैलियमलाई विस्थापित गरे । भैलियमको नशा पनि अल्कोहलजस्तै हुन्छ र लामो समय प्रयोग गरेपछि टोलरेन्स पैदा हुन्छ । धेरै बढी मात्राले रेस्पेरेटरी फेल्युर, बेहोशी र मृत्युसमेत हुन्छ । यसको लामो समय प्रयोग गर्दा स्मरण–¥हास हुन्छ र छाडे पछि चिन्ता, िचडचिडापन, ट्रेमर, अनिद्रा, वान्ता, कमजोरी, लो ब्लडप्रेसर, मुर्छा आदि हुन्छ जसमा रोगीलाई अस्पतालमा भर्ना गरी उपचार शुरू गरिन्छ । यदि रोगी कोमामा छ भने तुरून्त फ्लुमाजिनील ०.३ देखि १.० मिलीग्राम नसाबाट बिस्तारैबिस्तारै दिइन्छ जुन बेन्जोडाइजिपीनको एन्टागोनिस्ट हो । जब भेलियम लामो समयको लागि लिइन्छ तब त्यसको खराब असर रोक्नको लागि डोजलाई हप्तैपछि कम गर्दै लगेर तीन चार हप्तामा बन्द गरिन्छ । यसरी डिटेक्सिफाइ भएपछि रोगीको अन्य सहायक उपचार, जस्तै पोषक खुराक, भिटामिन, मिनरल आदि दिइन्छ । त्यसभन्दा बढी रोगीको परिवारजनको सहयोग र सहानुभूति उपयोगी हुन्छ ।
यी मुख्य औषधिपछि केही अरू औषधि पनि छन्, जसले मानसिक प्रभाव पार्छन् तर ती त्यति उल्लेखनीय छैनन् । केही उल्लेखनीय तŒवको वर्णन पछि गरिने छ । अस्तु १