- बैधनाथ श्रमजीवी
वीरगंजमा यतिबेला पानीको हाहाकार छ । खानेपानीको यो समस्या असारको चौथो हप्तादेखि शुरू भएको थियो । वीरगंजको वडा नं १ देखि १९ सम्ममा करीब ९० प्रतिशत चापाकल सुकेर पानी नआउने अवस्थामा पुगिसकेको छ । तराईमा लामो समयदेखिको खडेरी र प्रचण्ड गर्मीका कारण जमीनमुनिको पानीको सतह झन् तल झर्दै गएको कारण चापाकलमा पानी आउन छाडेको कुरा सरोकारवालाहरू बताउँदै आएका छन् । “चापाकलको पाइपभित्र सतहदेखि २९ फिट तलसम्म पानी भएमात्र चापाकलले पानी तान्न सक्छ । तर पानीको त्यो लेयर अहिले वीरगंजमा ३० फिटभन्दा तल गइसकेको हुनाले पानी आउन छोडेको छ ।
वन फडानी र नदी–खोलाको दोहनले निम्त्याएको समस्या ः–
लामो समयदेखि हावी रहँदै आएको वन माफियाहरूले चुरे तथा भावर क्षेत्रमा गर्ने गरेको अप्राकृतिक तथा अनियन्त्रित वन फडानी र नदी–खोलाको अत्यधिक दोहन भइरहेको कारणले वीरगंजसहित मधेसका शहरी क्षेत्रमा चापाकल सुक्ने समस्या देखिएको वातावरणविद्हरू बताउँछन् । प्राकृतिक वातावरणको अत्यधिक दोहन भइरहेको हुनाले त्यसले गर्दा पर्यावरणमा समेत असर परेको र मधेसमा पानीका प्राकृतिक स्रोत मासिंदै गएको चुरे र तराईको अन्तर्सम्बन्ध विषयका जानकारहरूले बताउँदै आएका छन् । यतिबेला वीरगंज मात्र नभई सर्लाही, महोत्तरी, धनुषालगायत तराईका जिल्लाका शहरी क्षेत्रमा पानीको समस्या देखा परेको छ । विशेषगरी चुरेभन्दा तलको भावर क्षेत्रमा पर्ने वीरगंज, जनकपुरलगायत मधेसका शहरी क्षेत्रमा जमीनमुनि पानी रिचार्ज हुन नसक्दा चापाकल, ट्युबवेललगायत पानीको स्रोत सुक्न थालेको हो । वास्तवमा पहिले पहिले जङ्कल घना थियो, खोलाहरूमा प्रशस्त ढुङ्का हुन्थ्यो जसले गर्दा पानी रोकिंदै आउँथ्यो, तर अहिले वन फडानी तीव्र छ, खोलाहरूको दोहन पनि अत्यधिक भइरहेको छ, त्यसकारण माथिबाट पानी बग्दा तीव्र गतिमा आउँछ, कुनै अवरोध हुँदैन र चुरेबाट भावर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमीनले सोस्न सकेन अर्थात् जमीन मुनिको पानी रिचार्ज हुन सकेन जसले गर्दा पानीको लेयर झन्झन् तल गइरहेको छ । चुरे क्षेत्रका नदी–खोलाहरूमा अहिले पनि प्रशस्त पानी छ । तर भावर क्षेत्रमा आइपुग्दा तीनै नदी–खोलामा पानी भेटिंदैन । जहाँसम्म वीरगंज शहरको खानेपानीको कुरा छ, त्यसबारे के बुझ्न जरूरी छ भने यसको आसपासमा ठूला नदी वा खोला छैनन्, भएका साना नदी पनि अतिक्रमणमा परिसकेको छ, अनि अहिले लामो समयदेखि वर्षा भएको छैन, जसका कारण जमीनमुनि पानीको रिचार्ज हुन सकेको छैन, पानीको सतह झन्झन् तल गइरहेको छ । यसैले गर्दा यति बेला पानीको हाहाकार देखिएको हो । अब पनि वन–जङ्कल संरक्षण गर्न र खोलाबाट बालुवा गिट्टी झिक्ने काम रोकिएन भने निकट भविष्यमा खानेपानी र खडेरीको अझै ठूलो समस्या बेहोर्न तयार रहनुपर्छ ।
के हो त पर्यावरण ?
पर्यावरण भन्नाले जल, वायु र जमीनको अवस्था बुझिन्छ । यो हरेक जीवसित जोडिएको वातावरणीय अवस्था हो । कुनै पनि जीव वरपरको अवस्थामा हुर्कन्छ, बढ्छ र अन्तमा आफूजस्तै सन्तति छोडेर जीवनचक्र पूरा गर्दछ । वनस्पति होस् या प्राणी सबै प्रकारका जीवित वस्तु आआफ्नै वातावरणमा हुर्कन्छन् । पृथ्वीमा लाखौं वर्षदेखि तीन करोड जीव–जीवात्मा आफ्नै वातावरणमा बाँच्दै आएका छन् । त्यसैले सिङ्को पृथ्वी नै एउटा घर हो, यो लाखौं प्रकारका जीवहरूको आश्रयस्थल हो । यसको सबै भागमा एउटै प्रकारको हावापानी छैन, न माटो नै एकनास छ । स्थान अनुसार माटो, हावापानी, वनस्पति यावत् वस्तु फरकफरक छन् । राम्रो आश्रयस्थल बन्नको लागि जल, वायु, जमीनको अवस्था सन्तुलित हुनु आवश्यक छ । हो यही सन्तुलनलाई पर्यावरण भनिन्छ । एक वाक्यमा भन्ने हो भने वातावरण र जीवको अन्तर्सम्बन्ध नै पर्यावरण हो । उदाहरणका लागि आँप तराईमा फल्छ, हिमालमा फल्दैन । हिमालमा यसको खेती हुन्न । आँपको खेती गर्न नसक्नुको कारण एउटै छ हिमालमा आँपको लागि पर्यावरण मिल्दैन । पर्यावरण भनेको आँपलाई चाहिने हावापानी, माटो, भौगोलिक अवस्था आदिको समग्र अवस्था हो । पर्यावरणमा अजैविक वस्तु र जैविक वस्तु पर्दछन् । अजैविक अन्तर्गत हावापानीका तŒव जस्तैः प्रकाश, तापक्रम, वर्षा, हावा, चिस्यान पर्दछ भने माटोसम्बन्धी चिस्यान, हावा, तापक्रम, सूक्ष्म जीवाणु, भौगोलिक अवस्था अन्तर्गत उचाइ, पर्वतको दिशा, ढलान आदि पर्दछ । जैविक तŒवमा वनस्पति तथा प्राणी र विच्छेदक (ब्याक्टेरिया र फन्जाई) पर्दछन् ।
खानेपानी, स्वच्छ वायु र आवश्यक खेतीयोग्य जमीन बाँच्ने आधार हुन् । कुनै पनि प्राणीको अस्तित्व एक्लै सम्भव छैन । प्राणी वा वनस्पति वातावरणसित जुधिरहेका हुन्छन् । तसर्थ सहज जीवनका लागि आधार भूमिलगायत त्यस स्थानको वातावरण अनुकूल हुनु जरूरी हुन्छ । पृथ्वीको धुव्रीय क्षेत्रस्थित आन्टार्टिका, जहाँ अत्यन्तै चीसो वातावरण छ, त्यहाँ मानव जीवन कष्टकर हुन्छ । जहाँ बाँच्न मुश्किल छ, त्यहाँ जीवन सुरक्षित हुँदैन, जीवन सुरक्षित नभएको ठाउँमा बसोवास पनि हुँदैन । तसर्थ सन्तुलित पर्यावरण हाम्रो सरोकार हो ।
पृथ्वीको पर्यावरणीय अवस्था अहिलेको परिप्रेक्ष्यमा प्रविधिजन्य तथा औद्योगिक विकासक्रमले ह्रास हुँदै गइरहेको छ । जनसङ्ख्या वृद्धि र विलासिता शैलीको मानव आवश्यकताले पर्यावरणीय असन्तुलित भइरहेको छ । मानव समाज र वातावरण स्वयंले निकै परिवर्तन ल्याएको छ । स्वार्थ प्रेरित मानवले प्राकृतिक स्रोतको दोहन गरिरहेको छ । मुठ्ठीभरका व्यक्तिले फाइदा लिइरहेका छन् । अहिले विश्वमा नै बढ्दो शहरीकरण, अव्यवस्थित उद्योगीकरण, अत्यधिक रासायनिक मलको प्रयोग, विषादिको प्रयोग, वनविनाश आदि पर्यावरणीय असन्तुलनका कारण हुन् ।
मानव जीवनका यस्ता पनि पर्यावरणीय असन्तुलनका पक्ष छन्, जुन उच्चस्तरका प्रविधिले ल्याएका छन् । ठूल्ठूला राष्ट्रले गरेका विकास गतिसँगै वातावरणमा निकै असहजपन आइसकेको छ । विज्ञानले हरितगृह प्रभाव, ओजन तह विनाश र अम्लीय वर्षालाई पर्यावरणीय असन्तुलन मानेको छ ।
हरितगृहको प्रभावः
वातावरणलाई सन्तुलन राख्न पृथ्वीको वायुमण्डलीय तहले एकदमै महŒव राख्दछ । वायुमण्डलमा निहित तापशक्ति जम्मा भएर तापक्रम बढ्ने प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ । पूरै पृथ्वीलाई विभिन्न हावाको तहले घेरिराखेको छ । यो हावाको तहलाई वायुमण्डल भनिन्छ । यो वायुमण्डलले पृथ्वीलाई चारैतर्फबाट घेरेको हुँदा सूर्यको प्रकाशबाट उत्पन्न तातो पृथ्वी वरपर छरिएको हुन्छ । यो तातोपन वायुमण्डलबाट बाहिर जान पाउँदैन । सिरकभित्र तातोजस्तै रहिरहने तर उम्केर बाहिर जान नपाई पृथ्वीमा भइरहने तातोलाई हरितगृत भनिन्छ ।
यदि पृथ्वीलाई वायुमण्डलको तहले नघेरेको भए चन्द्रमामा हुने तापक्रम (माइनस १८ डिग्री मात्र) रहने थियो । बाह्य हावाको तहको भूमिका न्यानो बनाउनु हो । सम्भवतः पृथ्वीमा जीवन सम्भव हुनुको यही कारण हो । कार्बन डाइअक्साइड ग्याँसको वृद्धिले पृथ्वी तातो रहन्छ । अलिकति यो ग्याँस वृद्धि हुँदा हावापानीमा निकै हेरफेर आउँछ । वैज्ञानिकहरूले सन् २०५० सम्म कार्बनडाइअक्साइडको मात्रा ६५० पिपिएम पुग्ने अनुमान गरेका छन् । यसको मात्रा ६९० पिपिएम पुगेमा विश्वको तापक्रम विगतको तुलनामा ३० सेन्टिग्रेड बढ्न जाने खतरा वैज्ञानिकहरूले बताएका छन् । यसको परिणाम केही शताब्दीपछि समुद्र सतह ५० देखि ७० मिटर माथि पुग्नेछ । सूर्यबाट आएको इन्फारेडजस्ता हानिकारक किरण यही कार्बनडाइअक्साइड ग्याँसको तहले सोसिदिन्छ । तर यसबाहेक पेट्रोलियम इन्धन दहन प्रक्रिया, दाउरा, कुहिन लागेको वस्तुबाट निस्कने ग्याँसहरूको परिणामले वायुमण्डलमा कार्बन डाइअक्साइड बढिरहेको छ ।
हरितगृहको प्रभाव भनेकै तातोपन बढ्ने हुँदा पृथ्वीमा भएका धुव्रीय हिउँ पग्लन शुरू हुन्छ । हिउँ पग्लँदा नदीहरूमा पानीको मात्रा वृद्धि हुन गई समुद्र सतह बढ्छ । यसले समुद्र छेउका बस्तीहरू डुबानमा पर्ने सम्भावना रहन्छ । त्यस क्षेत्रका मानिस जोखिममा पर्दछन् । हिउँको मात्रा पग्लँदा बाढी, पहिरो आदि प्राकृतिक प्रकोप देखा पर्न थाल्दछ । बढी तातोले गर्दा बोटबिरुवामा उत्सेदनको प्रक्रिया धेरै हुन्छ । यसले बाली उत्पादनमा कमी आउँछ । समुद्रमा तातो बढ्न जाँदा समुद्री आँधीबेहरी उठ्न शुरू हुन्छ भने यससँगै चक्रवात, भुमरी उत्पन्न हुन्छ ।
ओजन तह ह्रासः
अक्सिजन ग्याँस भनेजस्तै ओजन पनि पृथ्वीकै सतहमा पाइने एक प्रकारको प्राकृतिक ग्याँस हो । यो अक्सिजनबाटै निर्मित ग्याँस हो । यो वायुमण्डलमा विभिन्न तह बनाएर बसेको छ । पृथ्वीदेखि १० किलोमिटर परको सतह–टोफोस्फियर, १० देखि ६० किलोमिटर– स्टाटोस्फियर, ६० देखि ८० किलोमिटर –मिसोस्फियर, ८० देखि ४०० किलोमिटर–आयोनोस्फियर र ४०० देखि माथि एक्सोस्फियर गरी विभिन्न तह निर्माण गरेर बसेको छ । यी प्रतिरक्षात्मक तह हुन् । सूर्यको किरणमा रहेको हानिकारक अल्ट्राभ्वाइलेट किरणलाई ओजन तहले छेकेर पृथ्वीको सतहसम्म आउन दिंदैन ।
यदि ओजन तह नहुने हो भने वा यसमा प्वाल परेको छ भने अल्ट्राभ्वाइलेट सीधै पृथ्वीमा प्रवेश गर्छ, हरेक जीवित कोषलाई बिगार्छ र छालाको क्यान्सर गराउँछ । अल्ट्राभ्वाइलेट किरण बढी मात्रामा भयो भने बोटबिरुबाले खाना बनाउन सक्दैनन् । फलस्वरूप बाली उत्पादन कम हुन्छ । अल्ट्राभ्वाइलेट किरणले अन्धोपन गराउँछ । विश्वव्यापी तापक्रम बढ्नुको साथै हावापानीमा यसले ठूलो असर पु¥याउँछ । त्यसरी नै यसको असरले जलीय बोटबिरुवा उम्रन सक्दैन ।
ओजन तहमा क्षति पु¥याउने तŒव क्लोरोफ्लोरो कार्बन हो । यसबाहेक चीसो गराउन प्रयोग गरिने ग्याँस, रेफ्रिजिरेटर, निर्मलीकरण गराउने घोलक, जहाज तथा उद्योग, कलकारखानाले निष्कासन गरेका धूवाँ, नाइट्रोजन, रासायनिक मल, जीवावशेष इन्धन दहनबाट निस्केको धूवाँ, कार्बन मोनोक्साइड आदिले पनि ओजोन तह बिगार्न मदत गर्दछ ।
अम्लीय वर्षाः
वर्षामा अम्लको मात्रा हुनुलाई अम्लीय वर्षा भनिन्छ । सामान्य वर्षाको पानीमा ५.६ अम्ल हुन्छ । यसभन्दा कम पिएच मान भएमा अम्लीय वर्षा मानिन्छ । यस प्रकारको जलमा ४ देखि ४.५ पिएच मान हुन्छ । सल्फर डाइअक्साइड, सल्फर टाइअक्साइड, नाइट्रोजन मोनोक्साइड, नाइट्रोजन डाइक्साइड आदिले वायुमण्डलमा भएका ग्याँससित प्रतिक्रिया गरेमा अम्लीय जल बन्दछ । यही वर्षाको रूपमा झर्दछ । औद्योगिक क्षेत्रमा यस्ता ग्याँस हुने हुँदा अम्लीय वर्षा हुने गर्दछ । अम्लीय वर्षाले केही गम्भीर समस्या ल्याउँछ ।
अम्लीय वर्षाले माटो तथा पिउने पानीको गुणस्तर बिगार्दछ । पानीमा रहेका माछा, कीरालाई नराम्ररी प्रभावित पार्दछ । यिनीहरूको जीवन नै जोखिममा रहन्छ । बाली उत्पादन घट्छ । त्यसरी नै स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पार्दछ । खोकी लाग्ने, घाँटी खसखसाउने, छाती घ्यार्रघ्यार हुने, दम हुने, पखाला चल्ने, मुटु र फोक्सोमा समस्या देखिनेजस्ता रोग लाग्दछ । त्यसरी अम्लीय वर्षाले स्मारक, सालिक, पुल, तारबार, रेलका लिग खियाउँछ । ठूला–ठूला भवनहरूमा पनि क्षति पुग्न जान्छ । समग्रमा भन्दा पर्यावरणले समस्त प्राणी तथा वनस्पतिलाई सन्तुलित ढङ्कबाट हुर्कन, बढ्न सहयोग गर्दछ । तर मानवीय गतिविधिका कारण आजको कुनै पनि स्थानको वातावरण स्वच्छ रहन सकेको छैन । तसर्थ असन्तुलित पर्यावरणप्रति कुनै पनि नागरिक चनाखो हुनु जरूरी छ । वास्तवमा यसप्रति सबैभन्दा बढी सरकार चनाखो हुन जरूरी छ तर दुःखको कुरा सरकार केवल कमिशनको चक्करमा लागेको छ जसले गर्दा पर्यावरण बिगार्ने वन माफिया, भूमाफिया, विभिन्न कारखानाका मालिकहरूसँग कमिशनको लेनदेनले दिन प्रतिदिन पर्यावरण समस्या बढेर महाविनाश निम्त्याउने दिशामा हाम्रोजस्तो गरीब देश अघि बढिरहेको छ भने विकसित राष्ट्रहरूमा निजी पूँजी थुपार्ने होडले गर्दा पर्यावरणीय असन्तुलनविरुद्ध व्यावहारिकरूपमा ठोस कदम चालिएको देखिइँदैन । यो मानव सभ्यताकै लागि सबैभन्दा खतरनाक कुरा हो । यसले भोलिको दिनमा मानव अस्तित्व नै रहने कि नरहने भन्ने प्रश्न खडा गरेको छ ।