काबुल, ७ साउन/सिन्ह्वा/एएफपी
अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आइएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यस सम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएको बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।
अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।
इरानका एकजना वरिष्ठ कूटनीतिज्ञले आतड्ढवादी समूह आइएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो ।
“हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आइएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्छौं,” बल्खीले ट्वीट गरेका छन् ।
यसअघि अफगान सुरक्षा बलहरूले आइएससँग सम्बद्ध दर्जनौं कार्यकर्तालाई मारेको र गिरफ्तार गरेका थिए । चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरैजनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो ।
अफगानिस्तानमा बाढीः १२ जनाको मृत्यु, ४० जना बेपत्ता
मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् ।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि भएको छ ।
गत वर्षको अगस्तमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरोमा परी १८० जनाको ज्यान गएको थियो भने कम्तीमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए । रासस