- विनोद गुप्ता
विश्वेश्वरप्रसाद कोइरालाको व्यक्तित्वलाई शब्दमा पस्किन त अत्यन्त कठिन छ तर सानो अवधिमा नेपाल तत्कालीन विश्वकै राजनीतिमा उनको योगदान अविस्मरणीय रहन गएको छ । सन् ४७ को भारतको स्वतन्त्रता आन्दोलनको सफलता र सानिन्ध्यबाट प्राप्त ऊर्जाबाट नै उनले नेपाली काङ्ग्रेस स्थापना गरी सन् १९५१ अर्थात् विसं २००७ सालमा नेपालको राणा शासनविरुद्ध सशस्त्र आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र स्थापना गर्न सफलसमेत भए । प्रजातन्त्र स्थापित भए पनि नेपाली काङ्ग्रेसको संविधानसभाको मागको सम्बोधन राजा, राणा र काङ्ग्रेसमेतको संयुक्त सरकार रहेको कारण हुन नसकी अन्ततः २०१५ साल (सन् १९५९) मा आम निर्वाचन गराउन सफल भए र नेपाली काङ्ग्रेसको बहुमतको सरकार स्थापित भयो र १८ महीना नबित्दै यस प्रजातान्त्रिक सरकारलाई बर्खास्त गरी तत्कालीन राजा महेन्द्रले शासनभार स्वयं ग्रहण गरी पञ्चायती व्यवस्था लागू गरेको सबैलाई विदितै नै छ । तर १८ महीनाको काङ्ग्रेसको छोटो अवधिको शासनकालमा बिर्ता उन्मूलन गर्दै ‘जसको जोत उसको पोत’ भन्ने नारा दिंदै भूमिसुधार लागू गर्नुका साथै नेपालका मजदूरहरूको दयनीय अवस्थामा सुधार ल्याउन ‘नेपाल कारखाना तथा कारखानामा काम गर्ने मजदूर ऐन २०१६’ समेत निर्माण गरी लागू गरिएको हो ।
१८ महीनाको अवधिमैं उनको प्रधानमन्त्रित्वकालमा भएको यो दुईवटा कालजयी निर्णयले नेपालको गरीब जनताको लागि उनी कति चिन्तित थिए भन्ने मात्र होइन, आफ्नो चिन्तालाई सार्थक तुल्याउन कतिसम्म जोखिम लिन सक्ने क्षमता उनमा थियो भन्ने कुरा पनि स्पष्ट गर्दछ । नेपालको भविष्यबारे उनी कति स्पष्ट थिए भन्ने कुरा नेकाको झन्डाबाट पनि स्पष्ट हुन्छ । नेकाको झन्डाको माथिल्लो रातो भाग राजनैतिक क्रान्ति, बीचको सेतो भाग शान्ति स्थापना र त्यसको तलको रातो भाग आर्थिक क्रान्तिको द्योतक हो भन्ने उनको मान्यता थियो । यसबाहेक झन्डामा रहेका चार तराहरूले (१) प्रजातन्त्र (२) समाजवाद (३) धार्मिक स्वतन्त्रता र (४) भयबाट मुक्तिको प्रतीक र प्रत्येक तारामा रहेको पाँचवटा चोसो (चुच्चो) महात्मा गाँधीको ग्राम स्वराज मोडेलबाट परिकल्पना गरेर नेपालमा पनि यस्तै पञ्चायती राज स्थापना गरी शासन सञ्चालन गर्ने मार्गचित्र हो । समाजवादलाई अत्यन्त सरल भाषामा उनले प्रजातन्त्र+आर्थिक समानता. समाजवाद हुन्छ भन्दै नेपालको सन्दर्भमा समाजवाद भनेको प्रत्येक गरीबको घरमा आफ्नो परिवारको शिक्षा–दीक्षा तथा उपचार खर्च धान्न सक्ने गरी कम्तीमा एक वा दुईवटा दुहुनो गाई हुनु हो भन्ने वाक्यांशले नै नेपालको गरीब जनताको अवस्था र उत्थानबारे उनको सोच उजागर गर्दछ ।
नेपाली काङ्ग्रेसको चुनावचिह्न रूख रहेको छ यसले एकातिर उनका अनुयायीहरू वातावरण संरक्षणप्रति कति संवेदनशील हुनुपर्छ भन्ने सन्देश दिन्छ भने अर्कोतर्फ गाउँघरमा हुने सबै सामूहिक कार्यहरू एउटा ठूलो रूखको छायामा गरिनुका साथै गाउँघरमा चौपाल वा भेटघाट एवं कुराकानी गर्ने थलोको रूपमा पनि प्रयोग हुने भएकोले संवाद केन्द्रको रूपमा पनि ग्रामीण परिवेशको महत्वलाई सार्थकता प्रदान गर्दछ । २०१७ मा अपदस्थ गरी प्रजातन्त्रको हरणपश्चात् लामो समय भारतमा निर्वासित जीवन बिताउँदै प्रजातन्त्र स्थापनाको लागि सशस्त्र सङ्घर्षको नेतृत्व गरिरहँदा अन्तर्राष्ट्रिय राजनीतिमा देखा पर्न थालेको परिवर्तनको सड्ढेतको पष्ठभूमिमा सशस्त्र सङ्घर्षबाट देशको राष्ट्रियता कमजोर हुने आकलन गर्दै २०३३ सालमा राजा र मेरो घाँटी सँगै बाँधिएको छ भन्दै तमाम काङ्ग्रेसी नेताहरूको असन्तुष्टिको बावजूद ‘राष्ट्रिय मेलमिलाप’को नीति लिएर नेपाल प्रवेश गरे । उनले चालेको यो कदम नै देशमा जनमत सङ्ग्रह गराउने आधार बन्न पुग्यो र जनमत सङ्ग्रहमा बहुदलीय तथा सुधारिएको पञ्चायतबीच भएको चुनावमा अनेक धाँधली एवं सरकारीतन्त्रको खुला दुरुपयोग भए पनि परिणामलाई सहर्ष स्वीकार गरे जसले नेपालमा प्रजातन्त्र पुनस्र्थापनाको बीजारोपण गर्यो । यस्ता महान् व्यक्तित्वलाई शत्शत् नमन !
नेपालमा सन् १९९० अर्थात् विसं २०४६ सालमा नेकाकै नेतृत्वमा पुनः प्रजातन्त्र स्थापनाको लागि जनान्दोलन भयो र प्रजातन्त्र स्थापित त भयो तर त्यो हेर्न विपी जीवित थिएनन् । २०४६ मा प्रजातन्त्रको स्थापनापश्चात् विपीको सानो सुन्दर हुन्छ भन्ने मान्यतालाई छाड्दै नेकाको सरकारले पनि उदारीकरणको नीति अख्तियार गर्यो जसमा कृषि क्षेत्र त पूर्णतया उपेक्षित नै रहन पुग्यो । यो उदारीकरणले व्यवसाय एवं सेवा क्षेत्रलाई अत्यन्त सबल बनायो तर औद्योगिक क्ष्ँेत्र पूर्णरूपमा धराशायी बन्न पुग्यो तथा पुरानो पुस्ताको समाप्तिपछि भ्रष्टाचारले पनि स्थान पाउँदै गएको फलस्वरूप नेपालमा २०५२ सालदेखि माओवादी आन्दोलन जन्मिन पुगेको भनिन्छ । हुनत यसबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरू पनि छन् तर तीमध्येको एउटा कारण यो पनि हो । त्यस पछाडि माओवादीसँग भएको १२ बुँदे सम्झौता र राजा ज्ञानेन्द्रको शासनको अन्त्य पनि नेकाकै नेतृत्वमा भए पनि काङ्ग्रेसले फर्केर विपीको बाटो कहिले फेरि समात्न सकेन ।
स्व विपी कोइरालालाई श्रद्धासुमन अर्पण गर्न लेखिरहँदा एउटा गजबको संयोग के जुरेको छ भने नेकाको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकमा १० बुँदे एजेन्डा तय भए पनि बोल्ने अधिकांश सदस्यले कि त प्रम अथवा भनौं संस्थापन पक्ष्ँको कि इत्तर पक्षको समर्थन वा विरोधमा बोलिरहेका छन् । १० बुँदे एजेन्डामा केन्द्रित भएर आफ्नो गहन विचार राखेर काङ्ग्रेसलाई राम्रो बाटोमा डोर्याउनुको सट्टा संस्थापन र इतर पक्ष्बीच काङ्ग्रेस अड्किएको अनुभूति हुँदैछ । प्रजातान्त्रिक दलमा गुट, उपगुट हुनु स्वाभाविक हो तर सबैको लक्ष्यमा हुनुपर्ने एकरूपता भने काङ्गेसबाट हराएको देखिंदैछ । देश आज आर्थिकरूपमा सड्ढटग्रस्त छ, शिक्ष्ाँको गुणस्तरीयता र अवस्था दुवै खस्कँदो छ, कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झरेको छ भने सरकार आयातबाट कर उठाउने र विप्रेषणबाट देश चलाउने मनस्थितिमा रहेको देखिन्छ । सामाजिक न्यायको क्षेत्रमा सरकार एवं पार्टी दुवैको धारणा स्पष्ट छैन भने समावेशीकरण, विशेषगरी राजनीतिमा आसेपासे उद्योग बन्दै गएकोतर्फ सार्थक चिन्तन मनन भएको देखिएको छैन ।
यही अवस्था रहेमा केन्द्रीय कार्यसमितिको यो बैठक पनि सदस्यहरूको भावावेग शान्त (emotionally defuse) गर्ने एउटा माध्यम मात्र बन्न पुग्नेछ जुन मिसन २०८४ को लागि अत्यन्त खतरनाक सड्ढेत हुनेछ । एक त समानुपातिक प्रणालीका अनुसार कुनै पनि दलको स्पष्ट बहुमत आउने अवस्था अत्यन्त जटिल छ त्यसमा पनि काङ्ग्रेसको भोट भण्डार तराई–मधेस अब यस्तै चालाले उर्वर बन्न सक्ने अवस्था नरहने भए पनि फेरि पार्टी र देश दुवैको नियति घुमिफिरी रूम्जाटार भनेजस्तै हुने अवस्था नआओस् भन्नेबारे विपी स्मृति दिवसको यो पावन अवसरमा सबै काङ्ग्रेसजन र विशेषगरी केन्द्रीय कार्यसमितिमा सदस्यहरूले बैठकमा पस्दा स्मृति भवनको एक टुक्रा माटो हातमा लिई छातीमा हात राखेर आफ्नो भूमिका निर्वाह गरिदिए त्यो नेकाका जन्मदाता महामानवप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । अन्यथा यो पनि प्रत्येक वर्षको एक दिन गरिने वृक्षारोपण पछि कति उम्रे, उम्रेनन् भनेर हिसाब नराख्ने हाम्रँे आचरणसरह नै हुनेछ ।