कुख्यात बिकिनी किलर चाल्र्स शोभराजले भनेका थिए–“नेपालको एयरपोर्ट भन्सारबाट हात्ती पनि छिराइदिन्छु ।” शोभराज आफै एक कुख्यात अपराधी रहेको हुँदा उनले आफूतिर दुनियाँको ध्यानाकर्षण गराउन वा स्टन्टका लागि यस किसिमको अभिव्यक्ति दिएको हुन सक्ने धेरैको अनुमान थियो । उनले हात्ती छिराउन सक्थे वा सक्दैनथे फरक विषय हो, तर त्यहाँबाट हुने तस्करीलाई उजागर गर्न उनको भनाइ पर्याप्त छ । यसको केही वर्षपछि साढे ३३ किलो सुनकाण्डले शोभराजको भनाइलाई पुनर्ताजगी गरायो । उक्त सुनकाण्ड छानबीनको क्रममा पत्ता लाग्यो कि साँढे चार वर्षको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले ४२१ पटक विभिन्न परिमाणमा सुन भिœयाएको रहेछ । सङ्गठित रूपमा सुन तस्करीको धन्धा चलाइरहेका चुडामणि उप्रेती (गोरे) को योजनामा यसरी भिœयाइएको सुनको परिमाण ३८ क्विन्टल पुगिसकेको थियो । यो परिमाण सानो होइन । एउटा नेपाली रैथाने हात्तीको तौल सरदर ४५ क्विन्टल हुन्छ । तस्करी गर्ने एउटा मात्रै गिरोह थियो भन्न सकिन्न, अरू पनि कैयन गिरोह होलान् जसको गोपनीयता बाहिर आएको छैन । एयरपोर्ट भन्सार सुरक्षाकर्मीको मिलेमतोमा सुन भित्रिएको कुरा छानबीन प्रतिवेदनले देखाएकै हो । यसरी हेर्दा मुलुकको प्रमुख विमानस्थल भन्सारबाट दिनहुँजस्तै उल्लेखनीय परिमाणमा अवैध सुन नेपाल भित्रिरहेको रहेछ भन्ने पुष्टि भयो ।
साढे ३३ किलो सुनकाण्डले भन्सार कर्मचारीदेखि सुरक्षा अधिकारी, सरकार र राजनीतिक दलका नेताहरूलाई समेत जवाफ दिंदैमा चेतबाबा बनायो । अव त सुधार भयो होला भन्ने नागरिक अपेक्षा थियो । तर ‘कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रोमा राख्दा पनि बाङ्गोको बाङ्गै ।’ अहिलेसम्मकै बरामदी रेकर्डलाई तोडदै बितेको बिहीवार १०० किलो सुन बरामद भयो । भन्सार चेक जाँचका सबै प्रक्रिया पूरा गरी बाहिरिइसकेको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको हो । स्कूटरको ‘ब्रेक शू’ को नाममा भन्सार पास भएको पाइएको छ । यसले हाम्रो विमानस्थलको सुरक्षा अवस्था र तस्कर गिरोहको सेटिङ छर्लङ्ग भएको छ ।
कर्मचारी तथा सुरक्षाकर्मीको सहमतिबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध वस्तु भित्रिन वा बाहिरीन सक्दैन । यहाँ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उपकरणहरू जडान गरिएका छन् । पाँच वर्ष पहिलेको स्थितिलाई नियाल्ने हो भने कुनैपनि यात्रुले ल्याएको सामान भन्सार कार्यालयका जाँचकीहरूले चेक गर्थे । यस्तो गर्दा असल नियत भएकाले पनि सबै सामान चिन्न र चेक गर्न सक्ने अवस्था थिएन । आफूले देख्न नसकेको भनेर जाँचकीले कुनै प्रतिबन्धित सामग्री छाडिदिन सक्ने सम्भावना पनि थियो । अहिले विमानस्थलमा लेजर मेशिन, होलबडी स्क्यानर, मेटल एक्सरे मेशिन, कार्गो मेशिनलगायत अत्याधुनिक उपकरणहरू छन् । सुनको घनत्व अन्य धातुको भन्दा बढी हुने भएकोले स्कूटीको ब्रेक शू र सुन मेटल एक्सरेले सहजै छुट्याइदिन्छ । बदमाशी नभए ९५ प्रतिशत तस्करी रोकिने, भन्सार विभागका अधिकारीहरूले उपकरण जडानको क्रममा विश्वास व्यक्त गरेका थिए । कुनै पनि नयाँ तस्करले पहिलोपटकमा नै यति ठूलो जोखिम उठाउने हिम्मत गर्न सक्दैन र सेटिङविना यत्रो तस्करी सम्भव पनि छैन । हुनत सुनको के कुरा, अहिले हात्ती नै नछिरेको भए पनि तस्कर समूहले चिम्पान्जी छिराएर देखाइदिएको छ हाम्रो विमानस्थलबाट ।