प्रस, वीरगंज, ५ साउन/
नेपाली काङ्ग्रेस, बाराले जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख होबिन्द्र बोगटीसहित प्रहरी अधिकृतमाथि कारबाई र सरुवा माग गरेको छ ।
नेका, बाराका सचिव भैयाराम यादवलाई गत सोमवार राति जिल्ला प्रहरी कार्यालय, परिसरमा प्रहरीले कुटपिट गरेको थियो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्क पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रूपेश साहले बारा काङ्ग्रेसका सचिव यादवलाई कुटपिट गरेको, थुनेर मानसिक यातना दिएको नेका, बाराको आरोप छ ।
बारा काङ्ग्रेसले सो कार्य प्रउ बोगटीको निर्देशनमा गरिएको भन्दै दुई प्रहरी अधिकृतको निलम्बन, कारबाई र प्रउ बोगटीको सरुवा माग गर्दै बिहीवारदेखि प्रदर्शन गरेको हो ।
हिजो प्रदर्शन गरेको बारा काङ्ग्रेसले आज शुक्रवार पनि प्रदर्शन गरेको छ । यसअघि बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई सचिव यादवसँग गरिएको दुव्र्यवहारबारे ध्यानाकर्षण गराएको थियो ।
तीन साताअघि कलैया–बघवन सडकमा भएको सवारी दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, बारामा छलफलका लागि गएका नेका, बाराका सचिव यादवमाथि प्रहरी कार्यालयमा दुव्र्यवहार गरिएको थियो । प्रहरीले घटनालाई सबै पञ्चले बिगारेको र उनीहरू दलाल भएको शब्द उच्चारण गरेपछि यादवले सोको विरोध गर्दा प्रहरीले कुटपिट गरेको थियो ।