ओमप्रकाश चौधरी, सेढवा, ५ साउन/
वर्षेबाली धानबालीका लागि नेपाल सरकारबाट प्राप्त हुने अनुदानको रासायनिक मल किसानहरूले समयमा पाएका छन् ।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले किसानहरूलाई समयमैं रासायनिक मल उपलब्ध गराएपछि किसानहरूलाई कृषिकर्म गर्न सहज भएको छ ।
धान रोपाइँको दुर्ई सातासम्म छरिने डिएपी र युरिया मल यसपालि किसानहरूले सहजै पाएका हुन् । हरेक वर्ष रासायनिक मलका लागि समस्या झेल्दै आएका तथा भारतीय बजारमा निर्भर हुँदै आएका यहाँका किसानहरूले स्थानीय कृषि सहकारी संस्थाबाट मल पाउँदा धान रोपाइँमा सहयोग मिलेको बताएका छन् ।
जगरनाथपुर गाउँपालिका–१ का रमेश महतो थारूले यसपटक सहजै रासायनिक मल पाउँदा भारतीय बजारमा कमसल तथा कम तौलको मल किन्नु नपरेको बताए । साथै सीमामा खटेका नेपाली तथा भारतीय सुरक्षाकर्मीले भारतबाट मल ल्याउँदा दिने दुःख भोग्नु नपरेको बताए ।
धानबालीमा यसपछि रोपाइँको करीब ३५–४० दिनपछि प्रतिकट्ठा तीन किलोको दरले युरिया मल छर्ने गरिन्छ । त्यसपछि बाला निस्किनुभन्दा पहिले एकपटक प्रतिकट्ठा दुई किलोसम्म युरिया मल पुनः छर्नुपर्ने हुन्छ ।
जीराभवानी गापा–२ स्थित जय मारुतीनन्दन कृषि सहकारी संस्था, सेढवाका अध्यक्ष सत्यनारायण साहले यसपटक समयमा किसानहरूको लागि मल आएकाले वितरण गरिएको बताए । उनले पर्याप्त मल भएकाले मल भण्डारण गरिएको र किसानलाई मलको अभाव नहुने बताएका छन् ।