प्रस, वीरगंज, ४ साउन/

वीरगंज महानगरका सामुदायिक विद्यालयहरूमा गर्मीका कारण विद्यार्थीहरू बेहोश हुने घटना बढेको छ। हिजोमात्र वीरगंज–१६ नगवास्थित नेरामाविमा अध्ययनरत पाँचजना छात्रा र एकजना छात्र बेहोश भएका थिए भने आज पुनः सोही विद्यालयमा चारजना विद्यार्थी बेहोश भएको विद्यालयका निमित्त प्रअ नन्दकिशोर रामले बताए।

उनले बिहीवार विद्यालय सञ्चालन हुनासाथ एकजना विद्यार्थी बेहोश भएको र उनलाई शिक्षकले उपचारको लागि अस्पताल लग्नुपरेको बताए। लगत्तै तीनजना विद्यार्थी बेहोश भएको र उनीहरूको प्राथमिक उपचार गरी अभिभावकको जिम्मा लगाएको तथा विद्यालय बन्द गरिएको बताए। निमित्त प्रअ रामले विद्यालय कोठामा क्षमताभन्दा बढी विद्यार्थी भएको र गर्मीयाममा पटक–पटक विद्युत् अवरोध हुँदा पानीसमेतको समस्या हुने गरेको र गर्मी बढेर विद्यार्थीहरू बेहोश हुने गरेको बताए।

उनले एउटा बेन्चमा पाँचदेखि छजना विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था रहेको र अहिले महानगरले फर्निचर उपलब्ध गराए पनि सो पर्याप्त नभएको बताए।

वीरगंज महानगरका शिक्षा महाशाखाका अधिकृत हरिराउत कुर्मीले महानगरका केही विद्यालयमा गर्मीका कारण विद्यार्थी बेहोश हुने घटना भइरहेको बताए। उनले बगही, नगवा र माईस्थान विद्यापीठमा अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोश भएका घटना भएको र यसबारेमा छलफल गरी  जानकारी गराइने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here