प्रस, वीरगंज, ४ साउन/
स्वतन्त्र मानव अधिकार समाज, वीरगंजले नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन साहलाई अस्पतालको बेथितिबारे ध्यानाकर्षण गराएको छ।
समाजका अध्यक्ष कृष्णकुमार खनालले अस्पतालभित्र रहेको फार्मेसी, साझा औषधि र अस्पतालबाहिर रहेका निजी औषधिपसलहरूमा एकैथरीका औषधि भिन्दाभिन्दै दररेटमा बिक्री भइरहेका र अस्पतालभित्र रहेको फार्मेसीले समेत बिरामीहरूलाई ठगिरहेको कुरा बाहिरिएको हुँदा सोबारेमा मेसु डा साहलाई ध्यानाकर्षणपत्र बुझाएका थिए।
ध्यानाकर्षणपत्रमा अस्पतालले प्रवाह गर्ने डायलसिस सेवा र ३० करोड लागतमा भित्र्याएको एमआरआई मेशिन सञ्चालनबारे सोधनी गरिएको छ। मेसु डा साहले अस्पतालमा आफू आएदेखि सुधारका कार्यक्रमहरू सञ्चालन गरेको र ध्यानाकर्षण गराइएका कुरालाई पनि गम्भीरतापूर्वक लिएको उनले बताए। उनले हिलियम ग्याँस अभावमा एमआरआई सञ्चालनमा ढिलाइ भएको र पछिल्लो समय हिलियम ग्याँस रिफिलिङ गर्दा प्रFविधिक त्रुटिवश ११ प्रतिशत ग्याँस उडेकोले तोकिएको असार १५ गते सञ्चालनमा आउन नसकेको बताए।
उनले अबको एक सातामा एमआरआई मेशिन सञ्चालनमा आउने जानकारी गराएका थिए।