प्रस, वीरगंज, २८ असार/

कालिकामाई गाउँपालिकाले आव २०७८/७९ मा अनावश्यक खर्च गरेपछि एकै वर्षमा चार करोड बेरुजू थपिएको छ । हाल सो गापामा १६ करोड ५३ लाख २२ हजार बेरुजू रहेको छ ।

गत वर्षसम्म १२ करोड १६ लाख १९ हजार बेरुजू रहेकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले जथाभावी खर्च गर्न थालेपछि बेरुजू रकम थपिंदै गएको देखिन्छ । महालेखापरीक्ष्Fकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्मचारीहरूमाथि नै थुप्रै बेरुजू देखा परेको छ । करारमा अनावश्यक कर्मचारी भर्ना गरी सो गापाले वार्षिक एक करोड ३१ लाख २४ हजार खर्च गरेकामा तत्काल सो कार्य रोक्न मलेपाले निर्देशन गरेको थियो ।

अनुगमन मूल्याङ्कन भ्रमण खर्चमा कर्मचारीहरूले १५ लाख ६२ हजार खर्च गरेको देखिन्छ । विविध खर्च देखाइ गापाका कर्मचारीहरूले २२ लाख २४ हजार रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

खरीद ऐनविपरीत ग्याँस चुलो वितरण प्रक्रिया पटकपटक गरी १२ जनाबाट ७२ लाख ३४ हजार खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । खरीद गरिएका ग्याँस चुलोको दरभाउ फरकफरक भएकाले भ्रष्टाचार भएको हुन सक्ने बताइएको छ । रु १० लाखदेखि २० लाखसम्म सिलबन्दी दरभाउपत्र पेश गर्नुपर्नेमा योजनालाई टुक्रा–टुक्रा पारी ग्याँस चुलो र सिलिन्डर खरीद गरेको र सोको भरपाई अहिलेसम्म पेश नगरिएकामा व्यापक भ्रष्टाचार भएको अनुमान गरिएको छ ।

गापाले औषधि खरीदमा पनि अनियमितता गरेको पाइएको छ । एक वर्षका लागि ४३ लाख बराबरको औषधि खरीद, ११ वटा संस्थालाई कोटेशनमार्फत ४५ लाखको तालीम गोष्ठी, वीरगंजको घरभाडा एक लाख ७१ हजार, मोबाइल खरीद दुई लाख ९६ हजार, इन्धनमा ३९ लाख १० हजार, कार्यालय सञ्चालन खर्च ५४ लाख ५९ हजार, पत्रपत्रिका, छपाइ र सूचना प्रकाशितमा २५ लाख ७२ हजार खर्चिएकाले सो रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ र जतिसक्दो खर्चमा मितव्ययिता अपनाउन निर्देश गरिएको छ ।

दुर्गापूजामा पनि अनुत्पादक खर्च भएको छ । दुर्गापूजा मेला समितिले लिएको चार लाखमध्ये खसीको मासु ८० हजार, साउन्ड सिस्टम एक लाख ६० हजार, कुखुराको मासु २० हजार, खाजा ५० हजारलगायत अनावश्यक खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । पदाधिकारी सेवा सुविधामा ४८ लाख ११ हजार खर्च देखाइएको छ । सो गापामा भएको कङ्क्रिट र ढलान जिल्ला दररेटभन्दा गापाको दररेट दोब्बर भएको र भुक्तानी गरेकोले अनियमितता भएको प्रस्ट देखिन्छ ।

सो गापाले रु १२ लाख ७९ हजारको मोटरसाइकल खरीद तथा विभिन्न ठाउँमा सडक ढलानमा रु दुई करोड १६ लाख खर्च गरेको देखिन्छ । खरीद ऐनविपरीत सो पालिकाले योजनालाई ३४ वटा टुक्रा पारी सीधा कोटेशनमा ठेकेदारमार्फत सो काम गराएकाले गापालाई धेरै हानिनोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ ।

परामर्शदाता र डिपिआर बनाउने बहानामा १४ लाख ९७ हजार एउटा फर्मलाई सीधा भुक्तानी गरेको र विनाप्रतिस्पर्धा गराएकोले सो रकम बेरुजू भएको देखिन्छ । सो आवमा ल्यापटप, पेन ड्राइभ खरीदमा चार लाख ४८ हजार, सिसिटिभी जडानमा चार लाख ९७ हजार, बेन्च–डेस्क खरीदमा नौ लाख ९५ हजार, कार्यालय फर्निचर खरीदमा दुई लाख ५३ हजार, टावरलाइट जडानमा नौ लाख ५९ हजार सीधैं खर्च गरिएकाले सो रकम पनि बेरुजू देखाइएको छ ।

न्यानो झोला खरीद चार लाख ९४ हजार, अतिविपन्न परिवारलाई नगद हस्तान्तरण ४१ लाख १० हजार खातामा ट्रान्सफर गर्नुको साटो भरपाई गराएर दिएको र ती भरपाई सही छ कि छैन भन्ने शङ्का प्रतिवेदनले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here