- सञ्जय साह मित्र
आदिकवि भानुभक्तको जन्मजयन्ती नजीकिएको छ । भानुभक्तलाई नेपाली भाषाको एकीकरणकर्ताको रूपमा पनि मानिन्छ । यहाँ भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वबारे चर्चा नगरिए पनि वीरगंजको शिक्षामा भाषाको प्रभावबारे विश्लेषण गर्न खोजिएकोले आदिकविको सम्झना हुनु स्वाभाविक भएको हो ।
करीब एक दशक पहिलेसम्म वीरगंज शिक्षाको केन्द्र मानिन्थ्यो । गत दश वर्षमा वीरगंजेली शिक्षाप्रति बाह्याकर्षण कम भएको छ । पहिले रौतहट र सर्लाहीका विद्यार्थी शिक्षा लिन सोझै वीरगंज जाने मनोविज्ञान बनाउँथे, आजभोलि यो मनोविज्ञान विस्थापित भएको छ । आजभोलि एसइईपछि पहिलो रोजाइमा भरतपुर, दोस्रोमा काठमाडौं र तेस्रोमा हेटौंडा पर्न थालेको छ । विद्यालय तहको एसइईसम्म आफ्नो जिल्लाबाहेक अन्यत्र पढाउन चाहनेको पहिलो रोजाइ भने हेटौंडा नै हो । कुनै व्यक्तिगत लगाव नभए सन्तानलाई बाहिर राखेर पढाउन चाहने सक्षम अभिभावकले सामान्यतया हेटौंडा नै रोज्छ । जबकि एक दशक पहिलेसम्म पहिलो रोजाइ वीरगंज थियो ।
यसबीच देश प्रदेशगत संरचनामा गयो । मधेस प्रदेशको राजधानीको पक्षमा वीरगंजले खासै चासो देखाएन । प्रथम मुख्यमन्त्री पाएपछि आर्थिक राजधानी वीरगंजले आफ्नो शैक्षिक चमक कायम राख्न खासै पहल गरेन । यसको अर्थ यो होइन कि रौतहट र सर्लाहीका विद्यार्थीको रोजाइको केन्द्रबिन्दु जनकपुर भयो तर वीरगंजले अझ प्रयास गरेको भए आफ्नो शैक्षिक आकर्षणको विरासत कायम राख्न सक्थ्यो । सम्पूर्ण त होइन, तर वीरगंजमा प्रदेशको राजधानी नहुनु पनि एउटा फ्याक्टर हुनुपर्छ ।
वीरगंज शिक्षाका दुई क्षेत्र शिक्षा र वाणिज्यका लागि प्रसिद्ध थियो । धेरै हदसम्म अझै पनि छ । शिक्षाशास्त्रमा इन्टर र ब्याचलर गर्न रौतहट र सर्लाहीका विद्यार्थी त पुग्थे नै । महोत्तरी, धनुषा, सिराहा र सप्तरीसम्मका विद्यार्थी पुग्थे । बारा र पर्साको नपुग्ने त प्रश्नै उठ्दैनथ्यो । यसैगरी वाणिज्यशास्त्र सङ्कायमा पनि विभिन्न जिल्लाका विद्यार्थी पुग्थे । विद्यार्थीको हब हुन्थ्यो वीरगंज । वीरगंजको फलानो क्याम्पसमा यो विषय लिएर पढ्छु भन्ने गर्व गरिन्थ्यो पहिले । अझै पनि पहिले पढेका विद्यार्थीहरू आफूमाथि गर्व गर्छन् । विभिन्न पेशा र व्यवसायमा रहेका पूर्व विद्यार्थीहरूले भने तत्कालीन परिवेशमा रहेको वीरगंजेली शिक्षाको गुणगान हृदयदेखि नै गर्दछन् । वीरगंजेली शिक्षाका विशेषताहरू बखान गर्दछन् । पहिले पढेका धेरै विद्यार्थीहरू विभिन्न कारणले त्यहींका बासिन्दा बन्न पुगेका छन् । शिक्षार्जन गर्न गएका धेरै शिक्षितहरू वीरगंजेली बनेका छन् । यसले पनि केही हदसम्म वीरगंजको विकास र विस्तारमा योगदान पुगेको छ । वीरगंजको शिक्षाप्रति पहिले जुन आकर्षण थियो, त्यो कायम रहिरहेको भए शिक्षाका साथै अन्य क्षेत्रमा पनि थप योगदान हुन सक्ने थियो तर पहिले वीरगंज पुग्ने विद्यार्थीहरू अन्यत्र गइरहेका छन् । पहिलेका शिक्षालयहरू छँदाछँदै र अझ राम्रा शिक्षालयहरू थपिंदा पनि किन आकर्षण कायम रहन वा थप आकर्षण हुन सकेन त ? यसबारे वीरगंजले छलफल गर्नु जरूरी छ ।
वीरगंजेली शिक्षाबाट दीक्षित अभिभावकहरूमा वर्तमान वीरगंजेली शिक्षाप्रति असन्तुष्टि देखिएको छ । यसै असन्तुष्टिको सम्बोधन हुने ठाउँमा अभिभावकहरूले आफ्ना सन्तानलाई पढ्न पठाइरहेका छन् । सबैभन्दा ठूलो असन्तुष्टि परीक्षाको रहेको छ । परीक्षामा रहेको कमजोरीका कारण परीक्षार्थी पास हुने, राम्रो डिभिजन आउने तर प्रतिस्पर्धात्मक क्षमता कम हुने गुनासो रहेको छ । प्रतिस्पर्धी क्षमता कम हुँदा निस्सन्देह बेरोजगारीहरू बढ्छन् । वीरगंजबाट जो शिक्षित अभिभावकहरू छन्, सबैभन्दा बढी तिनै अन्यत्र पढ्न पठाउँछन् आफ्ना सन्तानलाई । अहिलेको युग प्रतिस्पर्धाको युग भएको छ । प्रमाणपत्रले मात्र काम चल्ने अवस्था छैन । शैक्षिक बेरोजगारी बनाउनुभन्दा राम्रो प्रतिस्पर्धा हुने ठाउँमा पढ्न पठाउने प्रवृत्ति बढेको छ । भरतपुरबाट आफ्नो क्याम्पसको प्रचारमा आएका एकजना प्रमुखले भनेको कुरा यहाँ स्मरणीय छ – हाम्रो संस्थामा करीब पचहत्तर प्रतिशत विद्यार्थी रौतहटकै छन् । कुनै बेला रौतहट र सर्लाहीका विद्यार्थी करीब यस्तै प्रतिशतमा वीरगंजमा हुने गरेका थिए । जहाँबाट प्रमाणपत्रमा भन्दा व्यवहारमा राम्रो नतीजा आउँछ पढाइमा त्यत्तै आकर्षण हुनु अस्वाभाविक होइन ।
असन्तुष्टिको अर्को कारण हो, समाजमा शिक्षाको वातावरण बिस्तारै कम हुनु । विद्यार्थी जहाँ बस्छन्, त्यहाँको वातावरण शैक्षिक हुनुपर्ने र शिक्षाको सम्मानको वातावरण हुनु अनिवार्य छ । शिक्षाको क्षेत्रमा काम गर्नेको लागि वातावरण पनि त्यस अनुरूप हुनुपर्ने हो । वीरगंज पुगेका अधिकांश शिक्षित मानिसको विचारमा वीरगंज नितान्त आर्थिक राजधानी हो । कुनै जमानामा यो शैक्षिक राजधानी पनि बन्न थालेको थियो तर शिक्षामाथि लक्ष्मी हावी भएको अनुभूति हुन्छ । हो, सरस्वतीको आराधनाभन्दा लक्ष्मीको आराधना धेरै हुने समाजको रूपमा चित्रण हुन थालेको छ । यसको दृष्टान्तको रूपमा यो पनि लिइन्छ कि वीरगंजको शैक्षिक धरोहरको रूपमा रहेको मुख्य ऐतिहासिक शैक्षिक संस्थाप्रति निरन्तर असन्तुष्टि रहनु । कहिले तालाबन्दी त कहिले तोडफोड, कहिले के त, कहिले कुन बहानामा विद्यार्थीको पठनपाठनलाई कमजोर बनाउने काम निरन्तर भइरहनु । विद्यार्थीले जहाँ पढ्ने मौका पाउँदैनन्, जहाँ शिक्षाको नाममा राजनीति भइरहन्छ, जहाँ शिक्षाभन्दा बढी कुन किसिमको जोड र कुन किसिमको घटाउले फाइदा हुन्छ, सम्बन्धित पक्षको ध्यान त्यहाँ जान्छ भने निस्सन्देह शिक्षार्जन गर्न जानेको मन कुँडिन्छ । मन नै अमिलो हुन थालेपछि विकल्प खोज्नु स्वाभाविक हो । यही स्वाभाविकताले पनि हुनुपर्छ, वीरगंज अहिले शिक्षाको लागि खासै रोजाइमा पर्न सकेको छैन । विद्यार्थीले जसको घरमा डेरा लिएको हुन्छ, जुन टोलमा बसाइ हुन्छ, त्यो घर र टोलमा शिक्षा वा प्रज्ञा वा उच्च ज्ञानको भोक बढाउने वातावरण हुनुभन्दा आर्थिक वा अन्य वातावरण हुँदा शिक्षार्जनको कर्ममा जुट्नेलाई अलिकति फरक अनुभूति हुने हुन्छ ।
अलिकति सवाल भाषाको पनि रहेको छ । नेपालमा पछिल्ला दुई राष्ट्रिय जनगणना २०६८ र २०७८ ले रौतहट र सर्लाहीको प्रमुख मातृभाषा बज्जिका रहेको देखाएका छन् । वीरगंजको मूल भाषा भोजपुरी हो । जहाँ शिक्षालयमा बज्जिका मातृभाषीको बाहुल्य हुन्छ, त्यहाँ केही रैथानेहरूले शिक्षाको आधारमा होइन, मातृभाषाको आधारमा अपहेलना गर्ने गरेको अनुभूति सुनाउँछन् । कतिपय नेपाली राम्रोसित बोल्न आउँदैन, कतिपय भोजपुरी बोल्न आउँदैन भनेर हेप्ने गरेको अनुभूति धेरै विद्यार्थीबाट सुनिन्छ । अनि, हेपिएर होचो महसूस हुने ठाउँमा कोही स्वाभिमानी बसिरहन रुचाउँछ र ? हरेक मानिसलाई आफ्नोपन प्रिय हुन्छ । हो, भाषाप्रति सचेत नभएकालाई भने यस्ता कुरा थाहा हुँदैन तर जो शिक्षार्जन गर्न गएका छन्, तिनले चेतना पनि पाउँछन् । शिक्षाले प्रमाणपत्र र चेतनाले विवेक दिने हो । प्रमाणपत्र त परीक्षाको तरीकाले पाउने हो, चेतना र विवेकको प्रमाणपत्र पाइँदैन । सचेत नागरिकले आफूलाई हेपेको कुरो पछिसम्म सम्झिरहन्छन् । अनि हेपिने ठाउँमा जान मन पराउँदैनन्, अभिभावकले पनि पठाउन मन पराउँदैनन् । वीरगंजमा पढेर आएकाहरूले नै वीरगंज पढ्न पठाउने वा नपठाउने भन्ने प्रचार समाजमा गर्दछन्, गरेका छन् । र वीरगंजभन्दा बाहिर भरतपुर वा हेटौंडा वा काठमाडौं जहाँसुकैको मानिस गए पनि भाषाको सन्दर्भमा समेत हुने भोगाइ उही हो । उदाहरणको लागि बज्जिका मातृभाषीलाई वीरगंजले बोल्न नजानेको भन्न सक्छ तर यदि वीरगंज र सर्लाहीका विद्यार्थी भरतपुरमा छन् भने त्यहाँका स्थानीयले दुवैलाई हेर्ने दृष्टिकोण समान हुन्छ । अनि जहाँ समानता हुन्छ, त्यहाँ आकर्षण स्वाभाविक हो । भाषाको सन्दर्भमा, वीरगंजभन्दा हेटौंडा र भरतपुर निकै समावेशी छ, उदार छ । अर्काको अस्तित्वलाई सम्मान गर्दछन् । यस पङ्क्तिकारले देखेको सत्य के हो भने क्याम्पस पढाउने, आफूलाई प्राध्यापक भन्न रुचाउने, अति उच्च शिक्षित र विद्वान् बताउन अलिकति पनि नहच्किने वीरगंजका केही अध्यापकहरूको मनोविज्ञान नै बज्जिका मातृभाषीलाई हेय दृष्टिकोणले हेर्ने रहेको छ । भाषाको सवाल आउँदा होच्याएर बोल्ने, दबाब दिने (दपेट्ने) र मौका देखेर नकारात्मक उदाहरण दिइहाल्ने प्रवृत्ति अझै पनि छ । बज्जिका भाषामा प्रचलित कतिपय शब्दको भाव नबुझी हेप्ने गरेको यथार्थ अद्यपर्यन्त रहेकै छ । गैरभोजपुरी मातृभाषीप्रति सम्मान र समान हुन नसक्नु तथा यस्ता विद्यार्थीलाई बलजफ्ती तिम्रो भाषा भोजपुरी नै हो भनेर लाद्न खोज्ने प्रवृत्ति अझै हटिइसकेको छैन । पहिलेदेखि नै यो प्रवृत्तिले निरन्तरता पाइरहेको छ । तर, सर्लाही र रौतहटमा मातृभाषा बज्जिकाप्रतिको चेतनामा ठूलो परिवर्तन आइसकेको छ । पछिल्लो जनगणनाको अन्तिम परिणामले यी दुई जिल्लामा बज्जिका मातृभाषी ११ लाखभन्दा बढी रहेको तथ्याङ्क छ । बज्जिका मातृभाषा नै होइन भन्ने वीरगंजका विद्वान्हरूलाई जानकारीका लागि यी दुई कुरा पनि महत्वपूर्ण छन् ः एक, वर्तमान मधेस प्रदेशसभामा मातृभाषामा शपथ लिने सांसदहरूको सङ्ख्याको आधारमा सबैभन्दा ठूलो मातृभाषा बज्जिका हो र दुई, राष्ट्रिय जनगणना २०७८ को आधारमा मधेस प्रदेशमा बज्जिकाभन्दा भोजपुरी करीब २२ हजारले मात्र बढी छ । उसो त भाषा आयोगले मधेस प्रदेशको सरकारी कामकाजको लागि नेपाली सँगसँगै मैथिली, भोजपुरी र बज्जिकालाई प्रादेशिक भाषाको रूपमा सिफारिश गरिसकेको छ । तथ्यहरू जानेर वा नजानेर पनि पढ्न गएका विद्यार्थीलाई भाषाको सन्दर्भमा अनावश्यक प्रभावित गर्ने प्रयासले गर्दासमेत वीरगंजेली शिक्षाप्रति रौतहट र सर्लाहीका विद्यार्थीको आकर्षण कम हुन गएको हो ।
वीरगंजका धेरै शिक्षालयका प्रमुखहरू टोलीसहित विद्यार्थीका लागि वा प्रचार गर्न रौतहट पुगिरहेका छन् । अहिलेको समय प्रचारको युग हो । कतिपय अवस्थामा राम्रो कुरा पनि प्रचारको अभावमा दुनियाँलाई जानकारी नहुन सक्छ र प्रचार पाएर सामान्य कुरो पनि विशेष बन्न सक्छ । वीरगंजेली शिक्षाप्रति अहिले पनि बाहिरबाट खासै प्रश्न उठाउने गरिएको पाइन्न । वीरगंजको शिक्षालाई राम्रो र स्तरीय नै मानिन्छ तर परिश्रम गर्ने वा गर्दै नगर्नेले परीक्षामा समान अङ्क ल्याउँछन्, परीक्षालाई नै सर्वोपरि भन्ठानेर गतिविधिहरू केन्द्रित हुन्छन् तब पढ्न चाहनेहरू हतोत्साहित हुन्छन् । बाहिरबाट देखिएको तथा सुनिएका कुराहरू यस्तै छन् । वीरगंजको शिक्षाप्रति अझै पनि बाहिर निकै सम्मान छ, गर्व छ । तर वर्तमानमा वीरगंजेली शिक्षाले आफ्नो गौरवपूर्ण ऐतिहासिक विरासत कायम राख्नुपरेको छ । शैक्षिक परम्परामा बाह्याकर्षणलाई विश्वसनीय बनाइराख्न खप्न सक्ने प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुनुपरेको छ । र, भाषाको सन्दर्भमा पनि भरतपुर, हेटौंडा तथा काठमाडFैंको जस्तो सबै मातृभाषीलाई समान सम्मान दिनुपरेको छ । सबैको गौरव र गरिमा बढाउने किसिमले आत्मसम्मान र स्वाभिमानको व्यवहार पनि दिनुपरेको छ ।