प्रस, वीरगंज, २० असार/
नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले वर्तमान सरकार जुनसुकै बेला पनि एमालेले ढाल्न सक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल, पर्साद्वारा वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले पत्रकारका प्रश्नको जवाफमा एमालेले चाहेको खण्डमा जुनसुकै बेला सरकार ढल्न सक्ने बताए । उनले सरकार ढाल्ने कुरा ठूलो नभएको र आवश्यकता परेको खण्डमा काङ्ग्रेसको साथ लिएर सरकार ढाल्न सकिने बताए ।
उनले अहिले गठबन्धनविरुद्ध एमाले र नेपाली काङ्ग्रेसको सरकार बन्न लागेको कुरामा सत्यता नभएको बताए । पत्रपत्रिकाहरूले उठाएका कुरा हुन् र जनताले दुई ठूला दल मिलेर सरकार बनाउँदा राम्रो हुने चाहना मात्र राखेको तर एमाले र नेकाबीच सरकार बनाउने विषयमा कुनै पहल नभएको बताए । उनले हालसम्म यस विषयमा एमाले र नेकाबीच कुनै पनि तहमा कुरा नभएको बताए ।
नेता भट्टराईले आफूले अहिले पार्टीगतरूपमा मधेस प्रदेशको जिम्मेवारी पाएको र यो प्रदेशको बारेमा बुझ्ने अभियानमा रहेको बताए । मधेसमा अहिले किसानहरूलाई मलको अभाव भएको र सिंचाइ नहुँदा धानखेती गर्न समस्या भएको बताए । सरकारले अहिलेसम्म मलको समुचित व्यवस्था नगरेकोमा उनले दुःखेसो व्यक्त गरे । नेता भट्टराईले एमाले सरकारमा रहँदा पनि मलको अभाव देखिएको र तत्कालीन सरकारले मल कारखाना सञ्चालनमा ल्याउने नीति राखे पनि अहिलेको सरकारले किसानमैत्री काम गर्न नसकेको आरोप लगाए ।
नेता भट्टराईले मधेस प्रदेशमा एमालेले आगामी चैतसम्म पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने बताए । उनले वडा, पालिका, जिल्ला र प्रदेशस्तरीय अधिवेशनहरू सम्पन्न गर्ने बताए । उनले मिशन ग्रासरूट अन्तर्गत ६० प्रतिशतको सदस्यता नवीकरण नभएको कुरालाई स्वीकारे । त्यसअघि पनि वार्षिकरूपमा हुने नवीकरणमा १०–१५ प्रतिशतको कमी हुने गरेको र मिशन ग्रासरूट अन्तर्गत सदस्यहरू स्वयंले नवीकरण गराउनुपर्ने प्रावधान उल्लेख गर्दा नवीकरण प्रक्रियामा कमी आएको स्वीकारे । उनले अहिलेको सरकारको कामकारबाईप्रति असन्तोष जाहेर गरे ।
प्रेस चौतारी नेपाल, पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनाली, केन्द्रीय सदस्य राजकुमार गुप्ता, एकबाल मियाँ, पर्सा इन्चार्ज डा विश्वम्भर शर्मा, सांसद प्रभु हजरा, पूर्वसांसद बिचारी यादव, जयप्रकाश थारूलगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण उपाध्यक्ष तुलसी भण्डारीले गरेका थिए ।